- Loading...
म्याग्दीमा किसोरीहरुलाई एचपीभी विरुद्धको खोप सुरु
- पुनहिल डट कम
- १ दिन अघि
- ६७ पटक पढिएको
देशभर झै म्याग्दीमा पनि मंगलवारदेखी एकसाथ कक्षा ६–१० सम्म अध्ययनरत र विद्यालय पहुँच वाहिरका १०–१४ बर्ष उमेर समुहका किसोरीलाई एचपीभी नामक भाईरस विरुद्धको खोप दिन सुरु गरिएको छ ।
महिलाहरुलाई हुने पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले अभियानको किसोरीहरुलाई एचपीभी खोप दिन थालेको हो । देशैभर जस्तै म्याग्दीमा पनि स्थानीय पालिका अनुसार माघ २२ देखी २९ गतेसम्म एक सय ४ खोप केन्द्रमा १०–१४ वर्ष उमेर समुहका ४ हजार ७ सय ६१ जना किसोरीहरुलाई एचपीभी नामक भाईरस विरुद्धको खोप लगाउन थालिएको हो ।
प्रदेश जनश्वास्थ्य कार्यालय म्याग्दीका अनुसार जिल्लाको अन्नपूर्ण गाउँपालिकामा सवैभन्दा थोरै ३ सय ९७ जना, रघुगंगा गापामा ४ सय ९५ जना, बेनी नगरपालिकामा १ हजार ८ सय ६८ जना, मंगला गापामा ५ सय ६४ जना, मालिका गापामा ८ सय ३९ जना र धवलागिरी गापामा ६ सय ८ जनालाई एचपीभी विरुद्धको खोप लगाईदै छ ।
प्रदेश जनश्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भवन ठकुराठीका अनुसार चालु आवको पुस मसान्तसम्म जिल्लाका ६ सय ४४ जना महिलाको पाठेघरको मुखको एचपीभी स्क्रीनिङ गर्दा ३६ जनामा एचपीभी संक्रमण भेटिएको थियो । यीमध्य ४ जनालाइ पाठेघरको मुखको क्यान्सर भैसकेको भेटिएको थियो । श्वास्थ्य कार्यालय प्रमुख ठकुराठीका अनुसार गत आवमा २८ जनामा एचपीभी भाईरस संक्रमण भेटिएकोमा १६ जनामा पाठेघरको मुखको क्यान्सर भैसकेको भेटिएको थियो ।
नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दैनिक चार जनाको मृत्यु हुने गरेको छ । नेपालमा महिलामा हुने क्यान्सरमध्ये स्तन क्यान्सर पछि दोस्रो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सर बर्सेनी दुई हजार एक सय ६९ जनालाई हुने गरेको छ ।
ह्युमन पापिलोमा भाइरस (एचपीभी)को दुई सयभन्दा बढी प्रजातिमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने मुख्य कारक हुन् । पाठेघरकाे मुखमा याैनजन्य कृयाकलापकाे माध्यमबाट एचपीभी भाइरस याैनाङ्गमा संक्रमण भएकाे २० वर्षसम्म संक्रमणा रहेमा त्यसले पाठेघरकाे मुखमा क्यान्सर गराउँछ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्यूएचओ)ले सन् २०३० सम्ममा यो रोग निवारणका लागि एकीकृतरूपमा तीन तहको उपाय अवलम्बन गर्न सिफारिस गरेअनुसार नेपाल सरकारले १० देखि १४ वर्षसम्मको किशोरीलाई खोप लगाउने भएको हो । पाठेघरकाे क्यान्सर राेकथाम गर्ने याे प्राथमिक उपाय हाे । खाेप लगाएपनि दाेस्राे तहकाे राेकथाम विधीकालागी स्क्रीनिङ गर्ने र तेस्राे तहमा उपचार सुरू गर्ने राेकथामकाे उपाय हाे ।
एचपीभी खोपले धेरै प्रकारका एचपीभी भाइरसबाट जोगाउँछ। तीमध्ये पाठेघरको मुखमा हुने क्यान्सर गराउने लगभग सबै भाइरस तथा मलद्वारको क्यान्सर गराउने अधिकांश अनि जननेन्द्रिय तथा टाउको र घाँटीको क्यान्सर गराउने केही भाइरस पर्छन्।
एचपीभी भाइरससँग संसर्गमा आउनुभन्दा अगावै किशोरकिशोरीलाई दिँदा यो खोप सबभन्दा प्रभावकारी हुने मानिन्छ। किनभने खोपले सङ्क्रमण हुनबाट मात्र जोगाउने हो। यदि उक्त भाइरस कसैको शरीरमा पहिलेदेखि नै छ भने यसले त्यसलाई शरीरबाट हटाइदिन सक्दैन।
त्यसैले यो खोप यौनिक क्रियाकलापमा संलग्न हुनुअगावै किशोरकिशोरीहरूलाई दिनु उपयुक्त हुन्छ। पुरुषहरूको शरीरमा पनि यो भाइरस हुने भए पनि अधिकांशमा यसको कुनै लक्षण खिँदैन। कसैकसैलाई चाहिँ मुसा आउने वा कुनै किसिमको क्यान्सर हुनसक्छ।
गत आर्थिक वर्ष २०८०/०८१ मा सात वटै प्रदेशका १० हजार बालिकालाई एचपीभी खोप लगाइएको थियो । विश्व स्वास्थ्य संगठनकाअनुसार महिलामा हुने क्यान्सरमध्येमा पाठेघरको मुखमा हुने क्यान्सर चौथो मुख्य क्यान्सरको रुपमा देखिएको छ ।
विश्वमा हरेक वर्ष पाँच लाख ७० हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने यो रोगबाट हरेक वर्ष तीन लाख ११ हजार (५५ प्रतिशत) महिलाको मृत्यु हुने गरेको छ ।