FLASH NEWS
  • Loading...

मुस्ताङका चेलुक/च्याङ्ग्रा झर्दै, प्रति च्याङ्ग्रा १० हजारसम्म मुल्य घट्यो

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • ३८७ पटक पढिएको
मुस्ताङका चेलुक/च्याङ्ग्रा झर्दै, प्रति च्याङ्ग्रा १० हजारसम्म मुल्य घट्यो

हिन्दुहरुको मुख्य चाड दशैंलाई लक्षित गरि हरेक वर्ष झै मुस्ताङ्गबाट चेलुक/च्याङ्ग्रा झार्नेक्रम सुरु भएको छ ।
धितमरुन्जेल मासुभात खाने चाड दशैंमा यस वर्ष मुस्ताङ्गी चेलुक/च्याङग्राको मुल्य केही सस्तो भएको छ । गत वर्ष चेलुक/च्याङग्राको मुल्य महंगो भै विक्री घटेको र घाटा परेपछि कृृषकहरुले खोरबाट च्याङ्ग्राको मुल्य प्रति गोटा ५ हजारसम्म घटाएका छन ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङको अभिलेख अनुसार सोमबार विहान १० बजेसम्म मुस्ताङबाट ब्यापारीले दशैं वजार लक्षितगरी ५ हजार २ सयबढी च्याङ्ग्रा/चेलुक म्याग्दी तर्फ ओरालेका छन । घटस्थापनाको दिनसम्म जोमसोमबाट च्याङ्ग्रा/चेलुक बाहिरिने भएकोले अव धेरै संख्यामा छैनन ।
‘गत वर्षभन्दा यो वर्ष मुस्ताङ्गी खसीको मुल्य घटेको छ । गर्त वर्षभन्दा यो वर्ष हामीले पनि ५–७ हजार कमी मुल्यमा खरिद गरिएकोले विक्रि पनि सोही अनुसार गछौं’ मुस्ताङका खसी ल्याई म्याग्दीमा बेच्न हिंडाएका ब्यापारी राजु वरुवालले भने, ‘मुस्ताङ्गी खसीको मुल्य घटेकोले यो वर्ष ब्यापार बढ्ने आसा गरेको छु ।’
‘ब्यापारीले धेरै च्याङ्ग्रा/चेलुकलाई मुस्ताङबाट हिंडाई सके । अव पर्सी घटस्थापनाको दिनसम्म मुस्ताङबाट हिंडाउने भएकोले पर्सी वेलुका मात्र अन्तिम संख्या भन्न सकिन्छ । यो वर्ष पनि गत वर्षमा झै ७ हजारको हाराहारीमा दशैंकालागी मुस्ताङी च्याङ्ग्रा/चेलुक झर्ने अनुमान गरेका छौं’ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख लालमणी अर्यालले भने, ‘खोरेत, पिपिआर लगाएतका रोग विरुद्धको खोप लगाएको भनी स्थानीय पालिकाहरुले दिएको शिफारिस पत्रको आधारमा खसीको ज्वारो, झोक्क्राउने, खाना नखाने, छेरौटे लागेको लगाएतका केही रोग लागे/नलागेको हेरेर मात्र पठाएका छौं ।’
दशैं लक्षित बजार पठाईने चेलुक/च्याङ्ग्राको क्वारेन्टाईन (स्वास्थ्य परिक्षण) गर्ने जिम्मेवारी पाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दल्रे चेकपोष्ट खडागरी स्वस्थ्य खसी मात्र पठाउने गरेको दावी गरेको छ ।


