FLASH NEWS
  • Loading...

के ‘हेर्ने कथा’ ले उब्जाएकाे ‘पोभर्टी पोर्न’ काे प्रश्न

  • पुनहिल डट कम
  • ५ महिना अघि
  • २०६ पटक पढिएको
के ‘हेर्ने कथा’ ले उब्जाएकाे ‘पोभर्टी पोर्न’ काे प्रश्न
अहिले ‘हेर्ने कथा’ टिमको पछिल्लो एपिसोडले संजाल रोइरहेको छ । भावुकता र आँसुले छपक्कै भिजेको छ । म पनि रोएँ । तर, रुवाइले म भित्रका प्रश्नहरु बगाएनन् । बरु मेरो आँसुमा अनेकन प्रश्नहरु तैरिरहे । ती प्रश्नहरूको उत्तर खोज्न यो ब्लग लेख्दैछु ।
म आफैं पनि ‘हेर्ने कथा’ टिमको नियमित दर्शक हुँ । शिक्षण पेसामा छु र हेर्ने कथाका धेरै एपिसोडहरु मैले आफ्ना विद्यार्थीहरुलाई समयसमयमा देखाउँदै आइरहेको छु । छानेर एपिसोडहरु म उनीहरुलाई पनि देखाउँछु ताकि उनीहरुले सोच्ने, हेर्ने र अनेकन मुद्दालाई बुझ्ने दृष्टिकोण समानुभूतिपुर्ण रहोस् । उनीहरुले त्यसमा छलफल गरुन् र थाहा पाऊन्, मानिसहरु त्यो अवस्थामा किन छन् । भुइँमान्छेहरु दुर्दशाको दुष्चक्रमा किन, कसरी, केके कारणले पिल्सिरहेका छन् ।
तर, ‘हेर्ने कथा’को पछिल्लो अंकसम्म आइपुग्दा, मलाईभने सधैं नै एउटा कुराले लखेटिरहेको छ । ‘हेर्ने कथा’ टिमले दूरदराजका गाउँहरुको कथा ल्यायो, किनारीकृत मान्छेहरुको व्यथा हामीलाई देखायो तर प्रश्न गर्नसक्ने, सरोकारवालाहरुलाई जवाफदेहीता माग्नसक्ने दृष्टिकोण कहिल्यै ल्याएन ! ल्यायो त फगत आँसु र भावुकता ! निरन्तर ल्याइरह्यो सहानुभूतिको बाढी, तर किन ल्याएन दृढसंकल्पको भंगालो ? म अनुत्तरित छु ।
अब गरौं ‘पोभर्टी पोर्न’को कुरा, पोभर्टी पोर्न (Poverty Porn) भनेको गरीबीमा रहेका मानिसहरूको अवस्था वा पीडालाई अतिरञ्जित वा अस्थिर रूपमा प्रस्तुत गरेर दर्शकको सहानुभूति वा प्रतिक्रिया उत्पन्न गर्ने उद्देश्यले सामग्री निर्माण, उत्पादन र प्रसारण गर्ने गतिविधि हो । यस्ता सामग्री निर्माण/प्रसारणको उद्देश्य प्रायः चन्दा सङ्कलन गर्नु, सामाजिक मिडिया वा अन्य माध्यममा प्रयोग गरेर गरीबीलाई देखाउनु, कमजोर सामाजिक-आर्थिक स्थितिलाई ग्ल्यामराइज गर्नु हो ।
पोभर्टी पोर्नको उद्देश्य गरीबीको समस्यालाई समाधान गर्नेभन्दा पनि दर्शकलाई भावनात्मक रूपमा प्रभावित पार्ने हुन्छ, जसले गर्दा मानिसहरूले चन्दा दिने वा अन्य आर्थिक सहयोग गर्ने सम्भावना हुन्छ । यसले गरीबीको वास्तविकता र कमजोर सामाजिक-आर्थिक अवस्थाका मानिसहरूको मर्यादालाई हानी पुर्याउन सक्छ, किनकी यसमा उनीहरूलाई केवल सहानुभूतिका पात्रको रूपमा देखाइन्छ, समस्या समाधान गर्नसक्ने व्यक्तिको रूपमा होइन । पोभर्टी पोर्नको मुख्य लक्षण भनेको गरीबी वा पीडाको समस्यामात्र देखाएर दर्शकको सहानुभूति वा ध्यान खिच्ने, तर कुनै दीर्घकालीन समाधान वा स्थायी परिवर्तनमा योगदान नदिने हो ।
तर, कसैले पोभर्टी पोर्नको व्यापार गरिरहेको छकि छैन भन्ने कुराको निर्धारण निर्माण गरिएका सामग्रीको उद्देश्य र प्रस्तुत गर्ने तरिकाले गर्छ भनिन्छ । यदि सामग्रीले गरीबीमा रहेका मानिसहरूको मर्यादा र आत्मसम्मानलाई ख्याल राखेर प्रस्तुत गर्छभने, त्यो पोभर्टी पोर्न हुँदैन भनिन्छ । तर ‘हेर्ने कथा’ टिमले प्रस्तुत गरेका ‘प्रकाश’जस्ता पात्रहरु किन ‘कठैबरा’मा सिमित छन् ?
