- Loading...
कालीगण्डकीमा नदीजन्य पदार्थ पुप्रिदा मुस्ताङका बस्ती जोखिममा
- पुनहिल डट कम
- १ साल अघि
- १७३ पटक पढिएको
|SONY DSC
देशभरका नदीनालाबाट भइरहेको नदीजन्य पदार्थ उत्खननले बस्ती जोखिममा परेका बेला हिमालपारि भने ठीक उल्टो अवस्था रहेको छ । नदीजन्य पदार्थको अनावश्यक थुप्रो लाग्दा छेउका खेतीयोग्य जमिन र बस्ती जोखिममा परेका छन् । बालुवा र गिटीले बनेको हिमाली सुख्खा उपत्यका र पठार रहेको मुस्ताङमा कालीगण्डकी नदीको बीचमा गिटी, बालुवा थुप्रिँदै गएपछि बाढीले तटीय क्षेत्रका खेतीयोग्य जमिन र बस्ती संकटमा पर्न थालेका हुन् ।
कालीगण्डकी नदी किनारामा अवस्थित थासाङ गाउँपालिकाको टुक्चे, कोवाङ, चिवाङ, सौरु, घरपझोङ गाउँपालिकाको मार्फा, स्याङ, जोमसोम, पुथाङसमेतका बस्ती र बाह्रगाउँमुक्ति क्षेत्रको कागबेनी, छुक्साङ क्षेत्रमा गिटीबालुवाको गेग्रान जम्मा भई सतह माथि उठ्दा कालीगण्डकी नदीको पानी बस्तीमा पस्न थालेको हो । नदी कटानले मुस्ताङमा बर्सेनि सयौं रोपनी स्याउ, ओखरसमेतका फलफूल, फापर, जौ, उवा, आलुबारी नष्ट हुँदै गएको छ ।
कालीगण्डकी नदीले खेतीयोग्य जमिन र बस्ती कटान रोक्न बर्सेनि जाली भर्ने र हिमनदीको गेग्रानले पुर्दै गर्दा पछिल्ला २०–२५ वर्षमा नदीको सतह ७ मिटरसम्म अग्लो भएको स्थानीयले बताएका छन् । कालीगण्डकीको सतह यसरी नै माथि चढ्ने हो भने आगामी १० वर्षमा मुस्ताङ सदरमुकाम जोमसोम, टुक्चे, कोवाङ, सौरु, धम्पुसमेतका बस्तीको अस्तित्व नासिने खतरा रहेको भन्दै स्थानीय चिन्तित छन् ।
‘जोमसोमको मुक्तिनाथ बसपार्कनजिक कालीगण्डकी नदीमा तटबन्ध गर्न फाउन्डेसन खन्दा २.५ मिटर तल ग्याभिन भेटियो । यसरी कालीगण्डकीमा सतह माथि चढ्दै गएको छ,’ घरपझोङ–२ मार्फाका किसान सुशीलबाबु थकालीले भने, ‘पहिलापहिला मुस्ताङमा पानी पर्ने थिएन तर पछिल्लो एक दशकयता अस्वभाविक ठूलो र लामो समय पानी पर्ने र लुप्राखोला, ठिनीखोला, मार्फा खोलाजस्ता ठाडो खोलामा बाढी आउँदा बगाएर ल्याएको डेब्रिज तल कालीगण्डकीमा थुपार्ने गरेको छ ।’
बर्सेनि कालीगण्डकी नदी बगर छोडेर खेतीयोग्य जमिन भत्काउँदै बस्ती पस्न थालेकाले सयौं हेक्टर खेतीयोग्य जमिन बगर भइरहेको उनले बताए । मुस्ताङको लेतेदेखि माथि छुक्साङसम्मका कालीगण्डकी नदीकिनारका बस्ती र खेतीयोग्य उर्बर जमिन नदी कटानको जोखिममा छन् ।
कालीगण्डकी नदीले बनाएको फराकिलो ढुङ्गे बगरको क्षेत्रफल बर्सेनि बढ्दै जाँदा उर्बर खेतीयोग्य जमिन र मिलेका बस्ती संकटमा पर्न थालेका हुन् । मुस्ताङमा कालीगण्डकी धेरै फराकिलो भएर बग्छ । समथर र फराकिलो भई बाँडिएकोले कालीगण्डकीको गति घट्ने भएकोले डेब्रिज बगाउन सक्दैन ।
