- Loading...
किन जहिल्यै एकै स्थानमा यातायात अवरूद्ध भैरहन्छ ? किन हुँदैन पहिराे राेकथाम ?
- पुनहिल डट कम
- १ साल अघि
- २५२ पटक पढिएको
गत साउन १० गते विहान ५ बजेतिर काठमाण्डौबाट मुस्ताङ्गकोलागी २७ जना यात्रु लिएर आएको ध १ प ९६५६ नम्बरको रात्री बस बेनी–जोमसोम सडक अर्न्तगत रघुगंगा गाउँपालिका, २ बैसरी स्थित पहिरोमा फस्यो । चालक अमर लामाले बसलाई भित्तामा जोत्न भ्याएकोले मानवीय क्षति हुन पाएन । हेर्दा हेर्दै बस हिलाम्मे र छियाछिया भयो ।
बैसरीमा मात्र होईन बेनी–जोमसोम सडक रहेको रघुगंगा र अन्नपूर्ण गाउँपालिका अर्न्तगत पर्ने विभिन्न खण्डमा पहिरोले बर्षेनी सास्ती दिने गरेको छ । कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनाले धौलागिरी र अन्नपुर्ण हिमश्रृखला विचको ६ हजार ९ सय ६७ मीटर गहिरो ‘अन्धगल्छी’ अवस्थित बेनी–घाँसासम्म्को ४४ किलोमिटर खण्ड पहिरोको उच्च जोखिम क्षेत्र पहिचान गरिएको छ ।
‘बेनी–जोमसोम–कोरोला सडकको सर्वे, डिजाईन तथा ठेक्का भै सडक निर्माणाधिन भैरहँदा सडक खण्डमा पर्ने रघुगंगा गापाको वारीगलेश्वर र अन्नपूर्ण गापाको खामभित्ता बाहेक पहिरोहरुको अवस्था अध्ययन छैन । चालु आर्थिक बर्षमा कम्तीमा १० वटा पहिरोको विस्तृत अध्ययन गर्ने योजना छ’ बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख जगत प्रजापतिले भने, ‘सडकको ट्रयाक पहिल्लै खुलेपनि विस्तार तथा स्तर उन्नत गर्ने गर्न ०७२ सालमा डिपिआरमा बैंसरी पहिरो उल्लेख छैन । डिपिआर र बजेट विना काम गर्न समस्या भएको हो ।’
आयोजनाका अनुसार अन्नपूर्ण गाउँपालिका, वडा नं ३ मा पर्ने रुप्सेछहरा–काप्रेभीर करिव ५ सय मिटर क्षेत्रमा माथीबाट पहिरो झर्ने र तलबाट सडक भासिने गर्छ । त्यस्तै सोही वडाको खामभित्ता, गुईठेभीर, लाटाखोलामा पनि बर्षेनी रिन्तर माथीबाट पहिरो झर्ने गरेको छ । अन्नपूर्ण गापा, २ मा पर्ने नागढुङ्गा र भुरुङ्गभीर, वडा नं ६ मा पर्ने टिम्मुरेभीर क्षेत्रको साँघुरो भुगोल, छेउकै कालीगण्डकी नदी र बारम्बार माथीबाट पहिरो झर्ने गरेकोले जोखिम उच्च छ ।
त्यस्तै रघुगंगा गाउँपालिका वडा नं १ बेगखोला, वडा नं २ मा पर्ने मासखर्क, कुनौटो, रिठावोट, बैसरीमा पहिरा छन । सोही गापाको ३ नं वडामा पर्ने चमेरे, वारीगलेश्वर मा पनि पछिल्ला केही बर्षदेखी पहिरोले सास्ती दिने गरेको छ । ०६२ सालदेखी ट्रयाक खन्न सुरु भएको बेनी–जोमसोम सडकको ०७२ सालमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाई ०७३/०७४ देखी कालीगण्डकी नदी किनारै किनार ७ मिटर पीच सहित ११ मिटर चौडा स्तरमा सडक विस्तार भैरहेको छ ।
आयोजना प्रमुख प्रजापतिले भने, ‘भुगर्भविदहरु गरेको अध्ययन अनुसार कमजोर भुगोल रहेका गलेश्वर र खामभित्तामा तल निर्मित सडकले बलियो संरक्षणका संरचना नबनाएको र माथिल्लो खण्डमा पनि संरक्षण विना डोजर चलाएर सडक खनिएकोले पहिरो चलेको देखिएको छ । हाम्रो आँखाले देख्दा बैंसरी, काप्रे र गुईठेको पहिरोहरु मनसुनमा पानीका मुहान निक्लने र कमजोर भुगोल क्षेत्र हुन । भुगर्भवीदहरुले अध्ययन गरेपछि ट्रिटमेन्टको काम सुरु हुन्छ ।’
हरेक वर्ष मनसुन सुरु भएसँगै बेनी–जोमसोम सडक पूर्वाधार प्रभावित हुन्छन । सडक सुरक्षा सम्बन्धी अत्यावश्यक प्रणाली नबनाउँदा बर्षेनी सडक दुर्घटनाबाट देशले आर्थिक रुपमा सक्रिय जनसंख्या गुमाईरहेको छ । उक्तिकै संख्यामा गम्भीर घाईते भै धेरैजसो आजीवन अशक्त बन्ने गरेका छन । संघीय, प्रदेश तथा स्थानीय तीनै तहले जोखिम अनुसन्धान तथा लाभलागत अनुमान नगरी सिमित बजेटमा सडक खन्ने हुँदा पनि पहिरो निम्त्याएको र जोखिम बढेको छन ।
