FLASH NEWS
  • Loading...

म्याग्दीमा ९ वटा झोलुङ्गेपुल बने, ९ वटा निर्माणाधिन

  • पुनहिल डट कम
  • १ साल अघि
  • ६२० पटक पढिएको
म्याग्दीमा ९ वटा झोलुङ्गेपुल बने, ९ वटा निर्माणाधिन

म्याग्दीमा चालु आर्थिक बर्षमा विभिन्न पालिकामागरी ९ वटा झोलुङ्गे पुल निर्माण भएका छन । थप ९ वटा झोलुङ्गे पुल निर्माणाधिन रहेका छन ।
स्थानीय पालिकाहरुसँगको साझेदारीमा झोलुङ्गे पुल निर्माण गरिरहेको गैहृसरकारी संस्था मिलनका अनुसार चालु आवमा मालिका गापाको दाङ्गा, सिस्नेरी, फुलवारी र माज्मामा दुई वटागरी ५ वटा, रघुगंगा गापाको बेग र कुईनेमंगले तथा बेनी नगरपालिका, ३ भकिम्लीको चिनाखेत र ठूलोखोलामा झोलुङ्गे पुल निर्माण पुरा भएका हुन ।

त्यस्तै, मालिका गापाकाे दरवाङ र दाजुङखाेला, मंगला गापाकाे पीपलवाेट, धवलागिरी गापाकाे म्याग्दीखाेला र खाेलाखर्क, रघुगंगा गापाकाे खाेस्रेखाेला, बेनी नगरपालिका, ७ काे म्याग्दीखाेला र अन्नपूर्ण गापाकाे दाेविल्ला र ठुलाेखाेलामा झाेलुङ्गेपुल निर्मणाधिन रहेका छन । यी ठाउँमा निर्माणाधिन पुल असार १५ गतेसम्म ३० देखी ६५ प्रतिशतसम्म सम्पन्न भएकाे मिलन संस्थाले जनाएकाे छ । टिभिएसयु मार्फत स्थानीय सरकारले प्राप्त गर्ने बजेटबाट सामाजिक तथा प्राविधिक सहयाेग गर्ने गरी मिलनलाइ झाेलुङ्गे पुल निर्माण जिम्मा दिने गरिएकाे छ ।
मिलन संस्थाका अनुसार एक सय मिटर लामो झोलुङ्गे पुल निर्माण गर्न सरदर ४ सय श्रम दिन लाग्छ । कुल श्रमदिन मध्य २२ प्रतिशत दक्ष कामदार, १६ प्रतिशत अर्धदक्ष कामदार, अदक्ष कामदार ५० प्रतिशत र ढुवानी/भरिया १२ प्रतिशत लाग्छ । स्थानीय मजदुर प्रयोग गरिने भएकोले झोपु निर्माणदेखी नै प्रत्यक्ष आर्थिक लाभ लिन सक्छन ।
‘सरकारले उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्ष र मिस्त्रीलाई छुट्टाछुट्टै तालिम दिने भएकोले एउटा झोलुङ्गे पुलले पुर्‍याउने दिर्घकालिन लाभ बाहेक स्थानीयले तत्काल सीप तथा नेतृत्व विकासको अवसर प्राप्त गर्छन’ मिलन म्याग्दीकी कार्यकारी निर्देशक दिलमायाँ विटालुले भनिन, ‘झोलुङ्गे पुलले धेरै वस्ती बजार बनेका छन । झोलुङ्गे पुलबाट मान्छेलाई मात्र होईन भेडा गोठ समेत पशुचौपायालाई समेत लाभ पुगेको छ ।’


झोलुङ्गे पुलको क्षेत्रमा १८ बर्षदेखी काम काम गरिरहेको गैहृसरकारी संस्था मिलनको अभिलेख अनुसार जिल्लामा विभिन्न नदी तथा खोलामा २ सय ८३ वटा झोलुङ्गे पुल रहेका छन । जसमध्य सवैभन्दाबढी धवलागिरी गापामा ७५ वटा, रघुगंगा गापामा ४७ वटा, अन्नपूर्ण गापामा ६५ वटा, मालिका गापामा ४७ वटा, मंगला गापामा २७ वटा र सवैभन्दा थोरै बेनी नगरपालिकामा २२ वटा झोलुङ्गे पुल रहेका छन ।
चालु झोपु मध्य सुरक्षित झोपु संख्या ८७ वटा मात्र हुन । बृहत मर्मत गर्नु पर्ने अवस्थाका २१ वटा झोपु छन । अति जोखिमपूर्ण अवस्थाका झोपुको संख्या ४७ वटा छन । जिल्लामा निर्माण भएका झोपुमध्य केही प्रयोगहीन बनेका पनि छन । ती पुलमा प्रयोग भएका लठ्ठा, स्टील फलेक समेतका सामाग्री अन्यत्र प्रयोग गर्न सकिने भएपनि पुनःउपयोग हुन नसकदा ती पुल खेर गैरहेको छ ।
एक सय ५० बर्ष अघि निर्मित बेनीको म्याग्दी खोलामाथी निर्मित मंगलाघाट झोपु मात्र होईन सडक विस्तार तथा मोटरपुल निर्माणपछि धवलागिरी गापाको मुना, बेनी नगरपालिकाको रत्नेचौर, गलेश्वर, मंगलाघाट, मसार, अन्नपूर्ण गापाको नारच्याङ र महभीर झोपु पूर्ण प्रयोगहीन छन । त्यस्तै, जोखिमपूर्ण र मर्मत गर्नु पर्ने मोटरपुल पनि नजिकै मोटरवाटो पुगेपछि आक्कल झुक्कल मात्र प्रयोगमा आउने भएकोले मर्मत संभार गरिएका छैनन ।


