FLASH NEWS
  • Loading...

अन्नपूर्ण प्रथम आरोहणमार्ग आन्तरिक पर्यटकले भरिभराउ

  • पुनहिल डट कम
  • २ घण्टा अघि
  • ३५ पटक पढिएको
अन्नपूर्ण प्रथम आरोहणमार्ग आन्तरिक पर्यटकले भरिभराउ

आठ हजार मिटर माथिका हिमालमा पहिलो पटक मानव पाईला परेको अन्नपूर्ण प्रथम (८०९१ मी) हिमाल आरोहण मार्गमा आन्तरिक पर्यटकले भरिभराउ भएकाे छ ।
अन्नपूर्ण प्रथम आरोहण मार्गको हुमखोलामा पर्यटन सुविधाकालागी संञ्चालित एक्लो टि हाउसका तेज गुरुङका अनुसार शरदयाममा अन्नपूर्ण प्रथम हिमाल आरोहणमा आरोही नआएका भएपनि दशैं अघि र पछिगरी कम्तीमा ३० वटा समुहका दुई सयबढी आन्तरिक पर्यटक अन्नपूर्ण प्रथम हिमालको नर्थ वेस क्याम्प र त्यहाँ स्थित पञ्चकुण्डहिमताल हेर्न पुगेका छन ।
अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङबाट ४० किलोमिटर लामो पदमार्गलाई जलविधुत आयोजनाले बनाएको सडकले २२ किमी छोट्याएपछि अन्नपूर्ण नर्थ वेसक्याम्प सहज बनेको हो । नर्थ वेस क्याम्प अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्ने एक मात्र रुट हो ।
अन्नपूर्ण, वराहशिखर, तिलिचो पीक र निलगिरी साउथ हिमालबाट मिस्त्रीखोला बग्दै आएको छ । यहीखोलाको किनारा पछ्याउँदै पुस्तौं पुस्ता नारच्याङवासीले भेडागोठ हिमालमुनीसम्म गोठ पुर्‍याए/फर्के । उनीहरुले कहिल्यै भेडा धपाउँदै उभौली–उँधौली गरेको गोठालो मार्गबाट मौरिस हर्जोगको नेतृत्वमा सन १९५० जुन ३ तारेखका दिन अर्का पर्वतारोही लुईस लचेनलसमेत दुई जनाले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए ।

अन्नपूर्ण प्रथम हिमाल पुग्ने यो गोठालो बाटो ब्यवस्थित बनाईएपछि आन्तरिक पर्यटकको संख्या बढेको हो । स्थानीयले नारच्याङदेखी अन्नपूर्ण नर्थ वेसक्याम्पसम्मको पदमार्ग सुधार गरेपछि मात्र नेपाली पदयात्राकालागी यहाँ पुग्न थालेका हुन ।
‘कास्कीको अन्नपूर्ण साउथ, अन्नपूर्ण चौंथो रहेको एविसीमा पर्यटन पूर्वाधार धेरै बनेका छन तर अन्नपूर्ण प्रथम हिमाल आरोहण मार्ग रहेको यो मार्ग धेरै सहज र संभावनायुक्त रहेछ । एडभेन्चर ट्रेकिङकालागी एकदमै उपयुक्त छ’ बेनी अस्पताल म्याग्दीकी अधिकृत पुजा बानियाँले भनिन, ‘पदमार्गमा पर्ने झरनाहरु र हिमताल यहाँका नयाँ विशेषता हुन ।’

म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा पर्ने लुकेको यस पदमार्गलाई अन्नपूर्ण हिमालको पहिलो आरोही फान्सेली नागरिक मौरिस हर्जोगको नाममा नामाकरण गरिएको छ । उनै पर्वतारोही मौरिसले हिंडेको बाटोलाई सुधार तथा मर्मतपछि छोटो र सजिलो बनाई अन्नपूर्ण गाउँपालिकाले पदमार्ग पहिचान, सुधार र प्रर्वद्धनगरी प्रचलनमा ल्याएको हो । अन्नपूर्ण हिमश्रखलाका अन्नपूर्ण प्रथमसहित निलगिरी साउथ, तिलिचो पीक, बराह शिखरसमेत १४ वटा हिमाल पर्छन ।
अन्नपूर्ण प्रथम हिमालको उत्तरी वेस क्याम्प पुग्ने परम्परागत कठिन, जोखिमपूर्ण र १४ दिन लामो पदमार्ग अहिले मोटरबाटोले दुई दिनमा छोटिएको छ । अन्नपूर्ण नर्थ वेस क्याम्प निलगिरी साउथ, तिलिजो पीक र नाम नखुलेको अर्को हिमालको समेत संयुक्त वेस क्याम्प हो ।


बेनी–जोमसोम सडकको तातोपानीबाट दाहिने लागेपछि नारच्याङ वेंशी (१३३० मी) पुगिन्छ । नारच्याङबाट हुमखोला दोभान (२८८३ मी) सम्म दुई घन्टामा गाडीमा जान सकिन्छ । हुमखोलासम्म त्यहाँ निर्माणाधिन निलगिरी पहिलो र दोस्रो जलविधुत आयोजनाले कच्ची ट्रयाक खोलेका हुन । हाईडोले पदमार्गमा ट्रयाक खोलेको कारण नारच्याङ–हुमखोला २२ किमीमा पदमार्ग नासिएको छ । छोटेपा भन्ने स्थानमा सानो टि हाउस छ । यहीं खाना खाई गाडीमा १५ मिनेट माथी हुमखोलासम्म पुग्न सकिन्छ ।
हुमखोलाबाट अहिलेको पदयात्रा सुरु हुन्छ । ४ घन्टा हिंडेपछि भुस्केटमेला (३६५९मी) पुग्न सकिन्छ । भुस्केटमेला पुग्न नसक्ने यात्रुले विच–विचमा बनेका आश्रय घरमा पनि वास बस्न सक्छन । पदमार्ग हराउने र असजिलो छैन । तर केही स्थानमा झोलुङ्गे जीर्ण छन, बाढीले पदमार्ग विगारेको छ । हरेक एक घन्टाको विचमा आश्रय घर थप्नु पर्ने देखिन्छ । भुस्केटमेलाबाट अर्को दिन ४–५ घन्टामा वेस क्याम्प सजिलै पुग्न सकिन्छ ।
‘गाउँमा पर्यटक आउन थालेपछि स्थानियले टि हाउस, रेष्टुरेन्ट र होटल/लज खोल्न थालेका छन । विभिन्न निकायको आर्थिक सहयोगमा स्थानीयले श्रमदान गरी पदमार्गमा आधारभुत पूर्वाधार निर्माण भैरहेको छ । पदमार्गका वस्ती नभएका र वास वस्नु पर्ने स्थानमा कसरी टि हाउस, डायनिङ हाउस समेत पर्यटक आश्रय घर बनाउन बजेट विनियोजन गर्दैछौं’ पर्यटनकर्मी तेज गुरुङले भने, ‘ठाउँ–ठाउँमा सूचना नक्सा राख्न थालेका छौं ।’