FLASH NEWS
  • Loading...

म्याग्दीमा हिउँ पर्नु अघि नै बर्खे आलु रोप्ने चटारो सुरु

  • पुनहिल डट कम
  • १ हप्ता अघि
  • ६९ पटक पढिएको
म्याग्दीमा हिउँ पर्नु अघि नै बर्खे आलु रोप्ने चटारो सुरु

हिउँदे वर्षा र हिमपातहुनु अघि नै म्याग्दीको माथिल्लो भेगका कृषकहरुलाई वर्खे आलु रोप्न सुरु गरेका छन ।
जलवायु परिवर्तनको कारण तापक्रम बढेकोले जिल्लाको उपल्लो भेग (२ हजार मिटर माथी)का कृषकहरुले हिउँदे वर्षा र हिमपात हुन अघि नै वर्खे आलु रोप्न थालेका हुन । कृषी प्राविधिकहरुका अनुसार आलु पानी नजम्ने माटोमा चिसो मौषममा फस्टाउने वाली हो । यहाँको थोरै कृषकले नाम नखुलेको स्थानीय आलु रोप्छन । धेरै कृषकले भने डिजरे जातको रातो आलु रोप्ने गरेका छन ।
‘हिउँदे वर्षा र हिमपातहुन अघि नै कृषकहरु धमाधम वर्खे आलु रोप्न रोप्ने चटारोमा छन । ढिलो रोप्नेले पनि पुस तेस्रो साताभित्र सवैले रोप्छन’ टिकोट माध्यामिक विद्यालयका प्रधानअध्यापक समेत रहेका प्रदिप पुनले भने, ‘हिउँदे वर्षा र हिमपातको मात्रा घटेकोले जति चाँडो आलु रोप्यो उत्ति राम्रो फलेको स्थानीय अनुभवका आधारमा किसानेले पुस दोस्रो सातादेखी नै वर्षे आलु रोप्न लागेका हुन ।’
पुनले थपे, ‘अहिले चिसो भएकोले वारीमा रोपेको आलु विग्रिन्न । सिंचाई नभएको हाम्रा पाखोवारीमा आलु उम्रनु अघि हिउँ पर्‍यो भने प्रयाप्त चिस्यान पुग्छ अनि फागुन लागेपछि राम्रोसँग उम्रिन्छ, फल राम्रो लाग्छ र बर्खा लाग्नु अघि वाली भित्राउन पाईन्छ ।’


