- Loading...
बेनीमा विकासले निम्त्याएको विनास, जहिल्यै पहिरोको त्रास
- पुनहिल डट कम
- ३ साल अघि
- १२७ पटक पढिएको
वर्षको मनसुन सुरु भएकै दिन भएको भारी वर्षाले म्याग्दी सदरमुकाम बेनीमा वितण्डा मच्चाउन सुरु गरेको छ । बेनीको सिरानमा अवस्थित बलौटे भित्तामा डोजर लगाएर खनेका सडकले प्राकृतिक खोल्सा नासेपछि भेलबाढी निकास खोज्दै वस्ती पसेरको हो ।
शुक्रवार राती ११ देखी २बजेसम्म परेको भारीबर्षापछि कुरिलाखर्कको भित्तादेखी आँपारुखसम्मको सडकमा पहिरो झरेपछि भेलबाढीले पहिरोकाले लेदो बगाएर ल्याएपछि बेनीनगरपालिका, ७ मंगलाघाट स्थित कृषी, भेटनरी, वन र भु संरक्षण कार्यालयका आवास क्षेत्र पनि बाढी पसेर डुवान गरेको छ । बाढीले सो स्थानमा रहेको हाईटेक प्रविधीमा आधारित वन नर्सरीमा पनि क्षति पुऱ्याएको छ । मंगलाघाट महारानीथान मन्दीर क्षेत्रमा पनि क्षति पुऱ्याएको छ ।
‘हामीले योजना बनाउँदा संरक्षण र ब्यवस्थापनमा ख्यालै गरेनौं । सडकसँगै समयमै संरक्षणका काम गरेनौं । नालीमा थुपारेका निर्माण सामाग्रीले बाटो वन्द गरेपछि भेलबाढी वस्ती पस्यो’ बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भने, ‘भेलबाढीबाट हामी पनि प्रभावित रह्यौ । वस्तीमाथी सडकमा काम गरिरहेको पूर्वाधार कार्याल्यले समयमा र ब्यवस्थित काम नगर्दा बाढीले लक्षण देखायो ।’
बाढी प्रभावित क्षेत्रमा भेटिएका अधिकृत सुवेदीले थपे, ‘समुदायका पाका मान्छेहरुबाट रैथाने ज्ञानलाई समेत बुटुलेर योजना बनाउनु आवश्यक छ । बाढीपहिरोको समस्या बेनीमा मात्र होईन, नगरभरी सवै वस्तीमा उस्तै छ । हिँड्दै छ, पाईला मेट्दै छ भने झै नगरको बजेट दिनदिनै पहिरो सफा गर्ने र सडक खुलाउै बढी बजेट खर्च भैरहेको छ ।’
हस्पिटलचोकबाट खैरेनी वस्ती हुँदैमाथी जामुनाखर्क पुग्ने सडकबाट निक्लेको माटोले कालीपुल वसपार्कमा, बेनी–अर्थुङे–पाखापानी र पुलाचौर जाने सडकबाट आउने भेलबाढीले क्याम्पसचोक र मंगलाघाट तथा बेनी–अग्नीखेत सडकले मंगलाघाट बजारमा बाढी पसेर समस्या मात्र होईन, पहिरो खसेर मानविय क्षतिको जोखिम बढेको छ ।
‘बेनी–अर्थुङ्गे–पाखापानी सडकको कुरिलाखर्क–आँपारुख–आर्मिब्यारेकमुनीसम्मको करिव ३ किलोमिटर सडक नै बेनीबजारमा पहिरोको मुख्य जोखिम हो । पछिल्लो एक दशकदेखी यही सडकबाट निक्लेको माटो र भेलबाढीको प्राकृतिक मार्ग परिर्वतनहुँदा बेनीमा बाढीले वितण्डा मच्चाईरहेको छ’ बेनीका क्याम्पसचोक भेलबाढी ब्यवस्थापन समितिका अध्यक्ष गोविन्द बानियाँले भने, ‘कुरिलाखर्क–आँपारुखसम्मको सडकको एलाईमेन्ट नै परिवर्तन जरुरी छ नत्र समस्या जहिल्यै उस्तै रहन्छ ।’
