- Loading...
पर्वताराेहणकाे इतिहाँस मार्ग छिचाेल्दा
- पुनहिल डट कम
- १ साल अघि
- २६१ पटक पढिएको
अन्नपूर्ण गाउँपालिका, ६ घार गाउँको शिरानमा पूर्वोत्तर फर्केको छ, मेरो जन्मघर । धर्तीमा टेकेर पर क्षितिजसम्मको कुनै वस्तु नियाल्ने हुँदा घरको झ्याल, दैलो वा आगनबाट मैले देखेका पहिला कुरा हुन, सामुन्ने ठिङ्ग परेका अन्नपूर्ण र निलगिरी हिमाल ।
घरबाट देख्दा अन्नपूर्ण हिमाल बाक्लो हिउँले जमेको बाकस जस्तो देखिन्छ । हामीले त्यो बाकसमा भगवानले केही लुकाएर राखेको भन्थ्यौं । कात्तिकमा खेतमा धान माडेपछि खलोमा अन्नपूर्ण हिमाल तर्फ फर्काएर लाम्चो धानको राशमा फुलपाती र हँसिया गाड्थे बाहरु ।
आवैं (हजुरआमा), आमाहरु अन्नपूर्ण–निलगिरी हिमालबाट राती आगोको राँको बालेका देवताहरु घरपरको भुमेथानमा आउँछन भनी कथा सुनाउँथे । चैत वैशाखमा उत्तरी हावाहुरी चल्थ्यो । कहिलेकाहीं ठूलो आवाज आउथ्यो, बाहरु हिमालमा पहिरो चल्थ्यो तव चसो सिरेटो आउँथ्यो । हिमालको सिरेटोले हान्छ, विरामी भईन्छ घरभित्र पस्नु पर्छ भन्थे वुढापाकाहरु ।
किसोरवयहुँदा गाउँको विचबाटो हुँदै हजारौं विदेशीहरु तल माथी (तातोपानी–घारेपानी) गर्थे । प्रायः सवै याम खालीखुट्टा हिंड्ने हाम्रालागी ठूलो झोला बोकेका, ठूलाठूला बुट लगाएका र लामा क्यामेरा बोकेका पर्यटक (गोरा) देख्दा कहाँ जान्छन होला भन्ने लाग्थ्यो । बाहरु यी घर अघिको तिनै हिमाल देखाएर यी गोराहरु त्यही हिमाल चढ्न आएका हुन भन्थे । तिनै निलगिरी–अन्नपूर्ण हिमालबाट बग्ने चिसो–सितल हावा खाँदै हुर्केको म वाल्यकाल छँदा हिमालमा जान पाए, हिमालको चुचुरोमा चढ्न पाए कस्तो हुँदो हो भन्ने लाग्थ्यो ।
पढ्दै, वुझ्दै जाँदा बल्न लाग्यो, मान्छेको मनलाई आनन्द दिने उपायहरु मध्य भ्रमण सर्वाधिक शक्तिशाली उपाय रहेछ । अनि यात्राको गन्तब्य आत्माले मन पराएको ठाउँ हुनु पर्ने रहेछ । वाल्ककालयमा हिमालमा जान पाए कस्तो हुँदो हो भन्ने जुन ‘ड्रिम डिस्टिनेसन’ थियो, यस पटक अन्नपूर्ण–निलगिरी हिमाल छुने अवसर पाएँ । अन्तर मनले चाहेको गन्तब्यमा पुग्दा हृदयले पुलंकित भयो ।
अन्नपूर्ण हिमालमा म जन्मनु भन्दा धेरै अघि सन् १९५० मे ३ तारेखमा फान्सेली पर्वतारोही मौरिस हर्जोग र लुईस लचेनलले चढी सकेका रहेछन । अन्नपूर्ण हिमाल र हिमालफेदीको वेस क्याम्पसम्म देशविदेशका पर्यटक आउँदा गाउँलेले मनग्य कमाई गर्न सक्ने भरोसामा अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङवासीले गाउँबाट अन्नपूर्ण हिमाल फेदीसम्म पुग्ने बाटो बनाएका रहेछन । त्यही पदमार्ग प्रर्वद्धन गर्न स्थानीय अन्नपूर्ण गाउँपालिकाको संयोजनमा अन्नपूर्ण हिमालको पहिलो आरोही ‘मौरिस हर्जोग पदमार्ग’ हिंड्ने अवसर मिलेको हो ।
