- Loading...
मान्छेको पुरानो पशु साथी, कुकुर
- घनश्याम खड्का
- २ महिना अघि
- ११८ पटक पढिएको
छेउको भोटे कुकुर सुम्सुम्याउँदै ६५ बर्षिय लालवीर तिलिजाले झ्यारुङ्गोमा पाठा बोकेर भेडाको बथान धपाउँदै उँधौली/उभौली गर्दा खेपेका दुखसास्तीमा कुकुरको अटुट साथ सम्झे । भने, ‘मेरा जीवनका सवैभन्दा भरपर्दा र प्रीय साथी भनेकै कुकुर हुन । बर्षमा श्रीमति र परिवारका सदस्यसँग मुस्किलले १५ दिन वित्दा बाँकी दिनका सहयात्री यीनै कुकुर हुन । भेडा गोठमा एक्लो हुँदा होस वा विपद् पर्दा यीनै कुकुर त हुन साथमा ।’
लालवीर तिलिजाको मात्र होईन, लेकका गोठ देखी तराईका खरिहानसम्म घर, खेतीवाली र पशुको सुरक्षामा कुकुरको प्रयोग हुँदै आएको छ । लेकका खर्कहरुमा पशु चौपायालाइ चितुवा समेतको हिंस्रक जनावरबाट जोगाउन, पहाडका वस्तीमा बाँदरबाट खेतीवाली र स्यालबाट कुखुरा समेत पंक्षी जोगाउन र गाउँसहरमा घरमा चोरीबाट जोगाउन कुकुर पाल्ने चलन छ ।
कुकुरले मान्छेलाई लगाएको अतुलनीय गुनको भारा (अमुल्य सम्मान गर्न) तिर्न हिन्दु सनातन धर्ममा यमपञ्चकको दोस्रो दिन तिहारमा रातो अक्षेताको टिका, सयपत्री फुलको माला लगाइ र घरमा उपलब्ध मिठोमसिनो खान दिएर कुकुर पुजा गरिन्छ ।
‘कुकुरले दिएको दोस्रो जीवन बाँचेको मान्छे । वन र गोठमा बस्ने मेरालागी कुकुर सँधैको देउता’ केही वर्ष अघि धौलागिरी गाउँपालिका, १ गुर्जाको लेकमा भेटिएका भेडी गोठाला पृथमान छन्त्यालले भनेका थिए, ‘एक पटक भेडा चराउन गएको बेला भालु र चितुवा लाग्ने भीरबाट लडें । खुट्टा भाँचिएकोले उठ्न र हिंड्न सकिने । तीन वटा कुकुर थिए । एउटाले गोठ कुर्ने दुई वटाले भेडा चराउने । म लडेपछि एउटा कुकुरले भेडा गोठ लगेर अर्कोले मलाई रातभरी कुरेर बस्यो । रातभरी भुक्दै बस्यो । भोलीपल्ट त्यही कुकुरको भुकाइको आवाज पछ्याउँदै अन्य गोठालाले मलाई भोलीपल्ट उद्धार गरे । कुकुर नभएको भए सायद म चितुवाको आहारा भैसक्थें ।’
एक गास कलो, दुई मुठी खोले र खाएर फालेको जुठोपुरो हाडखोरको भरमा कुकुरले मानिसको इमान्दारी पूर्वक सेवा गर्दै आएको छ । त्यसैले इमाान्दार र वफादार प्राथी कुकुरले जनावरहरुमा सवैभन्दा धेरै मानिसको मायाँको हो । अहिले पनि गाउँघरमा मात्र होईन कुकुर पाल्ने घरमा खाना खाईसकेपछि अन्तिम गाँस (कलो) आगनको डिलमा ल्याई कुकुरलाई खुवाउने चलन छ ।
मानिसहरु भन्छन, घर भित्र ढ्रिडो आएर बाहिर निक्लिँदा भातमा ध्यू हालेको कलो कुकुरलाई खुवाउने चलनले कुकुर प्रतिको शान र मानको रुपमा लिईन्छ ।
कुकुरको असाधारण सुँघ्न सक्ने क्षमताको कारणले माान्छेले घुमन्ते युगदेखी हिंस्रक जनावरको आक्रमणबाट वच्न र सिकारगरी आहारा जोहो गर्न कुकुरको प्रयोग गर्न थालेको अनुमान छ । आज उपान्त लेकाली च्याङ्ग्रा, बाख्रा, भेडा, गाईभैसी, चौरी गोठमा असली गोठाला यीनै कुकुर उपस्थित छन । घर/गोठको रक्षकमा बाहेक मान्छेले सिकार गरी आफ्नो आहारा जुटाउन पनि युगौंदेखी कुकुरको सहयोग लिँदै आएको छ ।
अनुभवी गोठालाहरुका अनुसार कुकुरले दाईने तर्फ पुच्छर हल्लायो भने उ खुसी भएको, देव्रेपट्टी पुच्चर हल्लायो भने डराएको, विस्तारै हल्लायो भने लगाएको र जोडसँग पुच्छर हल्लायो भने रिसाएको छ भनी बुझ्नु पर्छ । कुकुरले पनि मान्छेले जस्तै आँखामा हेरेर हाउभाउ पहिचान गर्छ भनिन्छ ।