- Loading...
पत्रकारलाई आफ्नो पेशामा कसरी टिकाइराख्ने भन्ने चुनौती थपिएको छ: गोविन्द आचार्य
- पुनहिल डट कम
- ४ साल अघि
- १२३ पटक पढिएको
त्रकार र सञ्चारमाध्यमहरुसामु कोभिड-१९ले ल्याएका विविध चुनौतीहरु र तिनको सम्बोधन वा निकासका लागि नेपाल पत्रकार महासंघले के-कस्ता प्रयासहरु गर्दैछ? प्रस्तुत छ महासंघका अध्यक्ष गोविन्द आचार्यसंग “मिडियाका लागि विपद् रिर्पोटिङ स्रोत”ले हालै गरेको अन्तर्वार्ता:
पत्रकारहरूमा कोभिड-१९ को संक्रमण दिन परदिन बढिरहेको अवस्था छ । जोखिम न्यूनीकरण गर्न पत्रकार महासंघले के-कस्ता उपायहरू गरेको छ?
कोरोना सक्रमणको अवस्थामा पनि अग्रभागमा रहेर जनतालाई सत्य तथ्य सूचना सम्प्रेषण तथा जनताका समस्या र आवाज प्रवाह गर्ने भूमिका निर्वाह गरिरहेका पत्रकारहरूसमेत संक्रमित हुन पुगेका छन् । पत्रकार महासंघ केन्द्रीय कार्यालयमा प्राप्त जानकारी अनुसार हालसम्म कोरोना सक्रमणका कारण कपिलबस्तुमा १ जना पत्रकारको ज्यान गएको छ भने काठमाडौं, ललितपुर, कपिलबस्तु, धनुषा, पर्सा, सुर्खेत, सप्तरी, मोरंग, उदयपुर, वारा, लमजुंग, कास्की, रूपन्देही, बाँकेसहितका जिल्लामा ११५ जना पत्रकार संक्रमित हुन पुग्नु भएको छ (ताजा तथ्यांक )। पत्रकार महासंघले कोरोना सक्रमणको यस समयमा के गर्ने र के नगर्ने भनेर पत्रकारहरूका लागि निर्देशिका जारी गरेको छ । वेला वेला अभिमुखीकरण कार्यक्रम भएका छन् । मिडिया हाउस र जिल्ला तहसम्म पुगेर अनुगमन गर्ने, स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्ने तथा शाखाहरू मार्फत् कोरोना विमा गर्ने जस्ता कामहरू भएका छन् । नेपालमा समुदायस्तरमै कोरोना सक्रमितको संख्या दिनानुदिन बढिरहेकाले यसवाट सिंगो समाजलाई कसरी सक्रमणमुक्त बनाउन सकिन्छ भन्ने सन्देश र सूचना संचारमाध्यममार्फत् पत्रकारहरूले प्रवाह गरिरहेका छन् ।
अहिलेको अवस्थामा पत्रकारहरूको पेशागत हकहितको लागि महासंघको भूमिका कस्तो रहेको छ?
कोरोना सक्रमणलाई बहाना बनाएर ठूला सञ्चारगृहले पत्रकारहरूलाई कामवाट निकाल्ने, वेतलवी विदामा राख्ने, तलव कटौती गर्ने तथा नियमितरूपमा तलव भुक्तानी नगर्ने समस्या देखिएको छ । यस खालको समस्याका कारण करिव पचास प्रतिशत पत्रकारहरूको सहज जिवनयापनमै समस्या पैदा भएको छ भने पत्रकारहरू पेशागतरूपमा असुरक्षित बनिरहेका छन् । यस्तो अवस्थामा पत्रकारहरूको पेशागत सुरक्षाका लागि महासंघले मिडिया हाउस र सरकार समक्ष ज्ञापनपत्र बुझाउने, धर्ना लगायत दवावमूलक कार्यक्रम गर्ने र श्रमजीवी पत्रकारको पक्षमा कानूनी लडाई लड्ने भूमिका खेलिरहेको छ । साथै आर्थिक अभावमा रहेका पत्रकारको समस्या समाधानका लागि आवश्यक पहल गर्दै आएको छ ।
कतिपय मिडिया हाउसले पत्रकारहरूले खाइपाई आइरहेको मासिक सुबिधा कटौती गरेकोले ठूलो समस्या देखा परेको छ जसको परिणाम पेशाबाटै पलायन हुने अवस्था आएको छ । यसबारेमा महासंघले के-कस्ता उपायहरू अघि सारेको छ?
