FLASH NEWS
  • Loading...

तेल कूटनीतिले जहिल्यै युद्धमा फसेको मध्यपूर्व

  • पुनहिल डट कम
  • १ साल अघि
  • ४३४ पटक पढिएको
तेल कूटनीतिले जहिल्यै युद्धमा फसेको मध्यपूर्व

प्राकृतिक स्राेत कुनै देशकालागी उपयाेग र ब्यवस्थापन काैसलता र क्षमता राख्न सक्दा वरदान र नसक्दा श्राप हुन सक्छ । त्यसैकाे प्रमाण मानिएकाे छ, मध्यपुर्वमा जारी अशान्ती । भौगोलिक अवस्थिति, खनिज उपलब्धता, जलमार्ग, उत्पादन र त्यो भूगोलसँग जोडिएको ऐतिहासिक तथ्यले मध्यपूर्वमा भैरहेकाे अशान्तिलाइ मान्न सकिन्छ ।

मध्यपूर्व युरोप, एशिया र अफ्रीकाको महादेशको मिलन बिन्दु हो । अफ्रिका महादेशको उत्तरी भाग, एशिया महादेशको पश्चिमी भाग र युरोप महादेशको पूर्वी भागमा अवस्थित भूभागलाई नै अन्तर्राष्ट्रिय राजनीतिमा मध्यपूर्व भनेर चिनिन्छ । दक्षिण पश्चिम एशिया मेडिटेरियन समुन्द्र उत्तर पश्चिम उत्तरमा काला सागर र क्यास्पियन सागर पश्चिममा लाल सागर दक्षिणमा अरब सागर दक्षिण पूर्वमा पर्सियन गल्फ बिचको भूभाग मध्यपूर्व हो ।

मध्यपूर्वमा १७ देश छन् । बहराइन, इरान, इराक, इजरायल, प्यालेस्टाइन, जोर्डन, कुवेत, लेबनान, ओमन, कतार, साउदी अरबिया, सिरिया, यूएई, यमन पर्दछन् । मध्यपूर्वमा कच्चा तेलको विशाल भण्डार छ । मध्यपूर्वको सबैभन्दा धनी देश कतार हो भने सबैभन्दा विकसित देश इजरायल । साउदी अरेबिया मध्यपूर्वको सबैभन्दा ठूलो देश हो । पूर्वी युरोप, पश्चिम एशिया र उत्तर पूर्वी अफ्रिकाको ट्रान्जिट एरिया हो, मध्यपूर्व । मध्यपूर्वमा मुस्लिम देशको दबदबा छ । मध्यपूर्वको प्रमुख धर्म ईस्लाम हो । ती देशहरू तेल र ग्यास बेचेर धनी भएका हुन् ।

साउदी अरब, कतार, कुवेत, यूएई र बहराइन मध्यपूर्वका धनी देश हुन् । यमन त्यहाँको सबैभन्दा गरिब देश हो भने इजरायल सबैभन्दा विकसित देश हो । मध्यपूर्वलाई विश्वकै धेरै अरबपति खरबपतिको भूमी मानिन्छ । इजिप्टको कायरो मध्यपूर्वको ठूलो शहर मानिन्छ । भूगोलका आधारमा बहराइन र कतार मध्यपूर्वका साना देश हुन् ।

मिश्र मध्यपूर्वको सबैभन्दा धेरै जनसंख्या भएको देश हो । क्रमशः टर्की, इरान, इराक र साउदी धेरै जनसंख्या भएका मुलुकहरू हुन् । मध्यपूर्वमा साउदीपछि इराक ठूलो तेल निर्यातक देश हो । साउदी अरेबिया मध्यपूर्वको सबैभन्दा मजबुत देश हो ।

तनाव र उल्झनको जरो

विश्व राजनीतिमा मध्यपूर्वलाई नजरअन्दाज गर्न कठिन छ । साहित्य, गणित र दर्शनमा यो भूगोलको जति महत्त्व छ त्यसभन्दा बढी धार्मिक आधारले हेर्दा विश्वका महत्त्वपूर्ण धर्मको उद्गम बिन्दु पनि मानिन्छ । मध्यपूर्व अरु धेरै कोँणबाट पनि महत्त्वपूर्ण छ । यसको भौगोलिक सामरिक महत्त्व झन् विशेष छ ।