काठमाडौंका मेयर बालेन शाहले निम्नवर्गीयहरुमाथि चरम उत्पीडन गरिरहेको समय थियो । सडक व्यापारीहरुमाथिको दमन र धरपकड उत्कर्षमा थियो । वृतचित्र प्रदर्शनीमा उपस्थितहरुको प्रतिकृया र हेर्ने कथा टिमको मौन तटस्थताले मलाई यति बिझायोकि मैले आफ्नो बोल्ने पालो मागें । मैले त्यहीँनेर टिप्पणी गरेंकि, मैले मेयर बालेनले गरिरहेको क्रुर व्यवहारलाई पनि जोडेर निम्नवर्गीय मानिसहरु कसरी पेलिइरहेका छन् भन्नेबारे टिप्पणी गरेको थिएँ । तर, हेर्ने कथा टिमले टिप्पणीबारे केही बोलेन । म रनभुल्लमा परें, उनीहरुले आम दर्शकलाई दुर्दशाको ऐना देखाउने प्रयत्न गरेका हुन् ।
त्यसपछि मलाई ‘कोइला खानी’को कथाले मेरो बुवाको विगत देखाएको थियो । न्युनतम प्राप्तिका लागि बुवाले गरेको सङ्घर्ष र खपेको कठिन समय देखाएको थियो । ज्यान जोखिममा राखेर न्युनतम ज्यालाको लागि भोगेको चर्को श्रमशोषण देखाएको थियो । म सधैं सोच्दथेंकि ‘हेर्ने कथा’ टिमको प्रयत्न समाज र राज्यलाई ऐना देखाउनु नै हो । तर, पछिल्लो अंकसम्म आइपुग्दा मभित्र सन्देह पैदा भएको छ; हेर्ने कथाको उद्देश्य के हो ?
यति लामो यात्रामा अघि बढिसकेको र एक मिलियन सब्स्क्राइबरको परिवार निर्माण गरिसकेको ‘हेर्ने कथा’ टिमले आजसम्म पनि प्रश्न गर्नसक्ने, जवाफदेहीता माग्नसक्ने दृष्टिकोण आफ्ना केही दर्शकमामात्रै पनि निर्माण गर्न नसक्नु संयोगमात्रै हो र ? भावुकता र आँसुको खोलोमात्रै बगाउने कथाहरु ‘हेर्ने कथा’ टिमले प्रस्तुत गर्नुले म भित्रको सन्देहलाई अझै टेवा दिएको छकि, कतै यो टिम औसत युट्युबरहरुको उन्नत भर्सनमात्रै त होइन ?
यत्रो विश्वास र भरोसा आर्जेको टिमको यति लामो समयसम्मका प्रस्तुतिहरु यति कमजोर किन छ कि, आफ्नो दर्शकहरुमा सरोकारवालाहरुलाई प्रश्न गर्नुपर्छ भन्ने चेतनाको झिल्कोसम्म सल्काउन सकेको छैन ? उल्टो आँसुको आहालमा डुबेर, भावुकताको भुमरीमा परेर सारा संसार रोएकोमात्रै कुरा गर्ने जमात किन बनिरहेको छ !
