- Loading...
सुन तस्करीमा मुछिएका माओवादी नेता महराका बाबुछोरालाई उन्मुक्ति
- पुनहिल डट कम
- १ साल अघि
- १३५ पटक पढिएको

हरेक दिनजसो हुने विभिन्न कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारका फाइल खोतल्ने र कसैलाई नछाड्ने दोहो¥याए पनि ९ किलो सुन तस्करीमा जोडिएका पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र छोरा राहुलमाथि अनुसन्धान अघि बबढाएकाे समाचार अाजकाे कान्तपुर दैनिकमा मात्रिका दहालले लेखेका छन । कान्तिपुर दैनिकमा प्रकाशित समाचार यस्ताे छ ः
आठ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबुछोरा संलग्न भएको भनेर प्रहरीको विशेष अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनमा किटान हुँदा पनि उनीहरूमाथि मुद्दा दर्ता त भएको छैन नै, उनीहरूलाई योजनाबद्ध रूपमा उन्मुक्ति दिन खोजिएको छ ।
गत पुस १० मा दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङको लगेजमा ७३ बट्टामा ७३० थान भेप भेटिएको थियो । एकै पटक यति धेरै परिमाणमा भेप आएको भन्दै विमानस्थल भन्सारले समातेको थियो । अनुसन्धान गर्दै जाँदा भेपभित्र सुन भेटिएको थियो । प्रहरी अनुसन्धान नै भन्छ, ‘नौ किलो ११.५२४ ग्राम सुनको बजार मूल्य आठ करोड ५५ लाख २८ हजार तीन सय ७४ रहेको काठमाडौं सुनचाँदी व्यवसायी संघको मूल्यांकन छ ।’ तर भेपमा सुन भएको भेटेपछि त्यसलाई लिलाम नगरी भन्सारका अधिकारीसहितको मिलेमतोमा बेचिएको थियो ।
पुस १० मा बिहान ७.१० देखि अपराह्न १२ बजेसम्म विमानस्थलको आगमन कक्षको यात्रु शाखा प्रमुखको हैसियतमा ड्युटीमा खटिएका विमानस्थलका भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठले प्रहरीलाई दिएको बयानअनुसार सुरुमा ठूलो परिमाणको भेप भनेर रोकिएको हो ।
भेप जफत गरी भन्सार अधिकृतको कार्यकक्ष अगाडि राखिएको २/३ दिनपछि यात्रु शाखामा पुगेका भन्सार एजेन्ट खुवाप्रसाद न्यौपानेले तोकिएको राजस्व लिई जाँचपास गरी दिन अनुरोध गरेका थिए ।
‘मैले जफत भएको मालवस्तु जाँचपास हुन सक्दैन भनी पठाएको थिएँ, त्यसको भोलिपल्ट श्यामसुन्दर शाह भनी चिनाउने व्यक्तिले भेटेर उक्त भेप जलविद्युत् आयोजनामा काम गर्ने चिनियाँ कामदारको उपभोगका लागि ल्याएको भन्दै छुटाउन अनुरोध गरे । मैले निजलाई समेत जफत भएको मालवस्तु जाँचपास हुन सक्दैन भनी पठाएको थिएँ,’ भन्सार अधिकृत श्रेष्ठको भनाइ छ ।
भन्सार एजेन्ट फर्किएको केही समयपछि पूर्वसभामुख महराका छोरा राहुलले भन्सार अधिकृत श्रेष्ठलाई फोन गरेका थिए । ‘आफूलाई राहुल महरा भनी चिनाउने व्यक्तिले ९८५११–––८८ बाट फोन गरी जफत भएको उक्त भेपको लिलामी प्रक्रिया के हो ? कसरी हुन्छ ? भनी सोधपुछ गरे,’ श्रेष्ठले भनेका छन्, ‘मैले जफत भएको मालवस्तु मुद्दा तथा लिलामी शाखामा पठाइने र नियमानुसार बोलकबोलको सूचना प्रकाशित हुने बताएँ । लिलाम नगरी नष्ट गर्ने चिजवस्तु भए नियमानुसार नष्ट गरिन्छ, सो सम्बन्धमा सम्बन्धित शाखामै बुझ्दा उचित हुन्छ भनी जानकारी दिएको थिएँ ।’ यसरी महरालाई पन्छाएपछि आफूले थप कानुनी कारबाहीका लागि भेप मुद्दा शाखामा पठाएको र त्यसपछि के कसो भयो भन्ने आफूलाई थाहा नभएको उनको जवाफ छ ।
श्रेष्ठले यस्तो बयान दिए पनि तस्कर र बिचौलियाहरूको मिलेमतोमा भन्सारका कर्मचारीहरूको मिलिभगतमा सुन बेचिएको थियो । यसको सुराक खुलेपछि भन्सार कार्यालयले गत वैशाख २६ मा प्रहरीको सीआईबीलाई पत्र लेखी अनुसन्धान गर्न आग्रह गरेको थियो । त्यसका आधारमा ब्युरोले एक चरणको अनुसन्धान सकेर मुद्दा दायर गरे पनि पूर्वसभामुख र उनका छोरामाथि थप अनुसन्धान गरेको छैन । जबकि सुन तस्करी तथा बिक्रीको जालो राहुल मात्र होइन, स्वयम् कृष्णबहादुर महरा जोडिएको प्रहरी प्रतिवेदनमा स्पष्ट उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘मिसिलमै संलग्न कल डिटेल रेकर्ड (सीडीआर) प्रतिवेदनअनुसार सुन ल्याउने समूहमा रहेका चाइनिज नागरिक लुई (९८४१३–––८५) , दाओजिन वाङ (९८०१–––९८), लोकेन्द्र पौडेल (९८१३––––४८), खुवाप्रसाद न्यौपाने (९८४१––––६४), राहुल महरा (९८५११–––८८) समेतको सम्पर्क, कृष्णबहादुर महरा (९८५११–––८८) र मुक्तिप्रसाद श्रेष्ठ (९८५७०–––८२) आपसी सम्पर्कमा रहेको तथा यो समूहले सुन बेचबिखन गर्ने समूहसँग पनि सम्पर्कमा रहेको र निजीहरू आ–आफ्नो आपराधिक जिम्मेवारीबमोजिम खटिएको देखिन्छ ।’ तर २७ असारमा मुद्दा दायर गर्दा महरा बाबुछोरालाई अस्वाभाविक रूपमा छुटाइएको छ ।