जेठ ५ गते विहानै अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीसमेत हामी पत्रकार र स्थानीय पर्यटनकर्मीहरु सहित मिस्त्रीखोला, निलगिरी १ र २ जलविधुत आयोजनाले बनाएको ट्रयाक पछ्याउँदै वोलेरो जिपमा अन्नपूर्ण नर्थ वेस क्याम्प तर्फको यात्रा सुरु गरियो । नारच्याङवेंशी, बास्बोट, मालरानी पाखाहुँदै छोटेपा पुगेर खाना खाईयो । .मालरानी पाखामा हिंड्दा आमा, ठूलो मामाले सुनाएका पहिला–पहिला यही पाखाहुँदै माथी हिमालमुनीसम्म भेडा गोठ लैजाने गरेको कथा सम्झें । छोटेमामा ७० मेगावाट क्षमताको निलगिरी–१ को बाँधस्थल र सोही आयोजनाको ४० मेगावाटको निलगिरी–२ आयोजनाको विधुतगृह निर्माण भैरहेको रहेछ । छोटेपाबाट अक्करे भीर खोपेर बनाएको सडक हैन ट्रयाकहुँदै जीपबाट २० मीनेटमा हुमखोला उक्लियो । यहींबाट अहिले अन्नपूर्ण नर्थ वेस क्याम्पको पदमार्ग सुरु हुने रहेछ ।
हुमखोलाबाट पाँच घन्टा हिंडेपछि पुगियो, भुस्केटमेला (३५५१मी.) । विचमा साँधी खर्क भन्ने स्थानमा एउटा ७–१० जनासम्म अट्ने पोटर आश्रय घर छ । उसवेला अन्नपूर्ण हिमाल चढ्न मौरिस हर्जोगको टिम भारतहुँदै भैरहवानाकाबाट पोखरा–बाग्लुङ–बेनीहुँदै धौलागिरी पुगेपछि आफुले चढ्न खोजेको हिमाल यो हैन भन्ने भएपछि हर्जोगको टोली धौलागिरीको फेदैफेद मुस्ताङको लेते निक्लेर पूर्व लागेर यही भुस्केटमेला भन्ने स्थानमा निक्लेका थिए रे ।
भुस्केटमेला पुग्दा पानी पर्यो । साथी सुरेन गुरुङ्गको सहयोगमा हतारहतार टेन्ट टाँगें । झोला विसाएँ । भुस्केटमेलामा एउटा २० जनाजति मान्छे अट्ने पर्यटक आश्रम घर छ । त्यहाँ किचन सहयोगी समेत अन्य साथीहरु थिए । कफि पिउँदै गर्दा पानी पर्न रोकियो । साँझ ५ बजेको थियो, केही साथीहरुले २ घन्टामा वेस क्याम्प नै पुग्न सकिने र वेस क्याम्पमा आश्रय घर भएकोले जाउँ भन्न थाले । हिमाली मौषम विहान सफा हुने भएकोले फोटो, भिडियोकालागी विहानको मौषम भेट्न रातसाँझ वेस क्याम्प पुग्ने निस्कर्षसहित आफ्नो टेन्ट साथीहरुलाई सुम्पेर वेस क्याम्प तर्फ उक्लियो ।
राती बास बसेको म, साथीभाईको लहैलहैमा भुस्केटमेलादेखी अन्नपूर्ण नर्थ वेसक्याम्प (४१९० मि.) उक्लिनु दुस्साहस थियो । दूई घन्टामा पुगिन्छ भनेको ठाउँमा मलाई तीन घन्टाबढी लाग्यो, अन्य केही साथहरुलाई ५ घन्टाबढी लाग्यो । अघि र पछिका साथीसँग छुटेका धनीलाल गर्वुजा लेक लागेर विचबाटोमा लडेछन । न लाईन न सिल्पिङ ब्याग । गर्वुजा दाई हिमाली चिसो बगरमा पल्टेको अवस्थामा पछि आएका साथीले रेस्क्यु गरेर ल्याए । राती खाना न पानी त्यसै सुतियो ।
ड्रिम डिस्टिनेसनलाई प्राकृतिक औषधालय नै मान्न सकिन्छ । आँखाले देखेको दृष्य र मनले गरेको अनुभवले ब्यक्तिलाई उत्कृष्ट जीवनतर्फ प्रेरित गर्ने रहेछ । करिव ४ हजार २ सय मिटर उचाईमा खाना न पानी रात विताएको, राती छामछुम गर्दै वेस क्याम्प उक्लदा भोगेको कष्ट विहान क्षण भरमा हरायो । फोटो, भिडियो खिच्दै आधा दिन वित्यो ।