जिल्लाको अन्नपूर्ण गाउँपालिकाका अधिकांश लेकाली वस्तीमा यतिवेला कृषकहरु धमाधम आलु रोप्न ब्यस्त छन । जलवायु परिवर्तनको कारण पहिला पहिला जस्तो मंसिर–पुसमा बाक्लो हिउँ पर्न छोडेपछि न्यानोपन बढेको छ । कृषकहरुका अनुसार सिंचाई छैन, हिउँदमा कम हिमपात हुँदा माटोमा चिस्यान कम भै फागुनपछि माटो वढी सुख्खा हुन्छ, आलु उम्रिन समस्या हुन्छ, मध्य मागपछि तापक्रम हृवात्तै बढ्ने भएकोले छिटो आलुवाली छिटो भित्राउन पाईन्छ ।
‘पहिला बर्षे आलु माघ मध्य–फागुनमा रोप्थ्यौं, असार अन्तिममा भित्राउने गर्थ्यौ । त्यसोहुँदा वर्खाको पानीले आलु भिजेर धेरै कुहिन्थ्यो, अहिले आलु पुस/माघ पहिलो साताभित्र रोप्दा जेठ अन्तिम/असार सुरुमै भित्राउन सकियो । उत्पादन बढ्यो, आलु कुहिने भएन, लामो समय भण्डारण गर्न सकिय अनि अर्को वाली पनि समयमै लगाउन सकियो’ अन्नपूर्ण गाउँपालिका, ७ हिस्तानकी नन्दकुमारी गर्वुजाले भनिन, ‘हाम्रो गाउँमा धान खेती हुन्न मुख्य अन्नवाली भने पनी तरकारी भनेपनि आलु हो । छिटो आलु रोप्नेको वारीमा राम्रो उत्पादन भएको देखेपछि गाउँलेहरु पुसमै वर्षे आलु रोप्न थालेका हुन । आलु उम्रिनु अघि हिउँको खात पर्यो भने त्यो वर्ष आलु उत्पादन झन राम्रो हुन्छ ।’
जिल्लाको धवलागिरी गाउँपालिकाको वडा नं ६ र ७ बाहेक सवै लेकाली वस्ती, मालिका गाउँपालिकाको सवै माथिल्लो भेग, रघुगंगा गाउँपालिकाको ७ र ८ वडा र अन्नपूर्ण गापाको ४–८ वडाका माथिल्लो भेगमा लेकाली आलु खेतीको राम्रो उत्पादन हुन्छ ।
‘सामाान्यतया लेकाली वर्खे आलु रोप्ने सिजन फागुन नै हो । तर रैथाने ज्ञानमा आधारित भएर केही कृषकले पुसमै आलु रोप्नु भएको छ’ कृषी ज्ञान केन्द्र म्याग्दीकी कृषी प्रसार अधिकृत गंगा लामिछानेले भनिन, ‘आलुको टुसा/पातमा तुसारो वा सीत जम्यो भने डढेलो (लेटलाईट) रोग लाग्छ त्यसैले तुसारो/शित पर्ने समय छलेर रोप्न कृषी प्राविधिकहरुको शिफारिस रहन्छ ।’
कृषी प्रसार अधिकृत लामिछानेका अनुसार जुनसुकै जातका आलुको विरुवाले कम्तीमा तीन महिना प्रयाप्त घाम र अँध्यारो रात (फोटो पिरियड) पुरा गरेमा राम्रो स्वाद र गुणस्तर कायम रहन्छ । तीन महिनाको खेती समयावधीमा विरुवाले प्रयाप्त घाम पाएनन (बादल, झरी) धेरै भयो भने विरुवामा रोग बढी लाग्ने र स्वाद र गुणस्तर पनि खस्कने हुन्छ ।
कृषी ज्ञान केन्द्र म्याग्दीको विवरण अनुसार जिल्लाको १ हजार ७ सय हेक्टर क्षेत्रफलमा समुदायस्तरमा आलु प्रशोधनयुक्त, खायन आलु र नाम नखुलेको स्थानीय आलु खेती हुने गरेको छ । गत वर्ष जिल्लाबाट कृषकले वर्खे र हिउँदेगरी ३१ हजार ४ सय ५० मेट्रिक टन आलु विक्रिगरी ५ करोड ७५ लाख रुपैयाँ नगद भित्राएका थिए । ‘हामीले आलुको सिजनको न्यूनतम मुल्य ३५ रुपैयाँ प्रतिकेजीको दरले गणना गरेका छौं । सिजन र भेग अनुसार कृषकले प्रतिकेजी ६० रुपैयाँसम्म पनि मुल्य पारेका छन’ कृषी प्रसार अधिकृत लामिछानेले भनिन, ‘म्याग्दीको लेकाली आलु पोखरा समेतका सहरमा राम्रो माग छ । जिल्लाको उत्तरी भेगमा स्थानिय जातबाहेक कर्डिनल जातको आलु खेती बढी गरिन्छ । तल्लो क्षेत्रमा एम.एस ४२–३ र डिजिरे जातका आलु लगाउने गरिन्छ । गुर्जा, कुईनेमंगले, लुलाङ समेतका क्षेत्रमा स्थानिय सेतो लाम्चो आलुको खेती गरिन्छ ।

तस्वीर ः प्रदीप पुन, हिस्तान ।