मुस्ताङको लोमन्थाङ, लोघेकर दामोदरकुण्ड र वाहृगाउँमुक्ति क्षेत्र गाउँपालिकाका क्षेत्रमा मात्र चेलुक/च्याङ्ग्रा पाल्ने गरिन्छ । लोमन्थाङ गाउँपालिकाका पशु सेवा शाखाका प्राविधिक सहायक दिलिप पुर्जाका अनुसार लोमन्थाङ क्षेत्रबाट दशैं लक्षितगरी २ हजार ८ सय ८५ वटा च्याङ्गालाई बजार लैजान खोप लगाएको शिफारिस दिएको छ ।
त्यस्तै उपल्लो मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिकाबाट १ हजार २ सयबढी च्याङ्गा बजार लैजान कृषकले शिफारिस लिएका छन । यस गाउँपालिकामा १९ हजार च्याङ्गालाइ भ्याक्सिन लगाईएको थियो । चराङमा पस्मिनाकालागी समेत च्याङ्गा पालन गरिएकोले बजारमा थोरै मात्रामा लगिएको हो ।
‘यस वर्ष उपल्लो मुस्ताङका च्याङ्ग्रा, चेलुक पाल्ने कृषकले दशैं बजारमा पठाउने खसीको मुल्य न्यूनतम ५ हजारदेखी १० हजारसम्म घटाएर बेचेको कृषकको रिपोर्ट छ’ लोघेकर–दामोदरकुण्ड गाउँपालिका पशु सेवा शाखाका पशु प्राविधिक चक्र विकले भने, ‘गत वर्ष यहाँका कृषकले आफैले च्याङ्ग्रा बजार लगेको र मुल्य बढीहुँदा विक्रि नभएर घाटा परेपछि यस वर्ष मुल्य नै घटाएको जानकारीमा आएको छ ।’
त्यसैगरी मध्य मुस्ताङका वारागुङमुक्ति क्षेत्र र सदरमुकाम रहेको घरापझोंङ गाउँपालिकाबाट पनि करिव १५ सयको हाराहारीमा चेलुक/च्याङ्गा दशैं बजारकालागी लगिएको छ ।
मुस्ताङबाहेक एउटै चरन क्षेत्र हुने डोल्पाको छर्काभोट समेतका क्षेत्र र केही कृषकले डोल्पाको घुमाउरो बाटो भएर तिब्बती खसी पनि ल्याएको बुझिएको छ । कोरोला नाकामा चीनले काँडेतारवार गरेको र भन्सास स्थापना भएकोले तिब्बती च्याङ्गा घुमाउरो बाटो नेपाल भित्रने गरेका हुन । भेटेरिनरी अस्पताल मुस्ताङको तथ्याङक अनुसार गत वर्ष देशैंमा डोल्पाबाट २ हजार ५ सय चेलुक/च्याङ्गा भित्रिएका थिए ।
‘अभिलेख त छैन तर घुमाउरो बाटो भएर कृषक–कृषक मिलेर चरन क्षेत्रबाट तिब्बती च्याङ्गा, चेलुक ल्याएको जानकारी आएको छ’ लोमन्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङले भने, ‘पशु चौपाया पाल्नेको संख्या घट्दै गएकोले च्याङ्ग्रा उत्पादन पनि घट्दै गएको छ । पहिला जस्तौ छैन, च्याङ्गा पालन ।’
लोघेकर दामोदरकुण्ड गाउँपालिका क्षेत्र भित्र ३०० बढी चेलुक/च्याङ्ग्रा पाल्ने १३ वटा गोठ सूचिकृत छन । थप ५०–१०० वटासम्म पाल्ने १० परिवार छन । संघिय सरकारको लगानीमा चराङमा दुई पश्मिना उत्पादन प्रयोजनकालागी तीन सय वटा फार्ममा च्याङ्ग्री (रोमा) रहेका छन । फार्म दुई वर्षदेखी उपभोक्ता समिती मार्फत रेखदेख भैरहेको छ ।
मुस्ताङमा धेरै च्याङ्ग्रा वाहृगाउँमुक्तिक्षेत्र गाउँपालिकामा पालिएका छन । वारागुङ पालिका भरीमा १९ हजार ५ सय च्याङ्ग्रा र २ हजार चेलुक (भेडा) छन । यीमध्य कति बजारमा गए अभिलेख गरिएको छैन ।
‘अस्तीको बर्षापछि माथिल्लो क्षेत्रमा हिमपात भएकोले दशैंका सवै खसीबोका कागवेनीको खसी बजारमा आई पुगेका छैनन । डोल्पामा रोग देखिएकोले गत बैशाखमा मुस्ताङ ल्याउन रोक लगाएका हौं, अहिले कति आए हामीसँग रेकर्ड राखेका छैनौं’ वारागुङ मुक्तिक्षेत्र गाउँपालिका पशु सेवा कार्यालयकी भेटेरिनरी प्राविधिक समिक्षा कठायतले भनिन, ‘हिजोदेखी घाम लागेकोले सोमबार दिउँसो/मंगलवार सम्म बजार झर्छन होला ।’
सवै खसी ब्यापारीले सोझै गाडीमा लोड गरी बजार लगेकोले पहिला जस्तो सडकमा चेलुक/च्याङ्ग्राको बथान छैन ।सोमबार विहानसम्म जोमसोमको खसी बजारबाट करिव २ सय हाराहारीमा एक वथान खसी हिंडाएर तल झारिएको छ ।