FLASH NEWS
  • Loading...

ज्वरो आए वा थकाई लागे के गर्ने ?

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १६८ पटक पढिएको
ज्वरो आए वा थकाई लागे के गर्ने ?

कोरोना महामारीले दिनप्रतिदिन पिरोलिरहेको छ । नेपालमा झन् पछिल्लो समय यसले गाँज्दै लगेको छ । यो संक्रमणले निरोगीलाई भन्दा दीर्घरोगी र घातक रोगीधारीलाई बढी समस्यामा पारेको छ । यसरी संक्रमित भएकाले स्वस्थ, पोषिलो र सन्तुलित खाना जरुरी हुन्छ ।

सामान्यतया कोरोना संक्रमितले खानामा दैनिक रुपमा कार्बोहाईड्रेटका स्रोतहरु जस्तैः आटा, कोदो, फापर, चामल, तरुल जस्ता खानेकुराहरु ठिक्क मात्रामा खानुपर्दछ। प्रोटिनजन्य खानेकुराहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउनका साथैशरिरमा मांसपेशिहरु निमार्ण गर्ने लगायतका कार्य गर्ने भएकोले खानामा प्रोटिनका स्रोतहरु जस्तैः अण्डा, माछा, मासु, दाल, गेडागुडी, पनिर, तोफू जस्ता खानेकुरा दैनिक रुपमा खान आवश्यक छ।

टुसा उम्रेका गेडागुडीमा आईरन, भिटामिन सि जस्ता सूक्ष्म पोषक तत्व, रेसादार (फाइबर)युक्त खानाहरु नियमित खानुपर्ने विज्ञहरुले सुझाएका छन् । दैनिक रुपमा दहि, मोहि, गुन्द्रुक, सिन्की, मसौरा आदिको सेवन उपर्युक्त हुन्छ ।

कुन लक्षण भएकाले कस्ता खानेकुरा खाने ?

१ ज्वरो आएमा
ज्वरो आउँदा शरीरलाई नियमित बेला भन्दा बढी शक्ति आवश्यक हुनाले खानाको मात्रा बढाउनु पर्दछ।
आफ्नो नियमित खानामा शक्तिवर्धक, प्रोटिनयुक्त तथा भिटामिन र खनिज पदार्थयुक्त खानेकराहरु जस्तैः अन्न, माछा मासु, दुध, दाल, गेडागुडी, फलफूल तरकारी प्रयाप्त मात्रामा समावेश गर्नु पर्दछ।
बिरामीले प्रयाप्त खाना नखाएर भिटामिन ए, सि, बि, डि, ई, जिंक, आइरन, फोलेट, फाइबर खानाबाट आवश्यक मात्रामा प्राप्त गर्न नसके चिकित्सक वा डाइटिसियनको सिफारिस अनुसार खाना खानुपर्छ ।

२ खोकी लागेमा
मह, कागती, मन तातो बेसार पानी, झोलिलो खानेकुरा प्रसस्त पिउनु पर्दछ।

३ शरीर दुखेमा वा थकाई लागेमा
खानामा प्रोटिनयुक्त खानेकुराहरु पर्याप्त मात्रामा खानुपर्छ । चिनी वा गुलिया खानेकुरा कम खाने। मध्यपान, धुम्रपान नगर्ने र चिया, कफी नखाने। पटक पटक गरि थोरै थोरै मात्रामा खानेकुरा खाने। पर्याप्त मात्रामा खाना खान नसके भिटामिन र खनिज पदार्थ खाद्य पूरक मार्फत पूर्ती गर्ने। शरीरको अवस्था अनुसारको योगा वा शारीरिक व्यायम गर्ने।

४ खान मन नलागे वा भोक कम लागेमा
फलफूल प्रसस्त मात्रामा खानु पर्दछ। पाचन प्रक्रियामा मद्दत गर्ने र खान रुची बढाउन मद्दत गर्न भिटामिन तथा खनिज पदार्थहरु खाद्य पूरक मार्फत पूर्ती गर्न सकिन्छ तर चिकित्सक वा डाइटिसियनको सिफारिसमा मात्र खाद्य पुरक खानु पर्दछ।