पहिलो विश्वयुद्ध र त्यसभन्दा अघिदेखि नै यहुदीहरू युरोपमा मज्जाले जमेका थिए । उनीहरू युरोपभरि छरिएका थिए । युरोपमा यहुदीहरूमाथि अत्याचार सुरु भयो । समूल यहुदीजातिकै उन्मुलन गर्ने उद्देश्यले व्यापक नरसंहारका घटनाहरू भए । बचेका यहुदीहरूलाई युरोपले राखेन । उनीहरूलाई मध्यपूर्वमा लगेर राख्ने काम बेलायत र अमेरिकाले गरे । इजरायल देशको रूपमा अस्तित्वमा आइसकेपछि उसलाई संस्थागत गर्न अमेरिकाले हतियार दियो । बेलायतले खाद्यान्न इन्धन औषधिदेखि हरतरहको सहयोग दियो । भनिन्छ, कुनै बेला बेलायतको बजेटको ५१ प्रतिशत रकम इजरायलको लागि खर्च हुन्थ्यो ।

इजरायलले लडेका हरेक लडाइँमा अमेरिकाले आर्थिक र शैन्य सहयोग गरेको छ । विश्वमै सबैभन्दा धेरै विवाद भएको क्षेत्र हो- मध्यपूर्व । बेरोजगारी, आर्थिक मन्दी, बढ्दो गरिबी र असमानता मध्यपूर्वका सदाबहार चुनौती भैरहेका छन् ।

शक्ति-सन्तुलनको कडी

मध्यपूर्वमा तेलको लागि धेरै लडाइँ भएका छन् । लिबिया, सिरिया, इराक, इजरायल, प्यालेस्टाइन, लेबनान जहिल्यै युद्वरत अवस्थामा हुन्छन् । भूराजनीतिक बनोटका कारण पनि मध्यपूर्वमा जहिल्यै युद्वको बादल मडारिइरहेको हुन्छ ।

तेल प्रशोधन र निर्यात मध्यपूर्वको मुख्य आय आर्जनको स्रोत हो । मध्यपूर्वका देशलाई एकापसमा भिडाएर त्यहाँको स्रोतमा अमेरिकाले आफ्नो हातलाई मजबुत बनाइरहन चाहन्छ । मध्यपूर्वमा अमेरिकाको जे जति गतिविधि हुन्छन् ती सब यसै दिशामा केन्द्रित छन् ।

अमेरिकाको लागि मध्यपूर्व जति महत्त्वको छ त्यसभन्दा बढी युरोपको लागि मध्यपूर्वले महत्त्व राख्दछ ।

युरोपमा ऊर्जाको खपत ठूलो छ । युरोपमा ऊर्जा आउने स्रोत दुईवटा छन् । एउटा रसिया र अर्को मध्यपूर्व । युरोपमा इन्धन ल्याउन मध्यपूर्वबाट भन्दा सहज रुसबाट हुन्छ । रुसबाट एकलौटी इन्धन ल्याइरहँदा रुस एकपक्षीय रूपमा मजबुत हुने सम्भावना प्रबल हुन्छ । रुस आर्थिक र शैन्य दृष्टिले मजबुत हुनु भनेको रणनीतिक दृष्टिले युरोपको लागि खतराको घन्टी बज्नु हो भन्ने युरोपेली देशहरूले राम्रोसँग बुझेका छन् । रुसको विकल्पको रूपमा मध्यपूर्वबाट आफ्नो आवश्यकता परिपूर्तिका लागि युरोप मध्यपूर्वमा पाईला बढाउन चाहन्छ । उनीहरूले बिगतदेखि नै मध्यपूर्वमा सहज बाटो खोजिरहेका थिए ।

उनीहरूको बाटोमा इरान पर्खाल बनेर उभिएको छ । त्यसैले अमेरिका मात्रै होइन युरोप समेत इरानमा सत्ता पल्टाएर त्यहाँ कठपुतली सरकार गठन गरेर त्यहाँको तेल भण्डारसम्म आफ्नो बाटो सहज बनाउने प्रयासमा छन् । अमेरिका इरानमा आणविक हतियारको कटौती चाहन्छ ।

मध्यपूर्वका अधिकांश देश इजरायललाई छाडेर मुस्लिम धर्मावलम्बी भए पनि उनीहरू बीचको सम्बन्ध कटुतापूर्ण अवस्थामा छ । उनीहरूले विगतदेखि नै एकअर्काविरुद्व मोर्चा बनाउने, सहकार्य गर्ने र कतिपय अवस्थामा युद्व नै लडेका इतिहास छन् । इजरायलले हमासको नाममा समग्र प्यालेस्टाइनहरूको नरसंहार गरिरहँदा पनि उनीहरूको एउटै आवाज नआउनुका पछाडि अनेक कारणहरू देखिन्छन् ।

१९७० मा इरानविरुद्व साउदी, जोर्डन र यूएईको गठबन्धन थियो । इरान र इराक १९८० देखि १९८८ सम्म लगातार आठ वर्ष युद्ध लडे । १९९० मा इराकले कुवेतमा आक्रमण गरेपछि गल्फवार भयो । जसमा अमेरिका इराकको विरुद्वमा प्रत्यक्ष सामेल भयो ।