हो, नियमितरूपमा खाइपाई आएको तलव र सुविधा नपाउँदा श्रमजीवी पत्रकारहरू ठूलो समस्यामा छन् । कतिपय पत्रकार साथीहरू पत्रकारिता पेशावाटै पलाएन हुनु पर्ने अवस्था आयो भन्नु हुन्छ । यस्तो अवस्थामा एक पत्रकारलाई आफ्नो पेशामा कसरी टिकाइराख्ने भन्ने चुनौति थपिएको छ । कुनै पनि पत्रकार पेशावाट पलायन हुनु भनेको जनताको आवाज बन्द हुनु हो । यस्तो अवस्थामा महासंघले जिल्ला तहवाटै समस्यामा परेर पेशावाटै पलायन हुने अवस्था रहेका पत्रकारहरूको विवरण संकलन गरेको छ । ती साथीलाई काम वाट ननिकाल्न र पारिश्रमिक उपलब्ध गराउन सम्वन्धित मिडिया हाउसलाई दवाव दिने हाम्रो नीति छ । यसैगरी समस्यामा परेका साथीहरूलाई कमसे कम बाँच्नका लागि राहतको जोहो गर्ने महासंघले सोंच बनाएको छ । यही समस्या सम्बोधनका लागि हालै मात्र महासंघले १ करोड राशीको आपतकालीन राहत कोष स्थापना गर्ने निर्णय गरेको छ ।
यो महामारीमा कतिपय मिडियामा गलत समाचारहरू सम्प्रेषण पनि भएका थिए । व्यवसायिक किसिमले गलत वा मिथ्या साचारहरु सम्प्रेषण हुनबाट बचाउन महासंघले के गर्दैछ?
यो महामारीमा गलत समाचार र अफवाहहरू पैलन हुँदैन भन्ने हाम्रो मान्यता हो । गलत समाचार प्रवाह हुन नदिन पत्रकार महासंघले पत्रकारहरूका लागि आन्तरिक निर्देशिका जारी गर्नुका साथै प्रेस काउन्सिल र पत्रकार महासंघ मिलेर संयुक्त निर्देशिकासमेत जारी गरिएको छ । यसैगरी यसअवधिमा प्रकाशन-प्रसारण भएका सामग्रीको नियमित अनुगमन गरी गलत सामग्री प्रवाह गर्नेलाई सच्चाउन लगाउने र नसच्चिनेहरूमाथि पत्रकार आचार संहिता बमोजिम कारवाही गर्ने कार्यहरू पनि भइरहेका छन् ।
कोरोना संक्रमण भएयता पत्रकार महासंघले पत्रकारको हितको लागि अन्य के कस्ता कार्यक्रमहरू गरिरहेको छ?
पत्रकार महासंघ कुनै सरकार वा राज्य होइन । यो पत्रकारहरूको साझा संस्था हो । मुख्यरूपमा पत्रकारहरूको सदस्यतावाट महासंघ संचालन हुन्छ । कोरोना सक्रमणका कारण हाम्रा सदस्यहरू नै प्रभावित बनिरहेको र संचार क्षेत्रमै ठूलो असर परेकाले महासंघले २०७७ सालको सदस्यता शुल्क छुट गर्ने निर्णय गरेको छ । अहिलेको अवस्थामा पत्रकारको पेशागत सुरक्षा मुख्य विषय बनेर आएकाले पेशागत सुरक्षाका लागि महासंघले दवावमूलक कार्यक्रम र कानूनी उपचारको वाटो अवलम्बन गरिरहेको छ । यसवाहेक यसबीचमा विभिन्न कार्यक्रमहरू समेत भएका छन् । हामीले सक्रमणकै बीचमा पनि जिल्ला जिल्ला र मिडिया हाउसमा पुगेर समस्या बुझेका छौं, नेपाल सरकारसहित सरोकारवाला निकायमा ध्यानाकर्षण पत्र बुझाएका छौं । पत्रकार हक, हित अधिकार, पत्रकारको लेख्ने स्वतन्त्रता र भौतिक सुरक्षा एवम् नागरिक हितका पक्षमा विभिन्न गतिविधि जारी राखेका छौं ।
फिल्डमा दौडिरहेका पत्रकारको स्वास्थ्यलाई लिएर महासंघले सुरक्षासम्वन्धी के कस्ता कार्यक्रमहरू गरिरहेको छ?