‘नदी दुई प्रकारका छन्, डिग्रेडिङ (बगाउने) र एग्रेडिङ (थुपार्ने) । मुस्ताङमा कालीगण्डकी एग्रेडिङ खालको छ । गिटीबालुवाको नाङ्गा पहाडबाट हिमाली ठाडो खोलाले अधिक मात्रामा डेब्रिज बगाएर ल्याएको हुन्छ । डेब्रिज कालीगण्डकीले बगाएर लैजान नसकेपछि बर्सेनि झन्झन् थुप्रँदै गइरहेको छ,’ खानेपानी, जलस्रोत तथा सिँचाइ सब–डिभिजन कार्यालय मुस्ताङका सूचना अधिकारी कल्याण पौडेलले भने, ‘जलवायु परिवर्तनको कारण छायाँवृष्टि हुने मुस्ताङमा बढ्दै गएको वर्षाको मात्राले गिटीवालुवाको पहाड झन् स्खलित हुँदैछ ।’
अबका दिनमा गेग्रान थुप्रिने क्रम बढ्नसक्ने उनको भनाइ छ । ‘मुस्ताङले अहिले कालीगण्डकीमा सतह बढ्ने जुन समस्या सामना गरिरहेको छ, अबका दिनमा झन तीव्र हुनेछ । जलवायुसँग अनुकूलन हुन, हिउँ, हिमाल, हिमाली खोला र नदी समेतका एकीकृत संरक्षण योजना आवश्यक छ ।’
तलबाट मुस्ताङ छिर्दा दाहिनेपट्टि नीलगिरि साउथ र नर्थ तथा देब्रेपट्टि धवलागिरि र टुक्चे हिमालबाट लेते, सेते, घट्टे, लाइक्यु, थापा, चिमाङ, तम, टुक्चे, मार्फा, स्याङ, लुप्रा, ठिनी, पाण्डा, झोङ, नरसिङ, साङ्तासमेतका ठाडा हिमनदी कालीगण्डकीमा मिसिन आएका छन् । हिमालमा सँधै हिउँ पर्दैन । मनसुनमा हिमालमा पानी पर्छ । पानी परेपछि हिमनदी पग्लेर बलौटे पहाडबाट पहिरो बनाई गेग्रान लिएर बग्छ ।
‘डेब्रिजको डिपोजिटले निम्त्याएको समस्याको दीर्घकालीन समाधान खोज्न कालीगण्डकी नदीको बायोडाइभसिटी र विस्तृत वातावरणीय प्रभाव मूल्यांकन अध्ययन आवश्यक छ,’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुख अशोक सुवेदीले भने, ‘तत्कालका लागि नदीजन्य पदार्थ उत्खनन गर्न राष्ट्रिय निकुञ्ज ऐन तथा संरक्षण नियमावलीसमेतका ऐन–नियम बाधक छन् । तर तत्कालका लागि हेभी इक्युपमेन्ट लगाएर नदीको धार परिवर्तन गराउन र अति जोखिम क्षेत्रमा स्थानीय पालिकाअन्तर्गतका विपद् व्यवस्थापन समितिको निर्णयले नदीजन्य पदार्थको व्यवस्थापन गर्न सक्छन् ।’
एक्याप जोमसोम कार्यालयका अनुसार मुस्ताङमा कालीगण्डकी नदीमा थुप्रिएर समस्या भएको डेब्रिज उत्खनन गरे पनि खपत गर्ने क्षमता नहुनु अर्को समस्या हो । बढी भएको नदीजन्य पदार्थ उत्खनन गरी खपत गर्ने मुस्ताङमा ठूला पूर्वाधार योजना पनि छैनन् । नदीजन्य पदार्थमा आधारित उद्योग र निकासी गर्ने नजिकै बजार पनि छैन । त्यसैले साँघुरा घाँटी परेको भाग काटेर डेब्रिज बगाउने विकल्प अर्को सानो उपाय हो ।
नदीमा जम्मा भएको डेब्रिज व्यवस्थापनका लागि कानुन बनाउन आफूले पहल गरे पनि सफल नभएको पूर्वसांसद प्रेमप्रसाद तुलाचन बताउँछन् । सूचना अधिकारी पौडेलका अनुसार मुस्ताङको कालीगण्डकी नदीलाई डाइभर्सन गरी बगरको बीचमा बगाउने, झिकेको डेब्रिजलाई छेउछेउमा जालीले घेरेर ढिस्को बनाउने, नदीको साँघुरो घाँटी परेको ठाउँलाई काटेर ठूलो बनाउने र डेब्रिजलाई बग्नसक्ने बनाउने तथा नदीको बीचबाट झिकेको डेब्रिजलाई जोगाउन घाँस लगाई माटो संरक्षण गर्न सकिन्छ । तर त्यसका लागि संघीय सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ । *समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।