त्यस्तै महारानी थान नजिकै भित्ता भत्कन थालेपछि मंगलाघाटको माथिल्लो वस्ती उच्च जोखिममा परेको छ । बेनीका क्याम्पसचोक र मंगलाघाटमाथी अब्यवस्थित बेनी–अथुङ्गे मोटरबाटोबाट तल बाढी उर्लेर आउँछ । जव पानी पर्न थाल्छ तव रड, सिमेन्ट र कंक्रिटका घरमा बस्ने बेनीबासी रातभरी जाग्राम वस्छन । र यो एक वर्ष मात्र होईन, वर्षेनी यस्तै भैरहन्छ ।
यी उदाहरण मात्रै हुन । सडकहरु वस्तीको चैन उडाउने ‘एम्बुस’ भएका छन । हिउँदमा आफैले लापरवार्ही खनेका टोल जोड्ने, घर जोड्न र खेत तथा गोठलाई मोटरवाटोले जोड्न खनेका सडले विपत्ति निम्त्याउन थालेपछि जनप्रतिनिधीकालागी पीडितका आँशु थाप्ने ‘कमण्डलु’ बनेका छन । बेनी नगरपालिकाका जनप्रतिनिधीलाई लक्षित गरी सामाजिक सञ्जालमा गरिएको सत्तोसरापले सडकको औचित्य देखाएको छ ।
‘बाढीपहिरोले बर्खाभरी अनिदो वस्ने बेनीबासी असोज लागेपछि भने भुसुक्कै निदाउँछन, असारमा पानी पर्न थालेपछि वल्न विउँझिन्छन’ बेनी हिलसाईडकी धनकुमारी थापाले भनिन, ‘छेपारोले घर बनाउने उखान जस्तै छ, बेनी संरक्षणको कुरा । जुन नेताले नि भाषण गर्छन, काम गर्दैनन । अहिलेसम्मको बजेटले माथीको भित्तो टालिन्थ्यो होला, खै त ।’
हिउँदभरी विकास र समृद्धिको आधार भनिएका सडक बर्खा (मनसुन) सुरु भएपछि विपत्तिको मुख्य कारक बन्न थालेका छन । जनधनको ठूलो क्षति हुन थालेको छ । हिउँदभरी दैलोमा गाडी गुड्ने आसामा बाँचेका गाउँले जव त्यै सडकले ल्याएको पहिरोले पुरेर घरखेत हुन्छ अनि पुर्पुरोमा हात राखेर, भगवान पुकार्ने गरेका छन । सत्तोसराप गर्ने गर्छन । सडककै कारण वस्ती उच्च जोखिममा परेको वस्ती मध्य सदरमुकाम छेउको डम्बरा एक हो ।
‘सवैलाई दैलोमा सडक चाहिएको छ । वर्खा विपत्ति आउँछ कसैले सोच्दैन । अर्कोतर्फ ठूला ठेकदारले मनलाग्दी भित्तो काट्ने, संरक्षण नगेर्नै र निक्लेको माटो जथाभावी फाल्ने गर्दा झन बढी पहिरोको जोखिम बढेको छ’ बेनी नगरपालिका, ६ कावडाध्यक्ष कृष्णबहादुर बानियाँले सुनाए ।
यी सडक खन्न अर्वौ बजेट सकिएको छ । सडकले निम्त्याएको विपत्तिबाट सम्पत्ति मात्र खर्वबढी क्षति पुगेको छ । पटक पटक सडकमा काम गर्दा पनि त्यसबाट पर्ने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार उपयुक्त डिजाइनमा काम गर्ने कोसिसै भएन । ठेकदारको स्वार्थ अनुकुल डोजर चालकले जसरी चाहे, त्यसैगरी पहाडको भित्ता ताछ्ने छुट दिइयो । पटकपटक बाढीले बितण्डा मच्चाउँदा पनि यसको प्राविधिक पक्षमा ध्यान दिइएन ।