FLASH NEWS
  • Loading...

बाबा ग्यास उद्योगमा खोला पस्यो, सिलिन्डर बगेर सौराहा पुगे

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १५६ पटक पढिएको
बाबा ग्यास उद्योगमा खोला पस्यो, सिलिन्डर बगेर सौराहा पुगे

चितवन जिल्लामा रहेको खैरहनी नगरपालिका वडा नम्बर १ वेल्सीमा अवस्थित बाबा ग्यास उद्योगमा खोला पसेर क्षति पुर्‍याएको छ ।  कयर खोलाले उद्योगमा क्षति पुर्‍याएको हो । उद्योगका निर्देशक बिमल कालाखेतीका अनुसार त्यहाँका धरै सिलिन्डर बगेका छन ।

उनले भने, “यहाँका सिलिन्डर वगाएर सौराहा सम्म पुगेका छन् ।” बाढीले उद्योगको संरचनामा नोक्सान पुर्‍याएको छ । उद्योगमा १० देखि १५ हजार सिलिन्डर रहेको भएपनि के कति सिलिन्डर बगे भन्ने बारेमा यकिन भइसकेको छैन । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले निरन्तरको वर्षाले पूर्वी चितवनको खैरहनीसँगै रत्ननगर, राप्ती र कालिका नगरपालिका प्रभावित भएको बताए ।

स्थानीय खोलाहरू बढेर पुलहरू उच्च जोखिममा रहेको उनले बताए । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि खटिएको छ ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार पूर्वी चितवनका खगेरी, कयर र लदरी खोलाले खैरहनी नगरपालिका वडा नम्बर १,२,३,८ र ९ सँगै रत्ननगर नगरपालिकाको वडा नम्बर ३ शान्ति चोक डुबानमा परेको छ ।

कतिपयलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको उनले बताए । लदरी खोलाको चैनपुर चोकबाट भित्र रहेको नयाँ पुल बाढीले बगाएको छ । लोथर र राप्ती खोलासमेत बढ्दै गएको भन्दै उहाँले सौराहा पनि डुबानको खतरामा रहेको जानकारी दिनुभयो ।