आधा इजरायलको मध्यपूर्वका कुनै पनि देशसँग सम्बन्ध छैन । मध्यपूर्वका देशहरूको एकअर्काबीच कतै शत्रुता देखिन्छ त कतै मित्रता । इन्धनको बलमा मध्यपूर्वका देशले सम्पन्नता हासिल गरेका हुन् । उनीहरूले यो पनि बुझेका छन् कि समुन्द्रको पानी त निकाल्दै जाँदा एकदिन सकिन्छ । जमिन मुनिको इन्धन भन्डार पनि एकदिन सकिने कुरा उनीहरूले राम्ररी बुझेका छन् । त्यसैले उनीहरूले आम्दानीको स्रोतको रूपमा पर्यटनलाई आधार बनाएर आफ्ना सिमामा अनेकन पूर्वाधार निर्माण गरिरहेका छन् । अहिलेको अवस्थामा हेर्दा कतार, यूएई, साउदी अरेबिया लगायतका देशले ठूलो सङ्ख्यामा पर्यटकलाई आकर्षित गरेका छन् ।

मध्यपूर्वमा सफ्टपावरको रूपमा कतारको उदय भएको छ, जुन कुरा पचाउन साउदी अरब, इरान, यूएई जस्ता देशलाई गाह्रो भैरहेको छ । कतारले विश्वकै लोकप्रिय खेल फुटबलको महाकुम्भ खेल विश्वकप प्रतियोगिता आयोजना गरेर आफ्नो खुबी विश्वमाझ देखाइसकेको छ । चर्चित टेलिभिजन नेटवर्क अलजजिरा र अन्य कतिपय मुद्वालाई लिएर साउदी अरब, यूएईका देशहरूले लामो समयसम्म नाकाबन्दी लगाउदा समेत कतारलाई कुनै असर परेन उल्टो उ मध्यपूर्वमा नयाँ शक्तिको रूपमा उदाउन पुगेको छ ।

तेलको राजनीति र ओपेक

द्वितीय विश्वयुद्वपछि तेल कुटनीतिले अन्तर्राष्ट्रिय राजनीतिलाई विशेष प्रभाव पारेको थियो । अध्यननले विश्वको तेल भन्डारको ४८ प्रतिशत मध्यपूर्वमा छ भन्छ । अर्गनाइजेसन अफ द पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रीज (ओपेक) मा १३ देश छन् । अल्जेरिया, अङ्गोला, कंगो, इरान, इराक, कुवेत, लिबिया, नाइजेरिया, साउदी अरब, यूएई, भेनेजुएला लगायतका देश ओपेकमा आवद्व छन् । यसको स्थापना १९६० मा इराकको राजधानी बगदादमा भएको थियो । तेलको उचित र स्थिर मूल्यका लागि तेल उत्पादक देशहरूले ओपेक संगठन जन्माएका थिए । तेल उत्पादनमा कटौती गरेर मूल्य स्थिर राख्ने, मूल्य घट्न नदिने सवालमा ओपेकको स्थापना प्रभावकारी साबित भएको थियो ।

मध्यपूर्वको जमिन मुनिको इन्धन मध्यपूर्वको लागि बरदान र अभिशाप दुवै बनेको छ । मध्यपूर्वले बितेको एक शताब्दीमा अनेकन युद्वहरू झेलेको छ । लाखौँ करोडौँ मानिसहरू युद्वमा मारिएका छन् । खरबौँ मूल्यका भौतिक संरचनाहरू ध्वस्त बनेका छन् । धनको आडमा त्यहाँ अनेकन तानाशाहहरूको जन्म भएको छ र उनीहरूकै कारण एक्काइसौँ शताब्दीमा पनि त्यहाँका नागरिकहरूले मौलिक हकअधिकारबाट बन्चित हुनुपरेको छ । तेल बेचेर आर्जित मुद्राबाट कठोर प्रतिकुल हावापानी भएको मरुभूमिमा समेत कृत्रिम स्वर्ग निर्माण गर्न सक्नु त्यहाँको सकारात्मक पक्ष मान्न सकिन्छ । त्यहाँ भएको विकास निर्माणले विश्वका अनेक मुलुकका युवाहरूका लागि अवसर र रोजगार सिर्जना हुनुलाई राम्रै कुरा मान्नुपर्छ ।

खस्किँदो अमेरिकी साख

अमेरिका विश्वकै शक्तिशाली र वैभवशाली देश हो । भनिन्छ, विश्वका ८५ बढी देशमा अमेरिकन सैन्य बेसहरू छन् । मध्यपूर्वकै कतार, इराक, बहराइन, ओमन, कुवेत, साउदी अरब, यूएईलगायतका देशमा अमेरिकाका शैन्यबेसमा छन् । अमेरिकाले मध्यपूर्वको शक्ति सन्तुलन बनाइरहन खरबौँ डलर खर्च गर्दै आएको छ । यसका बाबजुद पनि मध्यपूर्वमा अमेरिकाको साख खस्किँदै गइरहेको छ भने चिनले आफ्नो गतिविधि बढाउँदै लगेको देखिन्छ ।