पछिल्लो एपिसोडको कुरा गर्दा, ‘हेर्ने कथा’ टिमले प्रकाश, उर्फ शुक्रको कथा यति कारुणिक बनाएर प्रस्तुत गर्योकि हामी सबै रोयौं । तर, प्रकाशको हराएको वर्षको हिसाब, लेखाजोखा न टिमले कतै दाबी गर्यो न दर्शकहरुले स्वस्फूर्त हिसाब माग्ने ढङ्गले प्रस्तुत गर्यो !
सबैले भने, “वाह, यो त विदेशी वृतचित्रहरुभन्दा पनि खतरा बन्यो !” तर, कसैले यसो किन भनेन ? “प्रकाशहरु वर्गीय राज्यसंरचनाको हिंसामा परेका आम मान्छेहरु हुन् भनेर ? उनीहरुलाई यो अवस्थामा पुर्याउने सबै जिम्मेवार निकायहरु सजायको भागीदार छन् ! प्रकाशहरुको सम्मानजनक पुनर्स्थापना हुनुपर्छ !”
लाखौं मान्छेले भरोसा गरेको टिमले कमसेकम वर्षेनी हराउने बालबालिकाको तथ्यांकसम्म राखिदिएको भए, वा हराएर प्रकाश जहाँ पुगे, त्यहाँको स्थानीय सरोकारवाला निकायसँग उनको पहिचान त्यो ठाँउमा कसरी गरिएको थियो भन्ने संवादमात्रै समावेश गरिदिएको भए दर्शकहरुले जवाफदेहीता बुझ्थे होलान् ।
अब यति पढिसक्दा हेर्ने कथा टिमका शुभचिन्तकहरुले भन्नुहोला, “हेर्ने कथाले प्रकाशको कथा ल्याइदिएर धर्मै गर्यो ! पुण्यको काम गर्यो ! अब सबै मिलेर सकेको सहयोग गरौं ! आँसुको व्यापार भयो भनेर रुवाबासी नगरौं !” तर, तपाईं हामीले के बुझ्नुपर्छभने, प्रकाशजस्ता सयौं, हजारौं बालबालिका हरेक वर्ष हराउँछन् । एउटा घटनालाई वाहवाही गरेर, उनीहरुले पुण्यको काम गरे भनेर खास मुद्दाबाट भड्कि रहने कि, राज्यका अवयबहरुलाई सबै सबै हराएका, बन्धक बनाइएकाहरुको हिसाब माग्ने ?
‘हेर्ने कथा’ टिमको उद्देश्य जति नै सफा र निश्छल भए पनि यसले दर्शकमा निर्माण गर्न नसकेको आलोचनात्मक चेतलाई म चाहिँ सन्देह गर्छु । कि त उनीहरुले भन्नु पर्यो कि यी विशुद्ध मनोरञ्जनका लागि बनाइएका सामग्रीहरु हुन् जसले उनीहरुको पक्षधरता स्पष्ट गर्नेछ । होइन भने, भुइँमान्छेहरुको कथा देखाउँदा सधैं नै विचरा, ओहो, कठैबराको भावमात्रै ल्याउनु र प्रश्न गर्न नसिकाउनुले उनीहरु पनि पोभर्टी पोर्न कै व्यापार गरिरहेका छन् भन्ने कुरालाई बल दिनेछ ।
(हिरादेवी वाइवाकाे फेसवुक साभारगरी सम्पादन गरिएकाे व्लक । उनले अाफ्ने फेसवुकमा व्लक बारे थप लेखेकी छिन, – लु है, धुमधाम बहस गरौं। तर्क-बितर्क/खन्डन गरौं। बिचार मन्थन गरौं। नयाँ डिस्कोर्स निर्माण गरौं। तर, धक्का मुक्की नगरौं।)