‘हामीले नै दुई बर्ष अघि झोपुको अभिलेख राखेका हौं । त्यसयता अझ धेरै झोपु मोटरबाटोले विस्थापित भएका छन’ मिलनकी कार्यक्रम संयोजक विटालुले भनिन्, ‘प्रयोगहीन अवस्थामा पुलका लठ्ठा र स्टील डेक झिकेर अन्यत्र प्रयोग गर्न सकिन्छ । तर सरोकारवालाको ध्यान पुगेको छैन ।’
जिल्लामा १ सय २० मिटर भन्दा छोटो तरीका झोलुङ्गे पुलहरु लठ्ठा, स्टील टेक समेत पार्टस, प्राविधिकसमेत ८५ प्रतिशत टिविएसयुको सहयोग तथा १५ प्रतिशत स्थानीय पालिकाको सहयोगमा निर्माण हुन्छन । छोटो तरीका झोलुङ्गे पुलमा प्रदेश सरकारको प्रादेशिक झोपु सहयोगी निकाय (पिटिएबी)को साझेदारीमा पनि स्थानीय सरकारले बनाउने गरेका छन । प्रदेश सरकारको सहयोगमा पछिल्ला तीन वर्षमा दुई वटा झोपु निर्माण गरेको छ ।
त्यस्तै १ सय २० माथिका सवै लामा झोपुहरु संघिय सरकारले सोझै ट्रेलव्रिज सपोर्टको प्राविधिक सहयोगमा सम्पन्न हुने गरेका छन ।
‘जिल्लामा धेरै बर्ष अघिदेखी झोपु निर्माण भैरहेका छन । ति पुलहरु कति जीर्ण भए होलान, कति बाढीपहिरोले बगाए होलान । कति मोटरबाटोले विस्थापित भए होलान । स्थानीय तहबाट सवै डटा अध्यावधी भएको छैन’ जिल्लामा झोलुङ्गे पुल हेर्न प्राविधिक कार्यालयको झोपु प्राविधिक अधिकृत दयाराम साहले भने, ‘संघ र स्थानीय तहले निर्माण गर्ने झोपुको अभिलेख हामीसँग छैन । हामी मातहत तीन वर्षमा दुई वटा बने, एउटा टेण्डर प्रकृयामा छ ।’


खोला वा नदीको साँघुरा घाँटी खोजेर बनाईने झोलुङ्गे पुलले समाजको फेरिदो आवश्यकतालाई जोड्न छोडेपछि छोटा झोलुङ्गे पुलले स्वरुव फेर्न थालेका छन । छोटा पुल विस्थापित गर्दै लामा र अग्ला झोलुङ्ग बनाउने लहर नै चलेको छ ।
राज्य पुनःसंरचनासँगै गाउँपालिका केन्द्र तर्फ सोझिएर पूर्वाधार विकास हुन थालेका छन । मोटरबाटो गाउँवस्ती उक्लेसँगै नयाँ वस्ती विस्तार हुन थालेका छन । पुराना वजार ओझेल परेसँगै परम्परागत घोडेटो/गोरेटो बाटो तथा झोलुङ्गे पुल विस्थापित हुने र नयाँ वस्ती र बजारसँग जोडिन कहिल्यै झोलुङ्गे पुल आवश्यक नठानिएका स्थानमा पनि पुलको माग बढ्न थालेको हो ।
झोलुङ्गे पुलले नदी वारपार गर्न, शिक्षा, श्वास्थ्य वजार पहुँच, विभिन्न सेवा लिन सजिलो हुनुको साथै गाउँहरुलाई आर्थिक, सामाजिक विकासमा सकृय पार्न सहयोग पुर्‍याएको छ । परम्परादेखी हिंडेर तर्न नसक्ने नदी वा खोलामा हिउँदे फड्के वा साँघुको स्थाई विकल्पको रुपमा झोलुङ्गे पुल बनेका हुन । खोलाको वल्लो र पल्लो किनारामा साङ्लो झुण्डाएर (झोलुङ्गो ) बनाईएकोले झोलुङ्गे पुल भनिएको हो ।
‘झोलुङ्गे पुल अक्करे भीरको टुप्पोमा छरिएका वस्तीलाई सहज जोड्ने भरपर्दो र सहज माध्यम हुन’ अन्नपूर्ण गाउँपालिका उपप्रमुख दीवाकुमारी तिलिजाले भनिन, ‘दुर्गम बस्ती जोड्ने झोलुङ्गे पुलले गाउँलेको जीवनमा मात्र होईन पर्यटन क्षेत्रलाई पनि सहज र सुरक्षित बनाएको छ ।’