- Loading...
कुवेतबाट फर्किइन हिराकुमारी
- पुनहिल डट कम
- १ साल अघि
- २०१ पटक पढिएको
घरेलु कामदारको रूपमा खाडीमुलुक कुवेतमा बेचिएकी एक म्याग्देली चेलीको उद्धार गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारीको उद्धार गरिएको हो ।
आकर्षक तलबको प्रलोभन देखाइ भारत हुदै गैरकानुनी रुपमा कुवेतमा पुगेकी हिराकुमारी कुवेतीको घरमा विगत पाँच महिनादेखि मानसिक र शारीरिक यातना भोगेकी थिइन् । उनी सोमबार विहान काठमाण्डौमा आइपुगेकी छन् । पीडित आफ्नै तलबबाट टिकट लिएर सोमबार विहान त्रिभुवन विमानस्थलबाट एक गैरसरकारी संस्था अमृतसार नेपालको सहयोगमा सेन्टरमा पुगेकी छन् ।
जटिल रोगबाट ग्रसित श्रीमानको उपचार र छोराछोरीको शिक्षादीक्षाका लागि भारत हुँदै कुवेत पुगेकी चोखाललाई कुवेतीले दैनिक १८ घण्टासम्म काममा लगाएर यातना दिने गरेको थियो । ‘कुवेतमा एक जनाले रिसिभ गरेका थिए। केही दिन एउटा घरमा राखेर कुवेतीको घरमा पठाए, ठूलो परिवार भएको घरमा काम गर्न लगाइयो। ‘कपडा धुने, भाँडा माझ्ने, सरसफाइ गर्ने लगायतका काम १८ घन्टासम्म गर्नुपथ्यो, मानवलाई जस्तो व्यवहार बालबालिकादेखि बृद्धसम्मले कहिल्यै गरेनन।’ हिराकुमारीले भनिन् ।
घरेलु कामदारका रुपमा कार्यरत रहँदा कुवेतीले जे भने पनि मान्नुपर्ने अवस्था रहेको उनी बताउँछिन्। ‘श्रम शोषण गरी मानसिक र शारीरिक यातना नरोकिएपछि सञ्चारमाध्यमको सहयोग माग्न बाध्य भए’ हिराकुमारीले भनिन् । ५० हजार मासिक कमाइ हुने र खानेबस्ने सुविधा भएको भन्दै भारतमा सक्रिय रहेका नेपाली दलाल ग्याल्पा लामाले कुवेतीको एक संस्थामा काम गर्ने भनी फ्रि भिसा र फ्रि टिकटमा लगेको तर त्यहाँ पुगेपछि घरेलु कामदारका रूपमा बेचिएको उनले बताईन् ।
नागरिक राष्ट्रिय दैनिकमा पीडित चोखालको समाचार सार्वजनिक भएपछि कुवेती नागरिकको घरबाट कुवेती एजेन्टको अपिसमा राखि सोही ठाउँबाट घर पठाइएको हो । ‘मलाई कुवेतीको घरबाट एजेन्टको अपिसमा लगेर समाचार किन बनाएको भन्दै एक महिलाले दवाव दिइन्, मैले बाध्य भएर समाचार बनाएको भन्दै प्रतिवाद गरे’ हिराकुमारीले भनिन् । उनले याचना सहितको भिडियो प्रकाशित भएपछि सबैको साथ र सहयोगले नेपाल फर्किन पाएको बताईन् । हिराकुमारीको भिडियो सार्वजनिक भएको करिब २ सातामै उद्धार भई नेपाल ल्याइएको छ ।
उनले नेपालमा फर्किएपछि निकै उत्साहित भएको र उद्धारमा सहयोग गर्नेलाई जिवनभर नविर्सिने बताईन् । उनले कुवेतीले करिब २५ दिनको तलब समेत नदिएको बताईन् । एक महिनाको तलबबाट एजेन्टले नेपाल फर्किने टिकट काटिदिएर बाँकी रहेको १७ हजार नेपाली दिएको चोखालको भनाई छ । नेपाल फर्किने बेलामा कुवेती एजेन्टको अपिसमा कार्यरतसरिता शर्माले कुवेतमा आफूखुसी आएको र बेचबिखनमा परेको होइन, कुवेतीले समेत कुनै यातना दिएको थिएन भन्ने भिडियोसमेत बनाएको समेत बताईन्। पीडित हिराकुमारीको उद्धारका लागि म्याग्दी प्रवासी नेपाली संघ मोना कुवेत, मोना अन्तराष्ट्रिय, गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतले समेत लगातार सक्रियता देखाएका थिए ।
मोना कुवेतका अध्यक्ष दिपक छन्त्यालले घरेलु कामदार चोखालको उद्धारका लागि गरिएको प्रयास सफल भएको बताए।उनले यो अभियानमा अलपत्र परेको खवरपछि नेपाली दुतावाससँग समेत समन्वयमा एनआरएनए कुवेतका अध्यक्ष रनध्वज लामाले समेत निरन्तर साथ दिएको बताए ।नेपाल सरकारले वैधानिक बाटोमार्फत घरेलु कामदारका रुपमा जान रोक लगाएसँगै अवैधानिक भारतको बाटो हुँदै महिलालाई घरेलु कामदारका रुपमा पु¥याउने घटना बढ्न थालेको छ ।
म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटकी एक महिला समेत अहिले उद्धारको पखाईमा छिन्। एजेन्टको विश्वासमा परेकी गएका नेपाली महिलाहरूले नारकीय जिवन विताइरहेको उद्धारपछि फर्किएकी हिराकुमारीले बताईन् । उनले अब आफ्नै गाउँमा काम गरी घरपरिवारसँगै रमाउने बताईन्। नेपाली एजेन्टले कुवेत जाँदा अन्य युरोपियन मुलुकमा जान सकिने पिआर पाइने, राम्रो काम र कमाइ हुने प्रलोभन समेत दिने गरेको पाइएको छ ।