- Loading...
मुद्दा कमजोर पार्न प्रहरीमाथि राजनीतिक ‘दबाब’
- पुनहिल डट कम
- १ साल अघि
- १३९ पटक पढिएको

सार्वभौम मुलुकका नागरिकलाई अनागरिक बनाउने र नेपालको अन्तर्राष्ट्रिय छवि तथा स्वाभिमानमा आँच पुग्ने गरी रचिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कठोर कारबाही हुनुपर्ने दबाब संसद् र सडकबाट आइरहेका बेला मुद्दा कमजोर बनाउन राजनीतिक चलखेल सुरु भएको छ ।
शरणार्थी प्रकरणमा अनुसन्धान पूरा गरेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने समय नजिकिँदै गर्दा ठगीसम्बन्धी कसुरमा मात्र मुद्दा चलाउने गरी राय पेस गर्न प्रहरीमाथि दबाब परेको हो ।
कांग्रेस नेता बालकृष्ण खाण अनुसन्धानमा तानिएर हिरासतमा छन् भने अन्य केही नेतामाथि पनि आरोप छ । विपक्षी दल एमालेका सचिव (हाल निलम्बित) टोपबहादुर रायमाझी पक्राउ परिसकेको अवस्थामा मुद्दा कमजोर बनाउन ‘सत्ता–प्रतिपक्षी’ मिलान हुने अनुमान पनि हुन थालेको छ । केही दिनयता प्रमुख तीन दलका शीर्ष नेताहरूका बैठक अस्वाभाविक रूपमा बाक्लिएको छ ।
आरोपितमाथि आकर्षित हुने सबै कसुर लगाएर सजाय दिलाउनुपर्ने माग सडकदेखि संसद्सम्म उठिरहे पनि मुद्दा कमजोर बनाउन तीव्र दबाब आउन थालेको एक प्रहरी अधिकारीले बताए । कांग्रेसका शीर्ष नेताले प्रहरी अधिकारीलाई सम्पर्क गरी गम्भीर चासो लिएको उनको भनाइ छ । स्रोतका अनुसार सरकारकै एक उच्च अधिकारीले प्रहरी अधिकृतसँग ‘गठबन्धन सरकार भएकाले ख्याल गरेर अघि बढ्नुपर्ने बाध्यता रहेको’ सुनाएका छन् ।
शरणार्थी प्रकरणका आरोपितमाथि राज्यविरुद्धको अपराधदेखि मानव बेचबिखन तथा ओसारपसारसहित आधा दर्जन जति कसुर आकर्षित हुने अवस्था छ । ‘मुलुकी अपराध संहिताको ठगीसम्बन्धी कसुरमा मात्र कारबाही मागदाबीसहित अनुसन्धान प्रतिवेदन तयार गर्न दबाब छ,’ उनले भने । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ भने यस प्रकरणमा राष्ट्रघात भएको तर्क गर्दै हदैसम्मको कारबाही हुने गरी मुद्दा अघि बढाउनुपर्ने अडानमा छन् । ‘यो राष्ट्रघात हो, सामान्य भ्रष्टाचार होइन,’ उनको भनाइ छ, ‘कुनै दबाबले काम गर्दैन, कानुनअनुसार अघि बढ्छ ।’
पूर्वगृहमन्त्री थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीका अनुसार शरणार्थी व्यवस्थापनसम्बन्धी कार्यदल गठनसँग जोडिएका पूर्वगृहमन्त्री थापाको संलग्नताबारे अनुसन्धान जारी छ । कार्यदल गठनका बेला सचिव रहेका प्रेमकुमार राई (हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख) को संलग्नता रहे/नरहेको विषयमा पनि अनुसन्धान भइरहेको छ ।
काठमाडौंबाट गत चैत १२ मा पक्राउ परेका केशव दुलाल, सानु भण्डारी र टंक गुरुङलाई ठगीसम्बन्धी कसुरमा अदालतबाट म्याद थपेर अनुसन्धान सुरु भएको थियो । अनुसन्धानको दायरा बढाउँदै प्रहरीले संगठित अपराधमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । यस प्रकरणमा संगठित अपराध, मानव बेचबिखन तथा ओसारपसार, सम्पत्ति शुद्धीकरण, प्रमाण नष्ट, भ्रष्टाचार, पद, सरकारी लिखत दुरुपयोग गरेको कसुरमा पनि अनुसन्धान भइरहेको छ ।