फिल्डमा खट्ने पत्रकार साथीहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरेर महासंघका केन्द्र, प्रदेश र जिल्ला शाखाहरूले विभिन्न अभिमुखीकरण कार्यक्रम गर्ने, स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्ने, कोरोना विमा गर्ने तथा सरोकारवाला निकायसँग समन्वय गर्ने जस्ता कार्य गरिरहेका छन् ।
संचार क्षेत्रमा परेको प्रभाव, जस्तै स्वास्थ्य, आर्थिक र पेशागत असरका तथ्याङ्कहरू कसरी संकलन गर्नुभएको छ? यी तथ्यांकहरूले यथाअवस्था (वास्तविकता) लाई कतिको राम्ररी दर्साउन सक्छन्?
नेपाल पत्रकार महासंघका देशभर १० वटा प्रदेश समिति, ७६ जिल्ला समिति, १२ एशोसिएट संस्था र ४२ प्रतिष्ठान शाखा क्रियाशील रहेका छन् । यी निकायहरूमार्फत् महासंघले नियमितरूपमा रिपोर्ट संकलन गरिरहेको छ । यसवाहेक हालैमात्र पत्रकार महासंघले आफ्ना सदस्यहरूमध्ये करिव १५ प्रतिशत अर्थात दुई हजार पत्रकारमा कोरोना सक्रमणपछिको अवस्था वारे सर्भेक्षण गरेर तथ्यांक संकलन गरेको छ । शेयर काष्ट इनिसियटिभसँगको सहकार्यमा गरिएको यस सर्भेको अन्तिम प्रतिवेदन आउन बाँकी छ । तर प्रारम्भिक प्रतिवेदनमा कोभिड-१९ महामारी र त्यसका कारण भएको लकडाउनले नेपाली पत्रकारिता क्षेत्रमा निकै प्रभाव परेको देखिन्छ । पत्रकारहरूको भौतिक सुरक्षासँगै उनीहरूको पेशागत सुरक्षामा यसले असर पारेको छ । महामारी तथा लकडाउनका कारण मिडिया क्षेत्रको आम्दानी घटेको र त्यसको प्रत्यक्ष असर पत्रकारहरूले भोग्नु परिरहेको छ । यस अवधिमा जागिर गुमाएका, वेतलवी विदामा राखिएका, तलव कटौती गरिएका र नियमित पारिश्रमिक भुक्तानी पाउन नसक्दा जिवनयापनकै लागि आर्थिक समस्या झेलीरहेका पत्रकारको सख्या करिव ४० प्रतिशत रहेको देखिन्छ । यसैगरी ७० प्रतिशत भन्दा बढी पत्रकारहरूले कोरोना महामारी तथा लकडाउनका कारण समाचार संकलन र सम्प्रेषणमा असहजता महसुस गरेका छन् । लकडाउनका कारण समाचार संकलनमा असुविधा हुनुका साथै सञ्चार माध्यमहरूले उपलब्ध गराउँदै आएको सुविधा कटौती गरेका कारण पनि उनीहरूले असहजता महसुस गरेका हुन् ।
यस्तै अधिकांश पत्रकारहरूले यस अवधिमा समाचार संकलन र सम्प्रेषण गर्दा उपलब्ध स्वास्थ्य सुरक्षाका विधि अपनाएको भए पनि करिब दुई तिहाई पत्रकारले आफ्नो काम गर्दा असुरक्षित महसुस गरेका छन् ।
महासंघले सरकार, संचार क्षेत्र र पत्रकारहरूबाट कतिको सहयोग पाइरहेको छ? देशमा पत्रकारलाई सरकारबाट सहयोग भइरहेको छ?
यसवेला एउटामात्रै समुदाय वा क्षेत्र नभई सबै क्षेत्र प्रभावित भएको अवस्था छ । यस्तो अवस्थामा राज्यले अभिभावकीय भूमिका खेल्नु पर्ने हो । हामीले समस्या समाधानका लागि सरकार समक्ष अल्पकालीन र दीर्घकालीन योजना प्रस्तुत गरेका छौं तर सरकार यसप्रति गम्भीर बनेर सुनुवाई गरिरहेको छैन । सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरकार, पत्रकार र मिडिया संचालकहरूबीच सहकार्यको आवश्यकता छ । अहिलेको जटिल अवस्थामा एक अर्काबीच सहकार्य र सहयोग गरेर नै समस्याहरूसँग जुध्न सकिन्छ भन्ने हाम्रो विश्वास हो । यसका लागि महासंघले सम्बन्धित सबैसँग पहल गर्दै आएको छ । source- bipadresource.org