FLASH NEWS
  • Loading...

गाउँमा माेटर पुर्याउन वच्चा च्यापेर सडक खने लुलाङका महिला

  • पुनहिल डट कम
  • १ साल अघि
  • २१४ पटक पढिएको
गाउँमा माेटर पुर्याउन वच्चा च्यापेर सडक खने लुलाङका महिला

जिल्लाको अति दुर्गम धवलागिरी गाउँपालिका, २ लुलाङको दलित वस्तीका महिलाहरु देलाेमै माेटर पुर्याउने रहरले घरको काम विहान बेलुकी भ्याईवरी दुधे वालक च्यापेरै  सडक खनेका छन । दैलोमै मोटर बाटो आउने भएपछि उनीहरु उत्साही छन । गत माघ देखी उनीहरुले सडक खनेका हुन ।
गाउँपालिका केन्द्र मुनादेखी वडा जोड्ने सडक कार्यक्रम अर्न्तगत दैलोमै मोटर पुर्‍याउने उद्देश्यले मुना–खोरिया–लम्सुङहुँदै लुलाङ जोड्ने २ किलोमिटर ३ सय मिटर सडक खन्न महिलाहरु दुधे वालक च्यापेरै सडक खन्न आएका थिए ।
पालिकाको चालु वर्षको ४५ लाख बजेटबाट सडक खन्न लागिएको हो । बजेटको १० प्रतिशत जनश्रमदान गर्नु पर्ने निती अनुसार ४ लाख ५० हजार रुपैयाँ मुल्य बरावर डोजर लगाउँदा तल वस्तीमा जोखिम हुने क्षेत्रमा स्थानीयले श्रमदान गरी सडक खनेका थिए । सडक अर्न्तगत लम्सुङवस्ती, लम्सुङ माध्यामिक विद्यालय र स्वास्थ्यचौकीदेखी माथिल्लो एक सय ३० मिटर पाखोमा भने स्थानीयले छुट्टै श्रमदानगरी सडक खनेका थिए ।
‘सवै घरले तीन दिन झारा (श्रमदान) गर्नु पर्ने समितिले भनेको छ । श्रीमान विदेश छन । घरमा श्रमदानमा जाने अर्को सदस्य छैन त्यसैले २ बर्षकी छोरी बोकेर म आफै आएकी हुँ’ लम्सुङमाथीको पाखोमा बेल्चाले माटो फाल्दै गरेकी मनसरा कुमाईले भनिन, ‘सडक खन्दा दुख भन्दा दैलोमै गाडी आउने भएकोले खुशी भएकी छु । घरमा श्रमदान पनी गर्ने मान्छे नभएकाले पैसा हालेर मान्छे खटाएका छन ।’
न घरधन्दा न मेलापात न वस्तुभाउ र गोठको काम सवै थाँती राखेर म्याग्दीको दुर्गम दलित वस्ती लुलाङका महिला सडक खन्न खटिए । तिनै मध्यकी एक हुन, धवलागिरी गाउँपालिका, २ लुलाङकी रिता विक । विहले १ बर्षका छोरा पिठ्युँमा बोकेर सडक खन्न आएकी छिन । रिता मात्र होईन छिमेकी मनसरा कुमाई पनि दुधे छोरी बोकेर धुलाम्मे सडक खन्दै छिन ।
‘आफ्नै घरको दैलोमा मोटर ल्याउने सडक खन्नु पर्‍यो नि । केही दिनको श्रमदान हो, अरु त काम गरेको पैसा पनि आउँछ नि’ कम्मरमा सलको पटुकी कसेकी रिता विकले वेल्चाले भित्ताको माटो डिलमुनी हुत्याउँदै भनिन, ‘बच्चा बोकेरै त गाउँका महिला यहाँ बाटो खन्न आएका छन । पैसाकालागी टाढाटाढा पुगेर सडक खन्नु पर्थ्यौ । यो मोटरबाटो त मेरै ठ्याक्कै आगनको डिलमा नापेको छ ।’
डोजरले खन्न नमिल्ने खण्ड र स्थानीयले श्रमदान जुटाउनै पर्ने भागमा बाहेक अन्यत्र काम गरेको भने स्थानीयले जिल्ला दररेट अनुसार नै ज्याला पाएका हुन । जिल्ला दररेटमा दक्ष श्रमिकको दैनिक सुख्खा एक हजार एक सय ४० र अदक्ष श्रमिकको ज्याला आठ सय ८० तोकिएको छ । सडक खन्न आएका सवै महिला अदक्ष श्रमिक हुन ।
‘पालिकाको बजेटबाट उपभोक्ता समिति मार्फत सडक निर्माण भएको हो । उपभोक्ताले गर्ने काममा १० प्रतिशत श्रमदान अनिवार्य हुन्छ । अन्यत्र योजनाहरुमा समितिले श्रमदानको भागलाई कागजमा मिलाउँछन, लुलाङमा स्थानीयले आफैले काम नै गरे’ सडकको साईड हेर्ने धवलागिरी गाउँपालिकाका सवइन्जिनियर दीपेन्द्र थापाले भने, ‘डोजरले ट्रयाक खोलेपनि सडकमा लगाउनु पर्ने रिटेनिङवाल, ग्याभिन भर्ने, गिटीवालुवा, सिमेन्ट, ढुङ्गा फोर्ने तथा ढुवानी गर्ने काम गाउँले मिलेर काम गरे । ’
