- Loading...
मसलेदार वनस्पिती टिम्मुर बेचेर ४० लाख आम्दानी
- घनश्याम खड्का
- ३ हप्ता अघि
- ११६ पटक पढिएको
बेनी नगरपालिका, ९ तोरीपानीका किसानहरुले खोल्सा, पाखो र बारीका कान्लामा खेर गै रहेको मसलेदार जंगली फल टिम्मुर बेचेर ४० लाख रुपैयाँ नगद भित्राएका छन ।
बेनपा, ९ तोरीपानी, ढावा, धुपीबोट र ढोलठाना टोलका १ सय ५० घरपरिवारले खरवारी र पाखोवारीका कान्ला, खोल्सामा आफै उम्रेका र रोपेका टिम्मुरका बोटबाट बार्षिक ७०–८० मुरी (यहाँ अझै परम्परागत नापतौल मानापाथी प्रचलनमा छ ।) टिम्मुर उत्पादन गर्दै आएका छन ।
‘मेरो वारीमा सानोठुलोगरी २ वटा मात्र बोट छन । दुईवटाबाट २१ पाथीबढी टिम्मुर फल्छ । पोहोर ६० हजार आम्दानी भएथ्यो’ बेनी नगरपालिका, ९ बाहुरपँधेराकी रसिला दर्जीले भनिन्, ‘पोहोर बेनी लगेर प्रतिपाथी ३ हजारमा बेचेको हो, यो वर्ष ३ हजार ५ सयदेखी ४ हजारसम्म मुल्य दिन्छौं भनेर मागेका छन । अहिले टिप्दैछौं । मंसिर अन्तिमसम्म तयार हुन्छ ।’
ट्वाक्क जिब्रोमा लाग्ने हाडेटिमुरको चटनीको स्वाद सवै खाले ग्राहकले खोज्न थाले पछि सहर प्रायः होटल, रेष्टुरेन्ट देखी विदेशमा खुलेका नेपाली रेष्टुरेन्टहरुमा अधिक माग रहेको छ । माग बढेपछि जिब्रोमा राख्नासाथ रमरम पार्ने मसलादार जंगली फल टिम्मुर ब्यवसायीक बनेको हो ।
म्याग्दीको तोरीपानीमा फल्ने टिम्मुरको ५० प्रतिशत बजार भने हिमालपारीको मुस्ताङ हो । त्यसपछि बेनी, पोखरा, काठमाण्डौ र केही मात्रामा जापान, वेल्जियम, कोरिया, अमेरिका र केही अन्य युरोपका देशमा पनि पुग्छ । विदेशमा खुलेका नेपाली रेष्टुरेन्टहरुले यहाँको टिम्मुर काठमाण्डौमा लगी काजगपत्र बनाई विदेश लैजाने गरेका छन ।
‘अघिल्लो वर्ष मैले प्रतिपाथी दुई हजार पाँच सय रुपैयाँका दरले टिम्मुर खरिदगरी किसानको हातमा ३५ लाख रुपैयाँ बुझाएको थिएँ । केही किसानले आफै बजार खोजेर अलि बढी मुल्यमा विक्रिपनी गर्नु हुन्छ’ बेनी नपा, ९ तोरीपानीका अगुवा कृषक तथा टिम्मुरका थोक ब्यापारी सागर बानियाँले भने, ‘तोरीपानी क्षेत्रका चार वटा टोलमा मात्र टिम्मुरले बर्षमा ४० लाख नघटाई नगद आम्दानी दिईरहेको छ ।’
टिमुरको माग जाडो याममा बढी खपत हुन्छ । स्वादिलो गरम मसलाको रुपमा प्रयोग हुंदै आएको टिमुर हिजोआज भट्टीपसलमा समेत सुकुटीसंग अनिवार्य राख्ने गरिएको छ । परम्परादेखी नै मुस्ताङ्गहरु जाडो छल्न बेंशी झर्ने र फर्कदा टिमुर लैजान गरेका थिए । स्वादमा मिठो र आम्दानी पनि राम्रो दिंदै आएको भएपनि टिमुर संकलन गर्न भने त्यत्ति सजिलो छैन् । बाक्ला र तिखा काँडाले गर्दा टिप्न निक्कै समस्या हुने गरेको छ । टिमुर थकाली खानाको ट्रेडमार्क नै हो । व्रामण, क्षेत्री, मगर, गुरुङ्ग आदीको वस्ती रहने मध्य पहाडी क्षेत्रमा फल्ने टिमुरको तर हिमाली क्षेत्रका थकाली जातीले खानामा चट्नीको रुपमा बढी प्रयोग गर्छन् ।
तिखो काँडा भएको बोटमा साना–साना दान हुने टिमुरलाई अचार, चट्नी र माशुमा मसलाको रुपमा प्रयोग गरिन्छ । टिमुर जाडोमा शरिरलाई ताप दिने, हाडजोर्नी, पेटदुख्दा र लेकलाग्ने (हाईअल्टीच्युट), को ओखतीको रुपमा प्रयोग हुन्छ । आधुनिक औषधी विज्ञानमा टिमुरको सन्चो, टुथपेष्ट लगाएतका खाद्य औषधीको रुपमा प्रयोग भै रहेको छ । टिमुरलाई ब्यवसायीक बनाउने अगुवा कृषक भने साविक घतान गाविस–७ तोरीपानी (बेनी नपा, ९)का गुमानसिंह दर्जी हुन् ।
डिभिजन वन कार्यालय म्याग्दीका वन अधिकृत तथा टिम्मुरका अध्यता चन्द्रमणी सापकोटाका अनुसार
बेनी नगरपालीको पुलाचौर, घतान(तोरीपानी), अन्नपूर्ण गाउँपालिकाको घार, दाना, नारच्याङ्ग, रहुगंगा गाउँपालिकाको बेग, भगवती, पिप्ले, दग्नाम, धौलागिरी गापाको ताकम, मुदी, मराङ, मालिकाको दरवाङ्ग क्षेत्रमा ब्यवसायीक टिमुर खेती थालिएको छ । सापकोटाका अनुसार म्याग्दीको अन्य गाउँबाट पनि टिम्मुरको ब्यापार हुने भएपनि तोरीपानीका कृषकभने संगठित रुपमा लागेका छन ।
कम लगानीमा आम्रो आम्दानी देखेपछि पछिल्ला वर्षहरुमा टिम्मुरको खेती विस्तार गर्न स्थानीय तह, डिभिजन वन कार्यालय, भू–तथा जलाधार कार्यालय र विभिन्न निकायले टिम्मुरका वेर्ना उत्पादन, वितरण गर्न थालेका छन ।