FLASH NEWS
  • Loading...

पहिरोले बेनी–जोमसोम सडकमा दुई दिनदेखी यातायात अवरुद्ध

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३०७ पटक पढिएको
पहिरोले बेनी–जोमसोम सडकमा दुई दिनदेखी यातायात अवरुद्ध

रघुगंगा गाउँपालिका, २ बैंसरीमा खसेको पहिरोले बेनी–जोमसोम सडकमा २ दिनदेखी सोझो याातायात अवरुद्ध भएको छ ।
पहिरोले यातायाात अवरुद्ध भएपछि मुस्ताङ भ्रमणमा आएका भारतिय, तेस्रो मुलुकका पर्यटक समेत सयौं यात्रु विच बाटोमा अलपत्र परेका छन । यातायात अवरुद्ध हुँदा भारतको हैदरावादबाट मुक्तिनाथ दर्शन गर्न आएका ४२ जना र इजरायलबाट मुस्ताङ भ्रमणमा आएका १४ जना पर्यटक विहानै देखी बेनी–जोमसोम सडकको गलेश्वर–बैसरी खण्डको जंगलमा अलपत्र परेको बताएका छन ।
‘विच बाटोमा आएर पहिरोमा रोकिएका छौं । हिजोदेखी नै पहिरोले यातायात अवरुद्ध रहेछ, हामीले शहरमा यो जानकारी पाएको भए, हामीजस्ता पर्यटकले सास्ती खेप्नु पर्ने थिएन । यात्राबाट हतोत्साही हुनु पर्ने थिएन’ भारतको हैदरावाटबाट आएका पर्यटक रमेश खेतानले भने, ‘पहिरो ठूलो छैन तर निरन्तर ढुङ्गा खसिरहेको छ । नजिकै कतै पहिरो पन्छ्याउने डोजरहरु पनि देख्दैनौं । अघि जाने कि फर्कने दोधारमा छौं ।’
जिल्ला प्रहरी कार्यालयका अनुसार बेनी–जोमसोम सडकको बैंसरी, तातोपानी र दाना क्षेत्रमा पानी पर्‍यो भने पहिरोले यातायात अवरुद्ध हुने निश्चित नै हुन्छ । ‘बैंसरीको पहिरो पहाडको टुप्पोबाट खस्ने भएकोले बृहत रोकथामको योजना नबनाई पहिरो रोकिने देखिन्न’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक मदन कुँवरले भने, ‘बेनी–जोमसोम सडकमा खास काम नभै यात्रा नगर्नु उत्तम हुन्छ । र यो सडकमा आउनु पूर्व जानकारी लिएर मात्र निक्लनु उपयुक्त हुन्छ ।’
गत साउन १० गते विहान ५ बजे यही पहिरोमा काठमाण्डौबाट मुस्ताङ्गकोलागी २७ जना यात्रु लिएर आएको ध १ प ९६५६ नम्बरको रात्री बस पहिरोमा फस्यो । चालकले बसलाई भित्तामा जोत्न भ्याएकोले मानवीय क्षति हुन पाएन । वैसरीको यो पहिरो पहिलो पटक खसेको हैन । हरेक बर्ष मनसुन सरुभएसँगै बैसरीमा पहिरोले यात्रु र चालकलाई दुख दिने गरेको छ ।
‘बेनी–जोमसोम–कोरोला सडकको बेनी–घाँसासम्मको ४० किमी खण्डमा बर्षेनी पहिरोले दुख दिएकोले चालु आर्थिक बर्षमा बेनी–जोमसोम सडकमा पर्ने १० वटा पहिरोको विस्तृत अध्ययन गर्ने योजना छ’ कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख जगत प्रजापतिले भने, ‘बेनी–जोमसोम–कोरोला सडकको ट्रयाक पहिल्लै खुलेपनि विस्तार तथा स्तर उन्नत गर्ने कामको डिपिआर भने ०७२ सालमा बनेको हो । पहिरोले सवैभन्दाबढी सास्ती दिएको बैंसरी पहिरोबारे ०७२ सालको डिपिआरमा कतै उल्लेख नै छैन । डिपिआर र बजेट विना कसरी नयाँ क्षेत्रमा काम गराउने ? नयाँ पहिरोको रुपमा अध्ययन गर्ने सोंचमा छौं ।’
त्यसैविच सदरमुकाम बेनीदेखी १२ किलोमिटर उत्तर बेनी–जोमसोम सडक खण्डको बेगखोलामा पुल नहुँदा यात्रुले भेलमा हेलिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन ।
बेगखोलामा मोटरपुल मात्र होईन कर्ल्भट नबन्दा मोटरसाईकल, साना सवारी मात्र होईन ठूला वसहरुले पनि सास्ती खेप्नु परेको छ । बर्खायाममा बेगखोलामा पानीको सतहको हृवाक्तै बढ्नेहुँदा असोज नलागी मोटरसाईकल वा साना सवारी लिएर बेनी–जोमसोम यात्रामा निक्लन यात्रा गर्नु जोखिमयुत्त छ ।