FLASH NEWS
  • Loading...

पुलह क्षेत्रको अध्यक्षमा पुनः लिला बानियाँ निर्वाचित

  • पुनहिल डट कम
  • ८ घण्टा अघि
  • ६२ पटक पढिएको
पुलह क्षेत्रको अध्यक्षमा पुनः लिला बानियाँ निर्वाचित

बेनी नगरपालिका, ५ मा अवस्थित पुलाश्रम स्थित पुलस्त्य पुलह क्षेत्र विकास कोषको अध्यक्षमा पुनः लिलाबहादुर बानियाँ अध्यक्ष चयन भएका छन ।
कोषको शनिवार पुलाडाँडा स्थित पुलह आश्रम मन्दीरमा सम्पन्न नवौं अधिवेशनबाट बानियाँ अध्यक्ष पदमा दोहोरिएका हुन । अधिवेशनबाट कोषको उपाध्यक्षमा भीमबहादुर बानियाँ, तेजप्रकाश बानियाँ, सचिव माधव प्रसाद रेग्मी, सहसचिव रामबहादुर बानियाँ, कोषाध्यक्ष रामचन्द्र शर्मा पौडेल चयन भएका छन ।
त्यसैगरी कोषको सदस्यहरुमा टेकबहादुर बानियाँ, लक्ष्मण बानियाँ, रामबहादुर विक, जुना बानियाँ, कमला बानियाँ, यामबहादुर थापा दर्जी र रामचन्द्र पौडेल चयन भएको कोषले जनाएको छ ।
पुलस्त्य पुलह क्षेत्र विकास कोषको नवौं अधिवेशन अनन्त श्री विभुषित जगदगुरु रामानुजाचार्य त्रिदण्डी स्वामी हिमालय बाबाजीले एक समारोह विच उद्घाटन गरेका थिए । अधिवेशन उद्घाटन सत्रमै कोषले त्रिदण्डी स्वामी हिमालय बाबालाई पुलस्त्य पुलह क्षेत्र विकास कोषको प्रमुख संरक्षकत्व ग्रहण गरिदिन गरेको आग्रहलाई स्वीकार गर्दै त्रिदण्डी स्वामीजीले यस क्षेत्रको धार्मिक महिमा र धार्मिक पर्यटन प्रर्वद्धन गर्न लाग्ने वचन दिएका थिए ।


पुलह आश्रमबारे दावी
कोषले वितरण गरेको प्रतिवेदनमा उल्लेख भए अनुसार ब्रम्हाले मनुस्य जगतको सृष्टिकाक्रममा यस यस पुलाडाँडामा आफ्नो कानबाट पुलह र नाभीबाट पुलस्त्य ऋषी मानस पुत्रको रुपमा जन्म दिएको र कालन्तरमा पुलस्त्य ऋषीबाट विश्रवा र विश्रवाबाट कुवेर, रावण, कुम्भकर्ण र विभिषणको पुलाडाँडा स्थित पुलह आश्रममा जन्म भएको उल्लेख छ ।
त्यसैगरी पुलस्त्य ऋषीले सोही पुलहआश्रमको डिलमा महाँयज्ञ गरेको स्थल, हवनकुण्ड ठूलो ढुङ्गाले छोपेर राखेको अवस्थामा रहेको उल्लेख गरिएको छ । सोही पुलहआश्रमदेखी करिव एक किलोमिटर उत्तर तर्फ सांख्य दर्शनका महामुनी ऋषी कपिलले तपस्या गरेकोले यस क्षेत्रलाई पौराणीक तपोभूमि भएको यस क्षेत्रका हिन्दु पुरेत, ज्ञानीहरु र पण्डितहरुले दावी गर्दै आएका छन ।
रावण पार्क रहने पुलाश्रमबाट धौलागिरी, निलगिरी, अन्नपूर्ण हिमश्रृखला, सूर्योदयको मनोरम दृश्यकासाथी म्याग्दी र कालीगण्डकी नदी दोभानमा अवस्थित बेनीसमेत जिल्लाका अधिकांश भुगोल तथा पर्वतको जलजला गाउँपालिका राम्रोसंग दृश्यावलोकन गर्न सकिन्छ ।
पुलस्त्य पुलह क्षेत्र विकास कोषका सचिव माधवप्रसाद रेग्मीका अनुसार बेनीदेखी पश्चिम उत्तरमा करीव १५ सय मिटर उचाइमा अवस्थित पुलहआश्रममा रहेको होमकुण्डमा प्राचिन चरुको अवशेष (खरानी रंगको चिम्टाइलो माटो) अझै पनि देख्न र हेर्न सकिन्छ ।


प्रमाण विनाको दावी, कति पत्याउने ?
पुला क्षेत्रमा विभिन्न लेखकहरु इतिहाँसकार लेखनीमा सकृय भएका, हिन्दुधार्मिक ग्रन्थका ब्याख्याता विद्वतसमुह तथा आर्थिक रुपमा सवल र सक्षम रहेको पुलस्त्य पुलह क्षेत्र विकास कोषले प्राचिन हिन्दु सभ्यता बोकेको पुलह आश्रम क्षेत्रको पुरातात्वक अध्ययन गराउने, चरुहोमको अवशेषको प्राचिनताको वैज्ञानिक अध्ययन गराउन भने रहस्यमयी मौनता साँधेका छन ।
बैज्ञानिक रुपमा पुरातात्वीक अध्ययन गरी त्यसको प्राचिनता प्रमाणित नगदी मानव जातिकै सृष्टी यहीबाट गराएको दावी प्रतिवेदनहरुमा उल्लेख हुनु ‘पाका पण्डीत, पुरोहित र अगुवाहरुको’ काँचोपना देखाएको भनी आलोचना हुने गरेको छ ।
पुलस्त्य ऋषिको वास्तविक आश्रमको स्वरुप कस्तो थियो किटानसाथ भन्न सकिने आधार छैन । तर वर्षौदेखी पुलाश्रममा पुलस्त्य समेत ऋषिहरुको ढुङ्गाका आकृति कोरी पुजा गर्ने गरिएको छ । पुलाश्रम मन्दीरमा देवी–देवताको नभै ऋषिहरुको पुजाअर्चना गरिन्छ ।
पौराणीक मान्यता अनुसार लङ्ढाका राजा रावणले यस स्थानमा प्रथम पटक धार्मिक पाइला टेकेका थिए । वाल्मीकि रामायणमा उल्लेख भएअनुसार असुर राज रावण पुलस्त्य मुनि (ऋषि)को नाती, विश्वश्रवाका दुई पत्नीमध्य रावण कैकसीको कोखबाट धवलागिरी पर्वतको फेदीमा अवस्थित पुलाश्रममा भएको मानिन्छ । रावणको वास्तविक नाम दशानन् हो । महादेवले रावण नाम राखिदिएका मानिन्छ ।