FLASH NEWS
  • Loading...

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

  • पुनहिल डट कम
  • ५ महिना अघि
  • २८१ पटक पढिएको
यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

म्याग्दीका दुई प्रमुख हिमालहरु धौलागिरी र अन्नपूर्ण हिमालका फेदीमा जलवायु परिवर्तन र बढ्दो तापक्रमले हिमनदी (ग्लेसियर)तिब्र असरहरु देखिन थालेका छन ।
धौलागिरी प्रथम हिमालबाट झर्ने ग्लेसियर (आरोहण मार्ग) पग्लेर छोटिने क्रम तिव्र वनेको छ । त्यसैगरी अन्नपूर्ण प्रथम हिमालको नर्थ ग्लेसियर (आरोहण मार्ग)को ग्लेसियर पग्लनेक्रम तिव्र वन्दा त्यहाँ रहेको पञ्चकुण्ड हिमतालको फैलावत वर्षेनी बढ्दै गएको छ ।

स्थानिय ब्यवसायीका अनुसार पछिल्लो ३० बर्षमा धौलागिरी हिमनदी करिव २ सय मिटर छोटो भएको छ । ग्लेसियरको भागपनि धेरै पातलो पनि भएको छ । धौलागिरी क्षेत्रमा एकै सिजनमा ग्लेसियर दुई फिटसम्म पातलो बनेको ढुङ्गाको छेलले सोझो ताप नपर्दा बनेका आईसका ढिस्काले प्रश्ट देखिन्छ ।

‘धौलागिरी हिमालको इटाली वेसक्याम्पमा छाप्रो राखेर टि सप चलाउन थालेको २५ बर्षबढी भयो । यस विचमा धौलागिरी ग्लेसियर अन्दाजी २ सय मिटरबढी खुम्चियो, २० मिटरबढी पातलो भएको छ । पहिला हामी जहाँबाट हिँड्थ्यौं अहिले त्यो पहाड भएको छ’ ब्यवसायी हरी तिलिजाले भने, ‘हिउँ पनि कम पर्छ, वेस क्याम्पमै हिउँ तीन महिना टिक्दैन, छिट्टै पग्लन्छ ।’

 

हिमाल भत्केर खस्ने ढुङ्गामाटो सहितको ठूलठूला हिउँका ढिस्का फेदीमा खस्छन । यीनै ढिस्का र हिउँदमा थुप्रिएको हिउँको थुप्रो विस्तारै पग्लदै बग्दै हिमनदी (ग्लेसियर) बन्छ । धौलागिरी हिमालको करिव पाँच किलोमिटर तलसम्म लत्रेको ग्लेसियर बढ्दो तापक्रमले विस्तारै पग्लदै खुम्चदै खोलाको रुपमा बग्ने मात्र होईन पातलो पनि बन्दै गएको छ ।
ग्लेसियर क्षेत्रमा निरन्तर हिमपहिरो झरिरहन्छ । हिमालका वेस क्याम्पहरु तिनै ग्लेसियर माथी बस्ने हुन । झट्ट हेर्दा ढुङ्गामाटो देखिएपनि भित्र पुरै हिउँ पग्लेर आईसको ढिक्का बनेको हुन्छ । तापक्रम बृद्धीसँगै यि आईसका ढिस्का पग्लदै भासिने र माथीबाट हिउँपहिरोले पुरिने क्रम निरन्तर रहन्छ ।

धौलागिरी मात्र होईन तापक्रमबढेसँगै म्याग्दीको अर्को हिमाल अन्नपूर्ण प्रथम, निलगिरी साउथ र तिलिचो पीकको साझा हिमताल पञ्चकुण्ड फैलिदै गएको छ । ग्लेसियर पग्लदै खुम्चिँदा हिमताल फैलिएको हो । हिमालको वेस क्याम्पमा हिमालमुनीसम्म फैलिएको आर्कषक र सुन्दर नीलो ताल देख्दा मन फुरुङ्ग हुन्छ । तर जलवायु परिवर्तन र त्यसको प्रभाव बारे चासो राख्नेकालागी भने यो सुन्दर हिमतालको फैलावट मुटु चिस्याउने विषय हो ।


अन्नपूर्ण हिमनदी (ग्लेसियर) र पञ्चकुण्ड हिमतालको विचमा रहेको प्रो–ग्लेसियर पुरै पग्लेपछि र ठूलो हिमपहिरो तालमा बज्रेपछि मिस्त्रीखोलाको तटिय वस्तीमा कस्तो प्रभाव पार्ला ?

सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालमा मानव पाईला परेको हो । उत्तरी अमेरिकाको निकोलस कलेजका वातावरण विज्ञानका प्रोफेसर मौउरी पेल्टोले लेखेको ‘नर्थ अन्नपूर्ण ग्लेसियर रिच्योल एण्ड लेक डेभलपमेन्ट’ लेखमा उल्लेख गरे अनुसार सन् १९८८ सम्म पञ्चकुण्ड हिमताल थिएन । त्यहाँ करिव १.५ किमी लामो सक्रिय हिमनदी थियो ।


‘हामी २०७३ जेठ अन्तिममा अन्नपूर्ण नर्थ वेस क्याम्प पुग्दा त्यहाँ ५ वटा छुट्टाछुट्टै कुण्डहरु थिए । पछिल्लो ८ बर्षमा पञ्चकुण्डका ५ वटा कुण्ड पग्लेर एउटै ठूलो ताल बनेको छ’ अन्नपूर्ण प्रथम हिमाल आरोहण मार्गको प्रर्वद्धन र प्रचारमा जुटेका अभियन्ता तेजबहादुर गुरुङले भने, ‘जलवायु परिवर्तन र तापक्रम वृद्धीले अन्नपूर्णको उत्तरी आधारशिविरको वातावरण संकटउन्मुख छ । तालका विच–विचका आईसल्याण्डहरु विलाएर नासिएको देख्दा चिन्ता लाग्छ ।’