FLASH NEWS
  • Loading...

कालीगण्डकीमा विधुत आयोजना, प्राकृतिक तातोपानीको भविश्य के होला ?

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३६७ पटक पढिएको
कालीगण्डकीमा विधुत आयोजना, प्राकृतिक तातोपानीको भविश्य के होला ?

संसारको सर्वाधिक गहिरो अन्धगल्छीहुँदै बग्ने कालीगण्डकी नदी किनारामा एक पछि अर्को जलविधुत आयोजनाहरु निर्माण टुङ्गो लागेसँगै त्यहाँ रहेका प्राकृतिक तातोपानीका मुलहरुकाे भविश्य प्रति चासो बढेको छ ।

जर्नल अफ डेभलपमेन्टका इनोभेसन भोलुम ४, सन २०२० मा प्रकाशित ‘हट वाटर स्प्रीङ इन नेपाल ः अ रिभ्यु अन देअर लोकेशन ओर्जिन एण्ड इम्पोर्टेन्ट’ मा उल्लेख भए अनुसार युवा टेक्टोनिक बेल्टको क्षेत्रमा मनसुनको बर्षा वा जमिनको पानी तल झर्दा जियोथर्मल उर्जा वा तातो चट्टानको सम्पर्कमा आउँदा तातोपानीका मुलहरु निक्लने गरेका छन । र यो कालीगण्डकी नदीमा बेल्ट समेत नेपालका प्रायः सवै तातोपानीका मुहान रहेका क्षेत्र भौगर्भिक रुपमा तिब्बतियन प्लेट र भारतीय प्लेट गोभिएको भुकम्पकीय फल्टहरुको मुख्य दरार क्षेत्रमा अवस्थित छन ।

भुकम्पकीय फल्टहरुको दरार क्षेत्रमा सतहको पानी तल झर्ने र जियोथर्मल उर्जाबाट पानी तातिएर हटस्प्रीङ मुहानको रुपमा बाहिर निक्लने भएकोले कालीगण्डकी नदीको पानी टनेलमा पठाउँदा तातोपानीको मुहान सुक्न सक्ने अशंका स्थानीयले गरेका हुन ।

स्थानीय श्याम राना मगरका अनुसार कालीगण्डकी नदीमा पानीको सतह बढ्दा तातोपानीको मुहानपनि बढ्ने घट्दा घट्ने तथा नदीमा पानीको सतहसँगै तातोपानीको मुहानपनी तल सर्ने गरेको छ । कालीगण्डकीको पानी सुरुङ्गबाट अन्यत्र लगेपछि नदीमा पानी स्वत घट्ने भएपछि तातोपानीको मुहान पुरै नसुकेपनि मुलको सतह भासिने हुनसक्छ ।

खासगरी मध्यकालीगण्डकी र तिप्ल्याङ कालीगण्डकी जलविधुत आयोजना निर्माण प्रकृया अघि बढेसँगै अन्नपूर्ण गाउँपालिका, १ दोवा, २ भुरुङतातोपानी, ४ नारच्याङ, ५ पाउद्धार र ६ घारका स्थानीय चिन्तित भएका छन । कालीगण्डकी नदी किनारामा रहेका प्राकृतिक तातोपानीका मुहानहरु भन्दा माथीबाट नदीको पानी टनेल बाट लगी विधुत गृहमा खसाल्दा तातोपानीका मुलहरु सुक्नसक्ने भन्दै स्थानीयले चासो राखेका हुन ।

‘तातोपानीको मुहान किन निक्लन्छ ? तातोपानीको मुलको स्रोत के हो ? कहाँबाट आउँछ ? अध्ययनविना स्थानीयको रोजीरोटी खोस्ने मात्र होईन कालीगण्डकी नदी किनाराको सभ्यताको पर्यावरणमा गम्भिर प्रभाव पार्ने भएकोले प्रस्तावित आयोजनाहरुको एलाईमेन्ट परिवर्तन जरुरी छ’ स्थानिय खड्ग गिरीले भने, ‘जलविधुत आयोजना संञ्चालन गर्न अनुमति दिंदा पनि विधुत प्राधिकरण र सरकारले पनि गहिरो अध्ययन आवश्यक गर्नु पर्छ । गहिरो अध्ययन विना आयोजना संञ्चालन गरिनु हुन्न । रोकिनु पर्छ ।’
हालै नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र तिप्ल्याङकालीगण्डकी हाईड्रोपावर प्रालि विच विधुत खरिदविक्रि सम्झौता (पिपिए)भएपछि स्थानीयवासी फेरी झस्केका हुन ।

५८ मेगावाट क्षमताको तिप्ल्याङ्ग कालीगण्डकी जलविधुत आयोजनाले अन्नपूर्ण गाउँपालिका वडा नं ६ रातोपानी स्थित तातोपानीको मुहानमै बाँध बनाई रघुगंगा गाउँपालिका, १ तिप्ल्याङ्ग नजिक विधुत गृह बनाउन लागेको हो । यो आयोजना निर्माण भएपछि रातोपानी र दोवाको फेदीमा रहेको बगरतातोपानी र सेकुङ तातोपानीका मुल प्रभावित हुने स्थानीयले आशंका गरेका हुन ।

त्यसैगरी हाईड्रो सपोर्ट प्रालिले विश्व प्रशिद्ध पर्यटकीय स्थल भुरुङतातोपानी र पारीपट्टी रहेको पाउद्धार तातोपानीका मुहानभन्दा माथी पर्ने अन्नपूर्ण गाउँपालिका, ३ सुकेबगरमा बाँध बनाई तल सोही गापा, २ ठूलो बगरमा रहने विधुत गृहमा खसाल्ने भएपछि स्थानीयवासी, तातोपानीमा निर्भर पर्यटन ब्यवसायी र स्थानीय गाउँपालिका समेत शसंकित भएका हुन । तिप्ल्याङकालीगण्डकी तथा मध्यकालीगण्डकी दुवै जलविधुत आयोजनाको नेतृत्व नेपाल उद्योग वाणिज्य महाँसघका अध्यक्ष चन्द्र ढकालले गरेका छन ।

कालीगण्डकी नदीको पानीलाई सुरुङ्गबाट लगेपछि संसारको सर्वाधिक गहिरो अन्धगल्छीमा अवस्थित प्रख्यात तातोपानीको मुहानमा असर गर्ने भन्दै स्थानीयले चिन्ता जनाएका हुन । अन्नपूर्ण चक्रिय पदमार्ग र मुस्ताङ्ग भ्रमणमा आउने अन्तरिक तथा बाहृय प्रर्यटकले तातोपानी कुण्ड स्नान गरी लाभ लिने स्थानको रुपमा विश्वप्रख्यात छ । तातोपानीका मुलहरु फगत पानीको मुहान मात्र हैनन, स्थानीयको रोजीरोटी आर्थिक उपार्जनको प्रमुख स्रोत नै हुन ।

त्यस्तै, स्थानीय अन्नपूर्ण गाउँपालिकाको आन्तरिक आम्दानीको शिर्ष स्रोत नै यिनै तातोपानीका मुलहरु हुन ।