FLASH NEWS
  • Loading...

सहरका भान्सामा टुसा, च्याउ र ढकायो

सहरका भान्सामा टुसा, च्याउ र ढकायो

सहरमा टुसा र च्याउ भनेपछि हुरुक्कै हुन्छन, त्यसैले गाउँवाट सहर झर्दा आफन्तलाई लैजाने गतिलो कोसेली बनेको छ, निगालोको टुसा, च्याउ र ढकायो । निगालोको टुसामा रातो च्याउ मिसाएर पकाएको तरकारी कस्लाई पो मिठो नहोला र ? बर्षायाम सुरु भएसँगै जिल्लाका लेकाली वस्तीका अधिकांश घरका भान्सामा टुसा, च्याउ र ढकायो सागको तरकारी पाक्छ ।
पाहुनाको सत्कारमा टुसाको तरकारी पहिलो प्राथमिकतामा पर्ने गरेको छ । पाहुना पनि मासु भन्दा टुसाको तरकारीमा सन्तुष्ट हुन्छन । निगालाको टुसा र च्याउ आलु वा कुखुराको मासुमा मिसाएर पकाउँदा बढी स्वादिलो बन्छ । बर्खा सुरु भएसँगै स्वादमा कहलिएका जंगली खाद्य वनस्पति च्याउ, टुसा र ढकायो सागको सहरमा भान्सामा आउन थालेको छ ।


लेकाली जंगली खाद्य वनस्पतिको माग बढेपछि सहरका तरकारी पसलमा लेकको जंगलमा पाईने निगुरो, च्याउ, टुसा र ढकायो साग पाईन थालेको छ ।
जंगली वनस्पतिको माग सहरमा अधिक छ । जुकाको आक्रमण सहेर जंगलमा प्रशस्त खेर गैरहेको रातो च्याउ, टुसा र ढकायो जति टिप्न सक्यो उत्ति आम्दानी हुन्छ । जाँगर र अक्कल भएकाले जंगली खाद्य वनस्पती वेचेर मनग्य आम्दानी गरिरहेका छन ।
‘सहरमा लेकाली जंगली खाद्य बनस्पति च्याउ, टुसा र ढकायोको माग यति छ कि पसलमा आउनासाथ खोसाखोस हुन्छ । नपाउने त झगडा नै गर्छन’ बेनीको धौलागिरी अर्गानिक कोसेली घरकी ब्यवस्थापक मीना राम्जालीले भनिन, ‘ताजा च्याउ केजीको एक हजार एक सय र ढकायोको गुन्द्रक प्रति केजी दुई हजारमा विक्रि हुन्छ ।’
माथिल्लो लेकाली जंगलमा निगालोको टुसा पलाउन थालेपछि भाँच्नेको लर्को लाग्छ । लेकाली वस्तीबाट सहर झर्नेको झोलामा कोसेली (पार्सल) टुसा, रातो च्याउ र ढकायो सागको गुन्द्रुक बोकेका हुन्छन । टुसा मात्र होई न स्थानीय जंगलमा रुखका मुडा–मुडा चाहर्न ब्यस्त छन । जिल्लाको माथिल्लो क्षेत्रका गुर्जा, कुईने, मंगले, घाँसीखर्क क्षेत्रका जंगलमा रातो च्याउ धेरै पाईने र बढी ब्यापार हुन्छ । मध्य जेठदेखी साउनसम्म च्याउ टिप्ने उपयुक्त मौषम हो ।
ढकायो साग भने २६ सय मिटरमाथीको जंगलमा यत्रतत्र उम्रन्छ । ढकायो पिँडालु प्रजातिको वनस्पति हो । ढकायो र बाँको झट्ट देख्दा उस्तै देखिन्छ । ढकायो एउटै आँख्लामा तिनपाते भै उम्रन्छ । अरु हाँगा वा पात निक्लन्न । यो नै बाँको र ढकायो साग छुट्याउने सजिलो उपाय हो । ढकायो जंगलमा घाँसजस्तै काटेर ल्याई एक दिन घाममा सुकाएर ओईलाएपछि थिचेर गुन्द्रुक बनाईन्छ ।

‘आजभोली पर्यटक छैनन, सवै गाउँले जंगल तिर टुसा, च्याउ र ढकायो साग टिप्न लर्को लाग्छ’ रघुगंगा गापा, ८ की सोमकुमारी पुनले भनिन, ‘घरमा खाने मात्र होईन पोखरा, काठमाण्डौ लगाएत सहरका आफन्तलाई कोसेली पठाउन पनि टुसा टिप्न जान्छौं । जुकाले टोक्ने त सामान्य हो । साथीभाईसंग निगालोको बाक्लो झाडीमा टुसा टिप्न जाँदा रमाईलो पनि हुन्छ ।’


