FLASH NEWS
  • Loading...

पहिरोमा घाँसपात पलायो, फेरियो पीडितको मन

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९२ पटक पढिएको
पहिरोमा घाँसपात पलायो, फेरियो पीडितको मन

भिषण वर्षापछि गत असार २६ गते विहान आएको पहिरोले धौलागिरी गाउँपालिका, ६ मराङ र मालिका गाउँपालिका, ७ विमका वस्ती क्षतविक्षत भएका थिए ।
पहिरोमा पुरिएर ३१ जनाको ज्यान गयो, १२ जना घाईते भए । ५५ घर पुरै वगे, १ सय १० घर वस्न अयोग्य बनेका थिए । वस्तीका जतासुकै पहिरो गएपछि मराङ र विमका गरी कम्तीमा ७ सयबढी परिवारले घर छोडेर सुरक्षित स्थल तर्फ लागेका थिए ।
मराङका राम्चे, आरवाङ, ठूलोगाउँ, रिख, कल्लेनी, ताकम र विमको दुले, विम, घन्टीवाङसमेतका वस्तीमा आएको पहिरो भोग्नेले मात्र होईन, खोज, उद्धार तथा राहतकालागी पुग्ने सवैले भने यी स्थानमा अव पुन: मानववस्ती बस्न योग्य छैन । पुरै वस्ती स्थानन्त्रण गर्नु पर्छ ।

स्थानीय तहदेखी जिल्ला, प्रदेश र संघीय सरकारसम्म मराङ र विमका वस्ती स्थानन्त्रण गर्न ठाउँ र वजेटको खोजी पनि गरियो । राजनैतिक वृत्तमा अझै मराङ, विमको एकिकृत वस्ती वसाउने चर्चा अझै सेलाएको छैन । त्यसैविच पहिरोबाट अति प्रभावित धौलागिरी गाउँपालिका, ६ मराङका विभिन्न वस्ती स्थानन्त्रण गरी एकिकृत वस्ती विकासको संभावना र पुनस्थापनाको संभावना खोज्न थालेको छ ।
छियाछिया भएर बगेको पहिरोहरुमा विस्तारै झारपात पलाउँदै हरियो वन्न थालेको छ । मनसुन निस्कृय भै बर्षा रोकिएसँगै पहिरोको दलदले हिलो बसेको छ । वल्लो–पल्लो वस्ती जोड्ने गोरेटाहरु बनाईएका छन । खेतवारीका कान्ला र गहमा घाँस वढेर पहिरो ढाक्दै लगेको छ ।
‘मराङ्गका पहिरो प्रभावितहरुको पायक पर्ने स्थानमा एकिकृत वस्ती वसाउनयोग्य जमिन फेला नपर्ने देखिएपछि पहिरो वरपर नै विकल्प खोज्न उपयुक्त देखिन्छ’ प्रतिनिधी सभा सदस्य भुपेन्द्रबहादुर थापाले भने, ‘अव कसरी वस्ती वसाउने, पहिरोले पुरिएको खेतवारीलाई कसरी खेतियोग्य बनाउने, पहिरो संरक्षण गर्ने समेतका विषयमा पीडितहरुले बढी चासो राख्नु भएको छ ।’

पहिरोमा घाँसपात पलाउन थालेसँगै पीडितहरुको मन पनि पलाउँदै जान थालेको छ । पहिरोको त्रासले घर छोडेकाहरु पुरनौ घर फर्केका छन । आंशिक क्षति पुगेका घरमा पनि मर्मत संभाव थालिएको छ । केही फर्कि पनि सके । जस्को पुरै घर बगे ति त्रिपालमा छन, तर पुख्यौली थलो छोडेर पर नजाने मनस्थितीमा छन । त्यसैविच पहिरोमा परिवारका सदस्य समेत सर्वस्व गुमाएका मराङवासीले जस्तो सुकै अवस्थामा पनि गाउँ नछाड्ने सामुहिक निर्णय गरेका छन ।
पहिरोबाट पुन: वस्ती राख्नै नमिल्नेगरी प्रभावित भएको कल्लेनी वस्ती हो । पहिरोमा तीन जनाले मात्र ज्यान गुमाएपनि कल्लेनीका ६ घर पुर्ण क्षति भएको छ । उनीहरु अहिले म्याग्दी खोलापारीको ताकमवेंशीमा पुगेर बसेका छन । कल्लेनीबासीले गापा र सरकारले पुर्नवासकालागी सहयोग गरे कल्लेनीपारीको ताकम क्षेत्रमा आफैले जग्गा ब्यवस्थागरी घर बनाउन चाहना राखेका छन ।


‘हामी पहिरोमा पुरै घर गुमाएकाले फर्केर कल्लेनीमा घर वनाई बस्न सक्ने अवस्था छैन । गापा/सरकारले केही रकम अनुदान दिए पारीपट्टी आफैले घडेरी खोजेर घर बसाउन सकिन्थ्यो’ पहिरोले घरपूर्ण क्षति भै विस्थापित कल्लेनीका एकिन्द्र घर्तीले भने, ‘म्याग्दीखोलामा झोलुङ्गे छ, मोटरपुल पनि वन्दै छ । वारी ताकमबैंशीमा वस्ती राखेर पारीको कल्लेनीमा खेती गर्न सजिलो हुन्थ्यो । जस्तो भएपनि जीवन यहीं छ ।’