साउदी अरब र अमेरिकाको सम्बन्ध निकै राम्रो भइरहेको बेला अमेरिकाले साउदीलाई इजरायलसँग सम्बन्ध विस्तारका लागि महत्त्वपूर्ण सहकार्य गर्दै आएको थियो । यस्तैमा साउदी अरबका पत्रकार जमाल खाशोजिको टर्कीमा भएको हत्यामा साउदी राजकुमार मोहम्मद बिन सल्मानको हात रहेको अमेरिकी खुफिया एजेन्सीको रिपोर्ट सार्वजनिक भएपछि साउदी अरब र अमेरिकाको सम्बन्धमा निकै शिथिल बनेको थियो ।

साउदी विश्वकै प्रमुख तेल उत्पादक देश हो र अमेरिका साउदीले आफू र आफ्ना लबीका देशलाई कम मूल्यमा पेट्रोलियम पदार्थ दियोस भनेर लामो समयदेखि साउदीसँग अनेक विषयमा सहकार्य गर्दै आएको छ । अमेरिकाको भित्री उद्देश्य भनेको साउदीको साथ लिएर रुसको तेल बजारलाई कमजोर बनाउनु हो भनेर विश्लेषकहरूको ठम्याइ रहेको छ ।

इरान सैन्य दृष्टिले मध्यपूर्वको सबैभन्दा शक्तिशाली देश हो । उ जसरी हुन्छ आफूलाई आणविक शक्ति रास्ट्र बनाउने ताकमा छ । उ विश्व रंगमञ्चमा शक्तिशाली मुस्लिम रास्ट्रको रूपमा आफ्नो पहिचान स्थापित गर्न चाहन्छ जुन अमेरिका कुनै हालतमा स्विकार्न चाहन्न । मध्यपूर्वमा इरानको शक्ति बढ्नु इजरायलको लागि पनि खतराको विषय हो ।

मध्यपूर्वमा अमेरिका डिफेन्सिभ हुँदै गएको छ । विश्व रंगमञ्चमा अनेक मुद्दामा चीन र रुसबीच घोषित गठबन्धन र सहकार्य बढ्दै गएको देखिन्छ । हालै मात्र हमासका नेता, इरानका नेता रुस गएर बैठक गरे । उनीहरूले गाजामा इजरायलले अबिलम्ब युद्वबिराम गर्न दबाब दिएका छन् ।

शान्तिपूर्ण विश्वको परिकल्पना

शक्तिमा भएकाले न्यायपूर्ण समाज बनाउने प्रेरणा र सन्देश दिनुपर्छ । शक्तिको आडमा अमेरिकाले बनाउन खोजेको विश्वव्यवस्था निकै कुरूप देखिन्छ । अमेरिकाले शान्तिको लागि भन्दा पनि युद्वलाई प्रश्रय दिने काम गरेको आजसम्मका उसका गतिविधि देख्दा प्रस्ट हुन्छ । उ युद्वरत दुवै पक्षलाई उछाल्ने र दुइटैलाई हतियार बेच्ने काम गर्ने गरेको घाम जत्तिकै छर्लङ्ग छ । अमेरिकी प्रविधि र साथ सहयोगबाट दक्षिण कोरिया, चीन, जापान, इजरायल केही देशहरू बने पनि विश्वका धेरै देशहरू कंगाल बनेका छन र अनन्त गृहयुद्धमा फसेका छन् ।

मध्यपूर्वमा इजरायलले देश पाउँदा प्यालेस्टेनिहरूले पनि देश पाउनुपर्छ । मान्छेको देशै खोस्ने काम कुनै हालतमा कसैलाई पनि स्वीकार्य हुँदैन । आजको विश्वमा धेरै देशसंग अणुबम छन् । आर्थिक र सैन्य दृष्टिले धेरै देश बलिया छन् । कुनै न कुनै दिन आणविक हतियारको मिसयुज होला । कुनै पनि बहानामा ती पड्किएलान् । शक्तिको उन्माद बोक्नेहरू को कोसँग लड्ने, ककसलाई सिद्याएपछि उनीहरूको मनोरथ पूरा हुने ? विश्वका शक्तिशाली भनिएका देशहरूले सोच्न जरुरी छ ।

एउटा बिन्दुमा पुगेर त युद्व रोक्नै पर्ला र रोकिएला । दिगो शान्तिका लागि ठूला देशहरू ठूला अर्थतन्त्र भएका शक्तिशाली र प्रविधिले सम्पन्न देशहरूले पहल गरून् । प्यालेस्टाइनहरूले बगाएको रगतले मध्यपूर्वलाई एउटा निकास देओस् ।