भेप लिलामीमा किन्न खोजेको आरोपमा पाँच आरोपीलाई जिल्ला अदालत काठमाडौंले थुनामा राखेर मुद्दा चलाउने आदेश दिएको छ । न्यायाधीश दीपक ढकालको इजलासले आरोपी ९ मध्ये वर्ष ३९ का भारतीय नागरिक साहेब राव पाण्डुरङ मरग, त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका नायब सुब्बा २७ वर्षीय रेवन्त खड्का, काठमाडौं भोटेबहाल बस्ने ५४ वर्षीय वेदप्रकाश अग्रवाल, कागेश्वरी मनहराका ३२ वर्षीय दिनेश बस्नेत र पोखरा गैह्रापाटनका २२ वर्षीय निर्मलकुमार विकलाई थुनामा राख्ने आदेश गरेको हो । उनीहरू सबै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी हुन लाग्दा जफत भएको सुन गैरकानुनी रूपमा बेचबिखन गर्ने गिरोहका सदस्य हुन् ।
भेप प्रकरणपछि बाहिरिएको क्विन्टल सुन प्रकरणमा पनि माओवादी नेताहरूमाथि प्रश्न उठेको छ । पछिल्लो सुन प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, उनका छोरा दीपेश पुन, माओवादी उपमहासचिव वर्षमान पुन र उनकी पत्नीसमेत रहेकी पूर्वसभामुख ओनसरी घर्तीसँग चिनजानका व्यक्ति हुन् । नन्दबहादुर र वर्षमानको परिवारसँग दावाको पारिवारिक जमघट र भेटघाटका तस्बिर सार्वजनिक भइसकेका छन् ।
यद्यपि सँगै खाना खाएको र फोटो खिचाएकै आधारमा कारोबारमा समेत संलग्न भएको भन्नु अन्याय हुने भन्दै नेता पुनले सम्पूर्ण अनुसन्धान गर्न र दोषी सबैलाई कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको पार्टी पदाधिकारी बैठकमा विशेष समय लिएर बोल्दै उनले तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग कुनै सम्बन्ध नरहेको स्पष्टीकरण दिए । आफ्नो गृहजिल्ला रोल्पा थवाङकी पार्टी कार्यकर्तासमेत रहेकी सहिद परिवारकी अमला रोकाले दावासँग विवाह गरेको र अमलाले आफूसँग चिनजान गराउन एक पटक डेरामा लिएर आएको प्रस्टीकरण उनले दिएका छन् । ‘दावा पक्राउ परेपछि आठ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको सामूहिक तस्बिरलाई अहिलेको घटनासँग जोडेर प्रचार भयो,’ पुनले भने, ‘यो मेरो सार्वजनिक छविमाथिको आक्रमण र चरित्र हत्या हो ।’ छानबिनमा दोषी देखिए आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको र अरू नेता पनि तयार हुनुपर्ने बताए ।
दावाले रोल्पाकी अमला रोकासँग विवाह गरेर नेपालमै तस्करीको सेल्टर बनाएको देखिन्छ । यही नाताबाट नेपालमा अपराधको जालो फैलाएका दावाले तस्करीको धन्दा चलाउनकै लागि फर्जी विवरण पेस गरेर दोहोरो नागरिकता र राहदानी लिएको देखिन्छ । अमला माओवादीनिकट भएको र तस्करीमा संलग्न दावाको सम्पत्ति व्यवस्थापनका लागि उनलाई प्रयोग गरिएको अनुसन्धान अधिकारीहरू बताउँछन् । अमलामार्फत दावाले पूर्वउपराष्ट्रपति पुन र माओवादी नेता वर्षमान दम्पतीसँग सम्बन्ध बढाएका थिए ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणका आधारमा जोसुकै भए पनि कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाए । उनले सुन तस्करीमा पक्राउ परेका आरोपितको राजनीतिक पहुँचलाई पनि विभागले अनदेखा नगरेको बताए । ‘यो विषयलाई हामीले अनदेखा गरेका छैनौं । तस्करीमा संलग्नमाथि अनुसन्धान भइरहेको छ, तथ्य र प्रमाणले जहाँ–लैजान्छ, त्यहींसम्म जान्छौं । त्यसका लागि राज्यका सबै निकायबाट अनुसन्धानमा साथसहयोग चाहिन्छ ।’
सुन प्रकरणमा जोडिएका केही व्यक्ति माओवादी नेतासँग सम्पर्कमा रहेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नेदेखि निष्पक्ष छानबिन वा न्यायिक समिति बनाउनुपर्ने अडान लिएर सदन अवरोध गर्दै आएको छ । सत्तारूढ दलका नेतासमेत जोडिएको विषयमा सरकारबाट निष्पक्ष अनुसन्धान नहुने भन्दै एमालेले संसदीय उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै लगातार प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आइरहेको छ ।
संसदीय समिति गठनमा सरकार सकारँत्मक देखिँदैन । दुवै पक्षको अडानसँगै मंगलबार पनि संसद् बैठक हुन सकेन, बैठक एक साताका लागि सारिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