मिठो तरकारी वन्ने टुसा जरवुटा र मालुङ्गे जातका निगालो हो । यहाँका कृषकहरु ब्यापारिक प्रयोजनकालागी भन्दा घरमा खाने र आफन्तलाई कोसेली पठाउने प्रयोजनमा मात्र टुसा टिप्ने गरेका छन । टुसा ल्याएपछि बाहिरी वोक्राहरु फालेर भित्रको कलिलो भागलाई तरकारीको रुपमा प्रयोग गरिन्छ । टुसाको भित्री भागलाई वफाएर सुकाएपछि सुकुटी बनाई पछि खान पनि सकिन्छ ।
जिल्लाका उपल्लो भेगका राम्ने, घोडेपानी, स्वाता, पाउद्धार, नारच्याङ्ग, दाना, चिमखोला, कुईने, मंगले, मुदी, लुलाङ्ग, गुर्जा क्षेत्रमा प्रशस्त टुसा पाईन्छ । नेपालमा सवै भन्दा निगालोको टुसाको ब्यापार भने पोखरामा हुने गर्छ । तरकारीको रुपमा उपयोग गरिने जरवुटा र मालुङ्गे जातका निगालो २ हजार मिटरदेखी ४ हजार मिटरसम्मका उच्च पहाडी क्षेत्रमा मात्र पाईन्छन । वेंशीमा पाईने निगालो, तितेको टुसा खाँदैनन ।
टुसा खान मिठो भएपनि टिप्न सजिलो भने हुँदैन । घरदेखी धेरै टाढाका वस्तीमा खाना, खाजा बोकेर कहिलो काहीं त जंगलमै बास बस्नु पर्छ । बाक्लो निगालोको झाडीमा झरीवादल नभनी जुकाको टोकाई खप्नु पर्छ । ज्यानकै जोखिम पनि उत्तिकै रहन्छ । निगालोका टुसा हाव्रे र भालुको मुख्य आहारा हो । भालुको आक्रमण झेल्नु पर्छ । टुसा टिप्न जंगल गएको बेला भालुको आक्रमणमा परि कतिको ज्यान नै जान्छ ।

टुसा निगालोको मुना हो । टुसा हुर्केर नै निगालो बन्छ । अरु सवै वनस्पति वेंशीको गर्मी क्षेत्रमा छिटो पालुवा हान्छन र विस्तारै लेकाली क्षेत्रका विरुवाले पालुवा हाल्छन । तर निगालो शुरुमा लेकमा पालुला अर्थात टुसा पलाउँछन र विस्तारै तल्लो क्षेत्रका निगालोमा टुसा पलाउने गर्छ ।
निगालो ग्रामिण जनजीवन सहज बनाउने प्रमुख वस्तु हो । डालो, डोको, नाम्लो, थुन्से, भकारी, चित्रा, मान्द्रो लगाएतको दैनिकीसंग जोडिएका घरायसी सामाग्री बनाउन निगालाको प्रयोग हुन्छ । जराबाट टुसा पलाउने भएकोले भाँचेकै कारणले निगालोको झाडी नासिने हुँदैन ।
कानुनतः टुसा संरक्षित वनपैदावर हो । तर ब्यवहारमा भने टुसा संकलन सामान्य छ । नेपालका तारे होटलहरुमा विदेशबाट प्याकिङ्गका टुसा ल्याईन्छ । तर हाम्रा लेकाली वनजंगलमा प्रशस्त पाईने टुसाको ब्यवस्थापन गर्न आवश्यक छ । कुरिलो जस्तै टुसाको खेती संभव छ । टुसा भाँचेको कारण निगालोको झाडी मासिने हुँदैन । टुसा भाँचेपछि पुनः पलाउने गर्छ ।
त्यसैगरी वर्षाको मौषममा हिमाली क्षेत्रका खर्सू, सल्लाका ढलेपडेका मुडाहरु, पाखा तथा खाली चउरमा प्रशस्त उम्रने च्याउ स्वादिलो र पौष्टिक पनि हुन्छन । रातो च्याउ अन्य च्याउ भन्दा सजिलै चिन्न सकिन्छ । तर अन्य केही च्याउ छुट्टाउन राम्रो ज्ञान चाहिन्छ । जंगली च्याउमध्य खान योग्य र विषालु भनी छुट्टाउने ज्ञान एक पुष्ताबाट अर्कोमा हस्तान्त्रण हुंर्दै आएको हो ।