करिव २ सय घरधुरीको बसोबास रहेको लुलाङ कामी जातिको एकल वस्ती हो । दुई सय घरपरिवारमध्य ६० घरको पालो लगाएर श्रमदान गराईएको छ । सडक खन्ने काममा झण्डै आधाजति महिला छन । पुरुषहरुले गलले भित्ता भत्काउने, डिलमुनी पर्खाल लगाउने र ढुङ्गा फोर्ने काम गर्छन । महिलाहरुले भने वेल्चाले माटो फाल्ने, ढुङ्गा वोक्ने काम गर्ने गरेका छन ।
‘यो पहिरोग्रस्त क्षेत्र हो । डोजरले खन्दा तल वस्तीमा ढुङ्गामाटो खस्ने मात्र होईन पछि पहिरोको जोखिमबढी भएकोले मानवश्रम लगाएर सडक खन्ने योजना बनाएका हौं’ धवलागिरी गाउँपालिका, २ का वडाध्यक्ष अकप्रसाद विकले भने, ‘पालिकाले छुट्टाएको बजेटले मात्र पुगेन त्यसैले अप्ठयारो ब्रेकर लगाउने ठाउँमा डोजर लगाएका छौं । ४० प्रतिशत काम मानवश्रमबाटै भएको छ । ठेकदार लगाएर बाहिरका मान्छे ल्याएर सडक खन्ने भन्दा उपभोक्ता समिति मार्फत स्थानीयको श्रम र सीप उपयोग गरी काम गराएका हौं ।’
गाउँसम्मै सडक निर्माण पछि विरामीहुँदा गाडीमा छिटो अस्पताल पुग्न सकिने, खाद्यान्न सस्तो हुने र गाउँको आलु बजार लैजान पाईने लुलाङवासीको आसा छ । गाउँपालिका केन्द्र रहेको मुनाबाट सडक अहिले लम्सुङहुँदै लुलाङ गाउँ पुगेको छ । यहींबाट हिमालमुनीको लुकेको वस्ती गुर्जा जोड्ने सडक खनिने भएको छ । गुर्जा सडक पुर्‍याउन यो वर्ष पालिकाले ८० लाख बजेट विनियोजन गरेको छ ।
म्याग्दी जिल्लाको सवैभन्दा ठूलो र दुर्गम धवलागिरी गाउँपालिकाको २ नम्बर वडा हो, लुलाङ । लुलाङ, लम्सुङ र खोरिया यहाँका मुख्य वस्ती हुन । लुलाङ विक र खोरिया मगरको मात्र एकल वसोवास भएका वस्ती हुन । लम्सुङ र मरेनी भने, मिश्रित वस्ती हुन ।
जिल्लाको सवैभन्दा विकट दलित बस्ती लुलाङ्ग गाउँ भिरालो पाखोमा अवस्थित छ । स्थानिय उत्पादनले तिन महिनापनी पनि खान नपुग्ने यस वस्तीका दलितले जिल्लाका विभिन्न गाउँमा पुगी मजदुरी गर्ने गर्छन् । यही मजदुरीबाट उव्रेको रकमले जीविकोपार्जन गर्दै आएका दलित वस्तीमा वैदेशिक रोजगारीले भर थेग्न थालेको छ ।
गाउँपालिकाको प्रोफाईल अनुसार गरिवीको नक्साङकनमा लुलाङका अधिकांश परिवारमा ३–६ महिना खान पुग्छ । बाँकी खाद्यान्न पुरुषहरुले वैदेशिक रोजगारी बाहेक जिल्लाका विभिन्न वस्ती, मुस्ताङ, पोखरा समेतका क्षेत्रमा पुगेर ज्याला मजदुरी गरी गरेको आर्जनबाट जोहो हुन्छ । लुलाङवासीका एक्ला देवता ‘लुलाङ भुमेथान’ हुन । बारम्बार हुने भोकमरी, अनिकाल र खडेरीले सताउने भएकोले हुन सक्छ, लुलाङमा भुमेथानबाहेक अन्य मन्दीर छैनन । स्थानियले दुःखजिलो गरेर निर्माण गरेको विद्यालयमा आवश्यक फर्निचर नहुंदा विद्यार्थी गुन्द्री ओच्छाएर भुइंमा बसी पढ्न बाध्य छन् ।
साविक जिल्ला विकास समिति अर्न्तगत युएनडिपीको सहयोगमा स्थापित उर्जा विकास शाखाले ०६७/०६८ सालमा दरखोला दोस्रो लुलाङ्ग (२५ किवा) लघुजलविधुत आयोजनाबाट उज्यालो गर्दै आएका लुलाङवासीलाई दरखोलामा आउने बाढीले बारम्बार दुख दिने गरेको छ ।
०७० सालमा लम्सुङमा आएको पहिरोले लुलाङ लघुजलविधुत आयोजनाको पावरहाउससहित सवै संरचना बढाएपछि पुनः ५ किमी माथी नयाँवनमा वैकल्पिक उर्जाको ८६ लाख, धवलागिरी गापाको ६० लाख र स्थानीयले १० लाख मुल्यबराबर श्रमदान जुटाएर अर्को लघुजलविधुत आयोजना निर्मण गरिएको छ । लामो समयदेखी वन्द आयोजना पुनःनिर्माणगरी गाउँलाई झिलिमिली बनाउनु सवैभन्दा ठूलो उपलब्धी मानिएको छ । यस वर्षदेखी मोटरबाटो पनि थपिएको छ ।