FLASH NEWS
  • Loading...

रातोमाटो र कमेरो छाेडेर गेरू र चुना खाेज्दै गृहणी

  • पुनहिल डट कम
  • १ हप्ता अघि
  • ७६ पटक पढिएको
रातोमाटो र कमेरो छाेडेर गेरू र चुना खाेज्दै गृहणी

दशैंमा घर रंगाउने प्रचलन पुरानो हो । मनसुन निस्कृय भएसँगै गाउँघरदेखी सहरका घरहरु पनि रंङरोगन गर्न सुरु भएको छ ।

ग्रामिण भेगका गृहणीलाई परम्परागत रंङहरु रातोमाटो र कमेरोलाई कुचो र पोछाले पोतेर घर रंग्याउन हतारो सुरु भएको छ । ग्रामिण वस्ती मात्र होईन शहरमा पनि विभिन्न ब्राण्डका रंग, इनामेल र चुनाले घर रंङ्गरोहन हुने गरेको छ ।

गाउँमा परम्परादेखी घर रंगाउन पोत्ने गरिएको कमेरो, रातो र पहेंलो माटोलाई पछिल्ला केही वर्षदेखी उद्योग निर्मित गेरु र चुनाले विस्थापित गर्न थालेका छन । घरका झ्लाढोका रङ्ग्याउन प्रयोग हुने अगेनाको मोसो र टर्च लाईटमा प्रयोग हुने कालोलाई तोरीको तेलमा मोलेर लगाउने परम्परा अव विरानो भैसक्यो ।

जिल्लाभर रातोमाटो पाईने एक मात्र स्थान रत्नेचौर हो । घर पोत्न रातो माटोलाई गेरुले विस्थापित गरेपछि पहिला जस्तो रत्नेचौरमा रातोमाटो खन्ने मेला लाग्दैन । सामुदायीक वनमा रातो माटो खन्न रोक लगाएपछि ब्यक्तिले आफ्नो बारीको माटो बोरामा राखेर बेच्छन । कोही कोही माटो लिन आउनेले पनि गाडीबाटै लैजाने गरेका छन ।

‘केही वर्ष अघिसम्म रत्नेचौर पुगेर रातो माटो ल्याएर दशैंमा घर पोतिन्थ्यो अहिले बजारमा गेरु पाईन्छ त्यसैले पोत्छौं । रघुगंगा गाउँपालिका, २ भगवतीकी फुलकुमारी भण्डारीले भनिन्, , ‘माटोको रङ पानी पर्दा पखालिन्छ, मान्छे टाँसिदा दाग लाग्छ, गेरुमा थोरै फेविकोल मिसाएर पोत्ने भने न पानीले पखाल्छ, न कपडामा लाग्छ । सस्तो पनि ढुक्क पनि ।’

दशैं समेत चाडपर्वमा घर रंङ्गाउने संस्कृति उस्तै भएपनि घरमा पोतिएको रङको प्रकृति फेरिएको छ । सडक विस्तार र अर्थ ब्यवस्थामा आएको परिवर्तनले मडकिन्लो र गृहणीको सम्बन्ध टुट्दै गएको छ । रत्नेचौरको रातोमाटोलाई विभिन्न ब्राण्डका रङ्ग, गेरु, चुना र इनामेलले विस्थापित गरेको छ ।

मोटरवाटो दुर्गम वस्तीसम्म उक्लेपछि परम्परागत ढुङ्गेघर भत्काएर आरसिसी भवन बनाउने र नसक्नेले पनि घर दैनिक लिपपोत गर्न सजिलोको लागी पिंढी र भुई ढलान गर्ने चलन बढेको छ ।

मानव स्वास्थ्यकालागी आरसिसि घर रोगी मानिएपनि ढुङ्गेघर विस्थापित गरी रड, सिमेन्ट, गिटीवालुवाको आरसिसि भवन बनाउन समाजको आर्कषण छ । आधुनिक शिक्षा, सूचना प्रविधीको तीव्र विकास र रोजगारीको फेरिएको स्वरुपले मानिसहरुको इच्छा र आवश्यकता फेरिएका छन । जीवन शैली, संस्कृति र सामाजिक मौलिकतामा फेरिन थालेका छन ।

घर रंग्याउन कारखानामा निर्मित रङको प्रयोग बढेपनि गाउँघरमा अझै रातोमाटो, कमेरोले पोतेर घर रङ्ग्याउने चलन हटेको भने छैन । लेकाली वस्तीका प्राय ः वस्तीमा सदरमुकाम छेउको रत्नेचौरबाट रातो माटो पुर्‍याउन असजिलो भएको स्थानीय रुपमा पाईने कमेरोले घर पोत्ने गर्छन ।

खड्का, कार्की र घर्ति आदी थरका क्षेत्रीहरुले सेतो कमेरो वा चुना वा प्राईमरले घर नपोत्ने हुँदा उनीहरु रातो गेरुले घर रङ्गाउँछन । माथील्लो लेकाली वस्तीमा भने कमेरोले मात्र घर रङ्ग्याउने गर्छन ।

घर रंङ्याउने रातोमाटो खन्ने मात्र होईन, दैनिक घरको दैलो तथा चुल्हृो लिपपोत गर्न भने स्थानीय रुपमा पाईने चिम्ट्याईलो कैलो माटो नै प्रयोग गरिन्छ । माटो खन्ने ठाउंलाई मडकिल्नो भन्ने गरिन्छ । रातोमाटो पोतेको घर चिटिक्क परेको राम्रो देखिएपनि माटो खन्न भने सजिलो हुंदैन् । गहिरा सुरुङ जस्ता मडकिल्ना भित्र पसेर माटो झिक्दा मड्किल्नो भत्केर बर्षेनी गृहणीहरुको मृत्यु समेत हुने गरेको छ ।