५ धेरै खकार, सिगान आएमा
भिटामिन सि युक्त फलफूल, तरकारी, अमिला फल, हरिया सागपात बढी मात्रामा खाने। मनतातो झोलिलो खानेकुरा, सुप प्रशस्त मात्रामा पिउने। हिस्टामिनयुक्त खानेकुराहरु जस्तै प्रशोधित मासु, सुकाएको फलफूल, एभोकाडो, टमाटर, पालुबगो, च्याउ, भान्टा, चिज, दही, मोही, माछा आदीले कफ वा खकार उत्पादनमा मद्दत गर्ने भएकाले यस्ता खानेकुरा लक्षण नहटेसम्म कम खाने।

६ सास फेर्न गाह्रो भएमा
कार्वोहाइड्रेड कम भएको खानेकुरा खानु पर्दछ। शक्तिका लागि स्वास्थ्यवद्र्धक चिल्लोभएको खाना खानुपर्दछ।
प्रोटिनको लागि उच्च कोटीको प्रोटिनका स्रोतहरु जस्तै अण्डा, छाला निकालिएको मासु, तोफु, पनिर खानामा समावेश गर्नु पर्दछ। पेट चर्किने गरि अनावश्यक रुपमा खानु हुँदैन।

अन्य ध्यान दिनुपर्ने कुराहरु निम्नानुसार छन्- 

  • दैनिक रुपमा मौसम अनुसारको हरियो सागसब्जी तथा फलफूलहरु प्रशस्त मात्रामा खाने।
  • कम्तिमा २ लिटर पानी दैनिक पिउने।
  • बिहान, बेलुका बेसार पानी वा दूधमा बेसार राखेर पिउने।
  • चपाउन समस्या भएको खण्डमा खिचडी, लिटो, गिलो खाना खाने।
  • ६० बर्षमाथिको उमेर समूहकाहरुको हकमा उनीहरुको हड्डी कमजोर हुन सक्ने भएकोले क्याल्सियम बढि पाईने खानेकुराहरु जस्तैः दूध, दहि, मोहि, दूधबाट बनेका परिकारहरु जस्तैः पनिर, केफिर, छेना जस्ता परिकारहरु नियमित खाने।
  • रोग प्रतिरोधी क्षमता बढाउने पोषक तत्व पाइने खानेकुराहरु प्रशस्त मात्रामा खाने । भिटामिन ए, भिटामिन सि, भिटामिन इ, जिङ्खजस्ता पोषक तत्वहरुलाई रोगप्रतिरोधी क्षमता बढाउने पोषकका रुपमा लिइन्छ।
    भिटामिन ए का स्रोतहरु- मासु, कलेजो, अण्डाको पहेलो भाग, माछा, घिउ, दुध, पाकेको मेवा, सुन्तला रंगको सखरखण्ड, गाँजर, हरिया सागपात तथा पहेला फलफूलहरु आदि।
  • भिटामिन सि का स्रोतहरु- अमिला फलफूल जस्तैः अमला, कागती, सुन्तला, मौसम आदि फलफुल तथा पालकजस्ता हरिया सागपात आदि।
  • भिटामिन इ का स्रोतहरु- काजु, बदाम, ओखर, घिउ, एभोकाडो, आलस जस्ता तैलिय दानाहरु, माछा, हरिया सागसब्जीहरु आदि।
  • जिङ्कका स्रोतहरु- गेडागुडी, बोक्रासहितका अन्नहरु, काजु, बदाम, ओखर, दुधका परिकारहरु, रातो मासुआदि।
  • दैनिक रुपमा कम्तिमा ३० मिनेट योगाभ्यास, शारीरिक ब्यायाम गर्ने, चिन्तामुक्त रहने, दैनिक रुपमा नाचगानजस्ता मनोरन्जन गर्ने।
  • धेरै नुन वा चिनि भएका बजारिया खानेकुरा नखाने । बट्टा (क्यान) मा लामो समय राखेका परिकारहरु नखाने।
  • कार्बोनेटेड पेय पदार्थहरु नखाने। चिल्लो, तारेको खानेकुराहरु नखाने। धुम्रपान तथा मद्यपान नगर्ने।