- Loading...
अाहा ! ‘फुच्चे गुराँस’
- पुनहिल डट कम
- १ साल अघि
- ३२४ पटक पढिएको

म्याग्दीको मौरिस हर्जोग पदमार्ग हुँदै अन्नपूर्ण प्रथम, नीलगिरि नर्थ र तिलिजो पिक हिमालको साझा आधार शिविर जाने जोकोहीलाई यतिबेला पाखाभरि ढकमक्क फुलेको फूलले लोभ्याउँछ । हुमखोलाको २८ सय ८३ मिटर उचाइदेखि झस्केटमेलाको ३५ सय ५३ मिटरसम्मको उचाइ रहेको यो पदमार्गमा पर्ने मिस्त्रीखोला वारिपारिका पाखामा फूल फुलेका छन् ।
यो फूल नेपालमा पाइने ‘फुच्चे गुराँस’ हो । यो नेपालमा पाइने सानो आकारका गुराँसमध्येको ‘रोडोडेन्ड्रन कोवानियनम’ प्रजातिको गुराँस हो । यो गुराँस नेपालको रैथाने गुराँस प्रजाति हो । यसअघि यो प्रजाति म्याग्दीसहित, मुस्ताङ,लाङटाङ र नेपालको मध्य तथा पश्चिम भागमा अभिलेख भएका छन् ।
यो एक झाडीधार वनस्पतिमा पर्छ । विशेषगरी नेपालको धवलागिरि हिमालीको दक्षिणदेखि लाङटाङ र गोसाइँकुण्ड क्षेत्रसम्मका ३ हजारदेखि ४ हजार मिटरसम्मको उचाइमा पाइने अभिलेख छ । आधा मिटरदेखि ३ मिटरसम्मको उचाइ हुने यो गुराँस फुलेको बेला पात सँगै निस्कने वनस्पतिविद् कमल मादेन बताउँछन् ।
लाङटाङ क्षेत्रमा यो गुराँसलाई किसुर भनेर पनि चिनिन्छ । अप्रिलदेखि जुन महिनामा फुल्ने यो गुराँस गुलाबी हुन्छ ।
रोडोडेन्ड्रन कोवानियनम र रोडोडेन्ड्रन लोन्डेसी नेपालमा मात्रै पाइने रैथाने गुराँस प्रजाति हुन् । यी नेपालबाहेक संसारका अन्य स्थानहरूमा रेकर्ड भएका छैनन् ।
वनस्पतिविद् मादेन यसअघि यो प्रजातिको गुराँसको पात मात्रै खिचेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४बाट फर्किएका थिए । सन् २०१९मा उनले फेला परेको दाबी गरे पनि फूलको तस्बिर थिएन । त्यतिबेला उनले पात चिनेकै आधारमा नयाँ प्रजाति भएको बताएका हुन् । उनले भने, ‘ मैले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा फेला पारेको बेला फूल फुलेको थिएन । अहिले फुलेकै अवस्थामा भेटिएको रहेछ । म एकदमै खुसी छु ।’
यस्तै म्याग्दीका पर्यटनकर्मी चित्र तिलिजाले यो प्रजातिको गुराँस धवलागिरि हिमाल पदमार्गमा पर्ने सल्लेरीदेखि माथि इटली क्याम्प पुग्ने क्षेत्रमा पनि फेला परेको दाबी गरे । यो प्रजातिका गुराँसको उचाइ डेढ मिटरसम्म हुने गरेको बताइए पनि सोभन्दा माथिसम्मको उचाइ रहेको पाइएको छ ।
यो प्रजातिको फूलको पातको वरिपरि झुस भएकाले चिन्न सजिलो भएको मादेनले जानकारी दिए । ‘यो महत्त्वपूर्ण जानकारी हो । म्याग्दीमा फूल फुलिरहेको अवस्थामा यसअघि अभिलेख भएको थिएन,’ मादेनले भने ।
सन् १९५०मा बेलायती वनस्पतिविद् ओलेग पोलुनिन नेपालमा अध्ययन गर्न आएको बेला यो प्रजाति लाङटाङबाट संकलन गरेका थिए । अध्ययन गर्ने क्रममा यो संसारकै लागि नयाँ प्रजातिको गुराँस भएकाले यसको नाम रोडोडेन्ड्रम कोवानियनम राखिदिएका थिए । उक्त नाम स्कटिस वनस्पतिविद् जोन म्याकक्विन कोवानको सम्मानमा राखिएको थियो ।
संसारमा गुराँसका हजारभन्दा बढी प्रजाति रहेका छन् । तीमध्ये नेपालमा ३३ प्रजाति पाइन्छन् । नेपालमा पाइने गुराँसमध्ये दुई वटा रैथाने हुन् । अरु अन्य मुलुकहरूमा पनि पाइन्छन् । इरिकेल्स अर्डरअन्तर्गत इरिकेसिया परिवारको रोडोडेन्ड्रोन जिनसअन्तर्गत पर्ने गुराँस चौडापाते र सदावहार वनस्पतिका रूपमा लिन्छ ।
गुराँसको आकार झाडीदेखि मझौला रुखसम्मको हुन्छ । केही प्रजाति ३० मिटरसम्म अग्लो हुने अध्ययनहरूले देखाएका छन् । रातो, सेतो, गुलाबी, पहेँलो, नीलो, बैजनी, सुन्तलालगायतका रंग भएका गुराँसका फूलहरू छन् । यो पानी नजम्ने तथा पातपतिंगर कुहिएर बनेको दोमट अम्लीय माटोमा पाइने गर्छ । यस्तै शीतोष्ण हावापानीमा खोलाको सेप परेको चिसो बालुवा तथा गेग्रान भएको स्थानमा उम्रने अध्ययनहरूले देखाएका छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
