FLASH NEWS
  • Loading...

प्रचण्डको ज्वाईं अर्थमन्त्री

  • पुनहिल डट कम
  • १ साल अघि
  • ८६ पटक पढिएको
प्रचण्डको ज्वाईं अर्थमन्त्री

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दा नेकपा माओवादी केन्द्रबाट  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ जीवन आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनी अघिल्लो सरकारमा पर्यटन, वन तथा वातावरण मन्त्री थिए ।

नेपाली कांग्रेसका नेता थापाले मुख्यमन्त्री नियुक्त भएको (२१ असारमा) तीन दिनमै आचार्यलाई शक्तिशाली मन्त्रालयको जिम्मेवारी दिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ रहेका आचार्यले बढुवासहित मन्त्रीको अवसर पाउँदा माओवादीभित्र चर्को असन्तुष्टि देखिएको छ ।

उदयपुर–२ (१) बाट निर्वाचित सांसद नारायण बुर्जा मगरले राजीनामाकै चेतावनी दिएका छन् । माओवादीमा दोहोर्‍याएर चुनाव जित्ने थोरै नेतामा उनी पर्छन् । तर पहिलोपटक प्रदेशसभा सदस्य जितेका आचार्यलाई दोहोर्‍याएर रोजाइको मन्त्री बनाउने निर्णयप्रति मगरले असन्तुष्टि जनाएका छन् ।

स्रोतका अनुसार, आचार्यसँगै मगरको नाम पनि मन्त्री बन्ने सूचीमा थियो । आइतबार मन्त्रिपरिषद् विस्तार हुँदा भने मगरको नाम काटिएर माओवादीबाट  जीवन आचार्यले शपथ लिए ।

माओवादी केन्द्रका एक नेता भने प्रधानमन्त्री प्रचण्डमा हद तहको परिवार लिप्सा देखिँदा जीवन आचार्य शक्तिशाली मन्त्री बन्न पुगेको तर्क गर्छन् । तर प्रचण्ड आफै ज्वाईंलाई अवसर दिने पक्षमा उभिएपछि माओवादीका अरु नेताको चाहनाले काम गरेन । प्रचण्डकी छोरी गंगासँग विवाह गरेपछि पार्टीमा लागेका जीवनलाई २०७४ कै चुनावमा टिकट दिइएको थियो ।

ज्वाईंलाई उम्मेदवार बनाउन प्रचण्डले कांग्रेससँग प्रतिनिधिसभा निर्वाचन क्षेत्रकै टिकट साटेका थिए ।

प्राथमिकतामा परिवार

कुनै बेला आफूलाई कट्टर पहिचानवादी नेता बताउने प्रचण्डले प्रदेशको नामकरण कोशी राख्ने निर्णय लिनु र ज्वाइँलाई लगातार मन्त्री बनाउने निर्णय लिनुले मात्रै परिवार मोहको आरोप खेप्नु परेको होइन । ज्वाईं जीवन त प्रचण्डमा परिवार मोह रहेको देखाउने पछिल्लो उदाहरण मात्रै हुन् ।

यसअघि छोरी रेनुलाई भरतपुर महानगरको मेयर बनाउने निर्णयका कारण प्रचण्डले ठूलो आलोचना खेपेका थिए । कांग्रेससँग गठबन्धन गरेर २०७४ को स्थानीय चुनावमा रेनुलाई भरतपुर महानगरको मेयर पदमा उम्मेदवार बनाएको माओवादीले जवाफै दिन नसक्ने परिस्थिति खेप्नुपरेको थियो ।

पहिलोपटक कांग्रेससँग चुनावी गठबन्धन गरेकाले माओवादी कार्यकर्ताले रुख चिह्नमा र कांग्रेसले माओवादीलाई भोट हालेका थिए । यति गर्दा पनि रेनुलाई जित्न कठिन परेको थियो ।

रेनुलाई जिताउन मतपत्र च्यातेको दृष्य संसदीय अभ्यासकै निर्लज्ज घटना बन्यो । तिनै रेनु २०७९ को चुनावबाट मेयर दोहोरिएकी छन् । अर्की छोरी गंगाको कारण पनि प्रचण्ड उत्तिकै आलोचित छन् । प्रचण्ड प्रधानमन्त्री हुँदा स्वकीय सचिवका रुपमा गंगाले देखाइरहेको भूमिकालाई लिएर माओवादीभित्रै असन्तुष्टि छ ।

प्रधानमन्त्री प्रचण्डको (गत १७–२० जेठमा) भारत भ्रमणका क्रममा देखिएको गंगाको भूमिकालाई लिएर विपक्षी दलहरुले संसदमै कुरा उठाएका थिए । भारतीय अधिकारीहरुसँग कुरा गर्दा परराष्ट्र मन्त्री वा सचिव नराखी छोरी गंगालाई राखिएको भन्दै प्रधानमन्त्रीसँग प्रश्न गरिएको थियो ।

समकक्षी नरेन्द्र मोदीसँग वार्ताअघि १७ जेठ साँझ प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्रासँग भेटेका थिए । त्यो भेटमा प्रचण्डसँग छोरी गंगा मात्रै थिइन् ।

दुई छोरी र ज्वाईं जीवन मात्रै नभएर प्रचण्डले भाइ नारायण दाहाललाई पनि सुविधाको पद दिएका छन् । रामनारायण बिडारीको चार वर्षे कार्यकाल सकिएपछि २५ फागुन २०७८ मा नारायण दाहाल राष्ट्रियसभा सदस्य मनोनित भएका थिए ।

मन्त्रिपरिषदको सिफारिसमा दाहाल राष्ट्रियसभा सदस्य मनोनित हुँदा पनि प्रचण्डको परिवार मोहप्रति आलोचना भएको थियो । तर त्यसबेला प्रचण्डले कुनै जवाफ नदिए पनि भाइ नारायणले प्रतिवाद गरेका थिए । ‘मेरो दाबी छ, यस्तै बाहिरका कुराले मैले जति अवसरहरु पाउनुपर्ने हो, त्यो गुमाएको छु’, शपथपछि नारायण दाहालले भनेका थिए ।

बुहारी बिना मगरलाई पनि प्रधानमन्त्री प्रचण्डले परिवारका अरु सदस्य जत्तिकै महत्वका साथ अवसर दिएका छन् । तर गठबन्धनको उम्मेदवार बन्दा पनि बिना कञ्चनपुर–१ बाट पराजित भइन् । एमाले उम्मेदवार तारा लामासँग बिना पराजित भइन् ।

२०७४ को चुनावमा भने उनी यही क्षेत्रबाट जितेकी थिइन् । पहिलोपटक चुनाव जित्नासाथ बिना खानेपानी तथा सरसफाइ मन्त्री भइन् । ३ जेठ २०७५ मा एमालेसँग माओवादीको एकता भएपछि बिनाको मन्त्री पद लगभग स्थायी जस्तै थियो ।

माओवादीबाटै मन्त्री भएका अरु नेताको जिम्मेवारी हेरफेरदेखि पदमुक्त भइरहँदा बिना ढुक्कले मन्त्री रहिरहिन् । ५ पुस २०७७ मा केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि तत्कालिन नेकपामा प्रचण्ड र माधव नेपाल पक्षका सात मन्त्रीले सामूहिक राजीनामा दिंदा मात्रै उनी सरकारबाट बाहिरिएकी थिइन् ।