हरेक धर्म, संस्कृति र परम्पराहरुमा पनि यात्राको प्रचलन हुन्छ । पूर्वीय संस्कृतिमा यात्रा परम्परा तीर्थाटन, देशाटन, भिक्षाटन, धाम यात्रा आदी भ्रमणशैली प्रचलनमा छन । अन्नपूर्ण हिमालको उत्तरी वेस क्याम्पमा ठूलो हिमताल छ । यो ताललाई स्थानीयवासीले पञ्चकुण्ड ताल भनी पुज्ने रहेछन । मैले पनि विहानै हिमतालमा गै मुख धोएँ । एक अन्जुली तालको पानी अन्नपूर्ण हिमाल तर्फ फर्केर चढाएँ ।
अन्नपूर्ण हिमालको उत्तरी वेस क्याम्प ८ हजार मिटर अग्ला हिमाल आरोहणको इतिहाँसिक थलो पनि हो । अन्नपूर्ण हिमाललाई ‘किलर माउण्टेन’ भनिने रहेछ । अन्नपूर्ण प्रथम र तिलिचो पीक आमने–सामने छन । पश्चिमोत्तरमा निलगिरी साउथ, दक्षिण पश्चिममा वराह शिखर पर्ने रहेछ । तिलिचो पीक र अन्नपूर्ण हिमालको विच पूर्वपट्टी अर्को सानो नाम थाहा नभएको हिमाल (गंगापूर्ण ?) छ । यही नाम नखुलेको हिमाल र अन्नपूर्णबाट बग्दै झरेको ग्लेसियरबाट पश्चिम तर्फ लागेर पहिलो, दोस्रो हुँदै पाचौं क्याम्पपछि वल्न आरोहण गरिने रहेछ ।
फर्कने वेला वेस क्याम्पबाट तल भुस्केट मेलामा झर्दा नपाउँदै पानी पर्न थाल्याे । केही भुस्केटमै बास वस्ने र केही तल हुमखाेला झर्ने भन्ने भयाे । म, चित्र तिलिजा, प्रदीप पुन, कुमार पुन, तेज गुरूङका २२ जना माथी भुस्केटमै बस्ने निर्णय गर्याैं । प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी समेत कमल, राकेश, हरीकृष्ण, साधन समेत १८ जना तल हुमखाेला झरे ।
केही वर्ष अघिसम्म पर्वतीय पदमार्ग मध्य अन्नपूर्ण पदमार्ग कठिन र ओझेलमा परेको थियो । तर अहिले यो वेसक्याम्पसम्म जोखिम न्यून, छोटो समयमा र कम खर्चमा यात्रा गर्न सकिने भएको छ । भीरको बाटो भएपनि छोटेपासम्म हाईड्रोका १० पाङ्ग्रे ट्रकहरु सिमेन्ट समेतका भारी बोकेर जान्छन । छोटेपादेखी हुमखोलासम्म सडकको ट्रयाक उकालो र साँघुरो छ । धेरै नै अनुभवी चालक आवश्यक पर्छ । स्पोर्ट खालका मोटरसाईकलमा पनि सजिलै जान सकिन्छ ।
अन्नपूर्ण नर्थ वेसक्याम्प पुग्न सामान्यतया टेन्ट नबोक्दा हुन्छ । तर कहिले काँही पदयात्रीको संख्या धेरै हुँदा भने बाटोमा रहेका यात्री घरमा बसाई असजिलो हुन सक्छ । कम्तीमा दुई दिन खानावस्नको ब्यवस्था आफै गर्दा राम्रो ।
सरोकारवालालाई सुझाव ः
सामान्यतया मोटरबाटोबाट ओर्लेपछि पदयात्रा खुल्ला छ । हराईने संभावना छैन । विचविचमा यात्रु घर भएपनि ति साना छन । प्रत्यक एक घन्टामा यस्ता घर आवश्यक छ । भुस्केटमेला, तल्लो वेस क्याम्पको पञ्चकुण्ड ताल छेउमा अरु यात्रु घर आवश्यक छ । पदमार्गमा विच विचमा यात्रु घर बनाईएको भएपनि खानेपानी र शौचालय अभाव देखियो । पदमार्गमा केही स्थानमा पहिरोले र बाढीले क्षति पुर्याएको छ । केही स्थानमा झोलुङ्गे मर्मत र केहीमा नयाँ हाल्नु पर्ने देखिन्छ । स्थानीय समुदाय र गाउँपालिकाले कम्तीमा तीन स्थानमा टि हाउस समेतका मौषमी ब्यवसाय गर्न ब्यवसायीलाई प्रोत्साहन, कानुनी वातावरण र आर्थिक तथा भौतिक सहायता जुटाउन सके, निलगिरी, तिजिलो पिक र अन्नपूर्ण प्रथम हिमालको साझा वेस क्याम्प उत्कृष्ट गन्तब्य वन्न सक्छ ।