FLASH NEWS
  • Loading...

वर्षाका कारण देशभर कम्तीमा ५० जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • ३५ पटक पढिएको
वर्षाका कारण देशभर कम्तीमा ५० जनाको मृत्यु, दर्जनौँ बेपत्ता

अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ ।

शनिबार दिउँसो २ बजेसम्म देशभर कम्तीमा ५० जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन् । बाढीमा फसेका सयौँ मानिसहरूको उद्धार भएको छ ।

विवरणअनुसार शनिबार अपरान्हसम्म काठमाडौँमा ११, ललितपुरमा १६, भक्तपुरमा ५, काभ्रेपलाञ्चोकमा ६, सिन्धपाल्चोकमा २, पाँचथरमा ५, धनकुटामा २, सिन्धुली, झापा र धादिङमा १-१ जनाको मृत्यु भएको छ ।

बाढीपहिरोमा परेर दर्जनौँ घाइते भएका छन् भने अरू दर्जनौँ बेपत्ता छन् ।

प्रहरीका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा मात्रै ३२ जनाको मृत्यु भएको छ । १२ जना बेपत्ता रहेका छन् । उपत्यकामा मात्रै बाढीमा फसेका १०५३ जनाको उद्धार गरिएको छ ।

उपत्यकामा बाढीले चार वटा पक्की घर भत्काएको छ भने एक हजार २४४ घर डुबानमा परेकाे प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार देशभर ४४ जिल्लामा बाढी, पहिरो, डुबान र कटानले क्षति पुर्‍याएको छ ।

त्यसमध्ये ३९ जिल्लाका विभिन्न सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् । केही ठाउँमा सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

काठमाणडैमा अहिलेसम्मकै धेरै वर्षा
मौसम पूर्वानुमान महाशाखाका अनुसार राजधानीमा हालसम्मकै धेरै वर्षा भएकाे छ ।

मौसम पूर्वानुमान महाशाखाले सन् १९७० देखि वर्षाको अभिलेख राख्न थाले यताकाे धेरै वर्षा भएकाे हाे । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले अहिलेसम्मकै धेरै वर्षा मापन भएको जानकारी दिए। उनका अनुसार शुक्रवार बिहान ८:४५ देखि शनिवार बिहान ८:४५ बजेसम्म राजधानी उपत्यकामा २३९.७ मिलिमिटर वर्षा मापन भएको छ।