सडक निर्माण गर्दै पूर्वाधारको जोखिम न्यूनिकरण, पहिरो जस्ता प्राकृतिक विपद्को पूर्वानुमान तथा रोकथामका काम पनि संगै गर्नु पर्ने देखिन्छ । सडकमा मौषम र सडकको अवस्था बारे अलर्ट गर्ने सिस्टम राख्न सके पनि सडकमा मानवीय तथा भौतिक क्षती न्युन गर्न सकिन्थ्यो ।
‘बेनी–जोमसोम सडकको विभिन्न खण्डमा पहिरोले यात्रु र यातायातलाई समस्या बनाएको छ । बैसरी समेत पहिरो क्षेत्रमा कसरी यातायात नियमित सुचारु गर्ने विषयमा सरोकारवाला निकायसंग बसेर उपायहरुको खोजी गरिरहेका छौं’ जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले भने, ‘सडकको सर्वे, डिजाईन इष्टिमेट गर्दा नै सडक खन्ने भुगोलो भिरालोपना तथा पानीढलोको आधारमा खोल्सा ब्यवस्थापन, भैरहेका पहिरो र पहिरोको संभावित जोखिम आंकलन गरी नियन्क्रणका कार्यत्रम नहुनु समस्या देखिएको छ ।’
बेनी–जोमसोम सडक मात्र होईन, जिल्लाको पश्चिम भेगको मुख्य सडक बेनी–दरवाङ मार्गको अवस्था पनि उस्तै नाजुक र जोखिमयुक्त छ ।
‘बजेटको श्रोत सिमित हुने भएकोले हाम्रा सडक निर्माण विस्तृत डिपिआर नबनाई वा डिपिआर भएपनि सडक संरक्षणका कार्यक्रम छुटाएर खन्ने चलन छ । सडक निर्माणहुँदा नै वातावरणीय तथा सडकको गुणस्तरमा ख्याल पुर्याईनु पर्ने हो तर सडकको दुरी नाप्ने र प्रगति प्रतिशत हेर्ने प्रचलनले सडक असुरक्षित बनेका छन’ पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त शर्माले भने, ‘अहिले हामीले हेरेको मुख्य सडकमध्य बेनी–दरवाङ्ग २४ किमी सडक मुख्य हो । यसमा भने सडकमा पर्ने पहिराहरुको वृहत अध्ययन नभएपनि सानातिना वायोइन्जिनियरिङको काम राखेका छौं । २४ किमी खण्डमा पर्ने दर्जन पहिरा मध्य फापरखेत र बाँङ्गे पहिरो बर्षेनी सफा गर्दा मात्र सवै निकायकोगरी कुल बजेटको आधा बढी खर्च भएको छ ।’
सडक दुर्घटना शुन्य कुनै पनि देश छैन र सडक दुर्घटना शुन्य बनाउन संभव पनि छैन । तर दुर्घटनालाइ धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ । सडक विभागले बनाएको ‘रोड सेफ्टी अडिट गाईड लाईन’ मा सडकको सम्भाब्यता अध्ययन गर्ने सयममा सडक डिजाईन गर्ने वेला, सडक बनाउने क्रममा र सडक प्रयोग गर्नुदिनु अघि गरी चार चरणमा सुरक्षा मापदण्ड (सेफ्टी अडिट) गर्नु पर्ने ब्यवस्था छ । तर मापदण्डमा कतै पनि पालना भएको पाईदैन ।
बेनी–जोमसोम सडकको बेनी– घाँसा खण्डमा अहिले मात्र होईन पटक–पटक पहिरो झर्ने र कालीगण्डकी नदी थुनिने गरेका छन । विसं २०१४ सालमा पूर्वोत्तर माथी पाखोमा रहेको तत्कालिन हिस्तान वस्ती नै पहिरोले तल खस्दा बेगखोला नजिकै कालीगण्डकी नदी थुनिएको थियो । ०५५ साल असोज १० गते साविक शिख गाविसको गोगनपानी भिर खस्दा तातोपानीमा कालीगण्डकी १० घन्टा थुनिएको थियो । पछिल्लो पटक ०७२ जेठ १० गते राम्चे गाविसको काफलडाँडा मुनीको महभीर खस्दा १६ घन्टा कालीगण्डकी थुनिएको हो । ०४४ सालमा हिमालपारीको मुस्ताङ्गको हिमताल फुटेर आएको बाढीले कालीगण्डकी तटिय क्षेत्रमा ब्यापक धनजनको क्षति पुर्याएको थियो ।
सडक दुर्घटनाको कारणहरु ः
मानवीय कारण ः बढी यात्रु राख्ने, मदिरा सेवन गरी सवारी चलाउने, तिव्र गतिमा चलाउने आदी । यान्त्रीक कारण ः सवारी साधन थोत्रा हुनु, मर्मतसंभार नगर्नु, ब्रेक फेल हुनु आदी हुन भने वातावारणीय कारण ः बर्षा, हिमपात, बाढीपहिरो मुख्य हुन । त्यस्तै सडकको कारण ः सडक खाल्डाखुल्डी हुनु, पहिरोग्रस्त क्षेत्रमा पहिरो रोकथाम नहुनु, साँघुरा तथा वैकल्पिक सडक नहुनु समेतका कारणले दुर्घटना हुने गरेका छन । म्याग्दीमा अहिलेसम्म भएका दुर्घटनामध्य अधिकांश दुर्घटना सडकको गुणस्तर र जोखिम आंकलन गरी रोकथामका उपाय अवलम्बन नगर्दा भएका छन ।