FLASH NEWS
  • Loading...

पर्यटकीय तथा धार्मिक गन्तब्य सरसफाईमा जुटे मुस्ताङका स्थानीय तह, दुई दिनमा तीन ट्याक्टर फोहोर संकलन

  • पुनहिल डट कम
  • १ दिन अघि
  • १०१ पटक पढिएको
पर्यटकीय तथा धार्मिक गन्तब्य सरसफाईमा जुटे मुस्ताङका स्थानीय तह, दुई दिनमा तीन ट्याक्टर फोहोर संकलन

हिमालपारीको मुस्ताङ्गका स्थानीय तह एकसाथ नेपालको सवैभन्दा उत्तरी सीमा कोरलानाकादेखी मुस्ताङ्ग सीमावर्ती घाँसासम्मका धार्मिक तथा पर्यटकीय गन्तब्यको वृहत सरसफाईमा जुटेका छन ।
जिल्ला समन्वय समिति मुस्ताङ्गको समन्वयमा पाँच वटै गाउँपालिकाले संयुक्त रुपमा उत्तरी कोरलानाकाबाट वुधवार देखी चार दिने सरसफाई अभियान सुरु गरेका हुन । कोरलानाकासमेत मुस्ताङका धार्मिक तथा पर्यटकीय गन्तब्यहरुमा पर्यटकको भीड लागेसँगै प्लास्टिकजन्य फोहोरको थुप्रोले मुस्ताङ्गको सौन्दर्यमा कुरुप बन्दै गएको थियो ।
फोहोर संकलनमा जुटेका मुस्ताङ्का सरकार र ब्यवसायी भन्छन, नेपालीहरुको घुमघाम गर्ने संस्कृति बढेपनी सरसफाई सभ्यता सिक्न बाँकी देखियो । ‘गाडी भित्र खाने र झ्लाबाट बाहिर फाल्ने’ नेपाली पर्यटकको असभ्य स्वभावले मुस्ताङका सडक किनारा, पर्यटकीय तथा धार्मिक गन्तब्य क्षेत्र बढी फोहोर भएको उनीहरुको गुनासो छ ।
‘हामी उत्तरी शिरबाट मुस्ताङ्गका सवै स्थानीय तहका जनप्रतिनिधी, कर्मचारी, स्थानीयवासी र ब्यवसायीहरु मिलेर सरसफाई अभियान सुरु गरेका छौं । कोरलानाकाबाट तल मुस्ताङ्ग प्रवेशविन्दु घाँसासम्म सरसफाई अभियान चल्छ र यो सन्देशमुलक अभियान हो’ लोघेकर–दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले भने, ‘हामीले एक दिन फोहोर उठाउँछौं । तर धार्मिक तथा पर्यटकीय गन्तब्यलाई सुन्दर राख्न भने पर्यटकहरु आफैले सभ्यता सिक्नु पर्छ, फोहोरमैला ब्यवस्थापनमा भने हामी स्थानीय सरकार र ब्यवसायी मिलेर लाग्छौं ।’
विश्वव्यापी तापक्रम वृद्धी र जलवायु परिवर्तनले हिमाली जिल्ला मुस्ताङ्गको कृषी, पर्यटन, जैविक विविधता, धार्मिकसाँस्कृतिक पर्यावरणमा प्रतिकुल असर पुगेको उल्लेख गर्दै यहाँका स्थानीय तह समन्वयात्मक अभियानमा जुटेका हुन ।
‘हिजो हामीले विश्वतापक्रमवृद्धी गराउने र जलवायु परिवर्तनमा असर गर्ने कुनै गल्ती गरेका थियनौं तरपनि आज हामीले जलवायु परिवर्तनको असरको क्षति भोग्नु परेको छ । अहिले हामीले पर्यावरणमा असरपुग्ने फोहोरमैला गर्ने र प्रदुषण थप्ने हो भने हाम्रो भविश्य झन के होला ?’ विष्टले सरसफाइ अभियान सुरू गर्दै भने, ‘धार्मिक तथा पर्यटकीय क्षेत्रको सरसफाईले सौन्दर्य जोगाउने मात्र हैन, जलवायु क्षतिको न्यूनीकरणमा पनि सरसफाई अभियानले योगदान दिने छ ।’
लोघेकर–दामोदरकुण्ड गाउँपालिका अध्यक्ष विष्टका अनुसार अनुसार अभियानमा संकलन भएको फोहोरमैलाई सिसाजन्य, रिसाईकलन गर्न मिल्ने र नमिल्ने प्लास्टिकजन्य र कुहिने फोहोर छुट्टाएर ब्यवस्थापन गर्ने योजना रहेको र अहिले लोमन्थाङ क्षेत्रको फोहोर लोमन्थाङमा, लोघेकरदामोदरकुण्डको फोहोर घमीमा बोरामा कोचेर एकिकृत गरिएको छ ।
वुधवार र विहिवार दिउँसो १ बजेसम्ममा कोरला, झोङ, लोमन्थाङ, घमी, चराङ, ढाकमर, घिलिङसम्मका सडक किनाराका भ्यूपोन्ट, पर्यटकीय तथा धार्मिक स्थलहरुमा फालिएका ३ ट्याक्टर फोहोर संकलन गरिएको छ । विहिवारसाँझसम्म भेना, चैले, छुक्साङ्गहुङदै कागवेनीसम्म सरसफाई गर्ने योजना छ ।