मुलुकी अपराध संहिताको दफा ५१ अनुसार ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान वा नेपालको अन्तर्राष्ट्रिय छविउपर अपमान हुने, होच्याउने वा घृणा वा द्वेष फैलाउने’ काम गरे राज्यविरुद्धको अपराध कसुरमा कारबाही हुन्छ । यो कसुर गर्नेमाथि ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुन सक्छ । यसका अतिरिक्त लेनदेन गरेको भेटिए उक्त रकमसमेत जफत हुने भनिएको छ । सार्वजनिक पद धारण गरेको व्यक्ति वा नेपाललाई प्रतिनिधित्व गर्ने व्यक्तिले विदेशमा गएका बखत गरेको रहेछ भने उसलाई थप तीन वर्षसम्म कैद सजाय हुन सक्छ । शरणार्थी प्रकरणले नेपालको मान/प्रतिष्ठा र स्वाभिमान अन्तर्राष्ट्रिय जगत्मा गिराउने काम गरेकाले यो कसुरमा आरोपितलाई कारबाही गर्न आवश्यक रहेको प्रहरीका एक अधिकारीले बताए ।
मुलुकी अपराध संहिताको दफा २४९ ले ‘कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकामा सोबमोजिम नगरी वा फकाई, झुक्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूर्वक कुनै किसिमको हानि, नोक्सानी वा क्षति पुर्याएमा वा आफ्नो वा अरू कसैका लागि कुनै लाभ प्राप्त गरेमा ठगी गरेको मानिने’ उल्लेख छ । शरणार्थी प्रकरणमा युवाबाट मोटो रकम असुलेर अमेरिका लैजाने प्रलोभन दिइएको देखिन्छ । हालसम्म प्रहरीमा २४ करोडभन्दा बढी ठगी भएको दाबीसहित १ सय ८ जनाको उजुरी परेको छ ।
संहिताको दफा २७६ मा कसैले कसैलाई किर्ते गर्न वा गराउन नहुने उल्लेख छ । सरकारबाट सुरुमा बनाइएको कार्यदलको सक्कली प्रतिवेदन गायब बनाएर गिरोहको योजनाअनुसार नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रपञ्चमा सघाएको आरोप तत्कालीन गृह सचिव टेकनारायण पाण्डेमाथि लागेको छ । प्रतिवेदनमा उल्लेख भएभन्दा फरक विवरण बनाएकामा प्रहरीले उनीमाथि किर्तेमा पनि मुद्दा चलाउन सक्छ । अनुसन्धान प्रतिवेदन केही दिनभित्रै सरकारी वकिलको कार्यालयमा बुझाइसक्न प्रहरीलाई सरकारी वकिलको कार्यालयबाटै निर्देशन गइसकेको छ ।
यस प्रकरणमा राज्यविरुद्धको अपराध, ठगी, किर्ते, मानव ओसारपसार जस्ता गम्भीर कसुरमा कारबाही हुनुपर्ने पूर्वसचिव रेग्मीले बताए । ‘देश र जनताको हितका काम गर्छु भनेर शपथ खाएकाहरूले नै नेपालीलाई भुटानी शरणार्थी बनाउने अपराधमा लागेर देशकै मान/प्रतिष्ठामा आँच पुर्याएका छन् । यस्तो अपराधमा संलग्नलाई राज्यविरुद्धको अपराधमा मुद्दा चलाउनुको विकल्प छैन,’ उनले भने, ‘दबाब सामना गरेर भए पनि प्रहरीले खुट्टा नकमाई सशक्त प्रतिवेदन तयार पार्न सक्नुपर्छ ।’
सर्वत्र स्याबासी पाइरहेका बेला शक्तिकेन्द्रको दबाबमा परेर मुद्दा कमजोर बनाइए प्रहरीप्रतिको विश्वासमा क्षति पुग्ने उनले बताए । *कान्तिपरबाट समाचार लिएका हाैं ।-सम्पादक

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
