- Loading...
नयाँ वर्ष शुभकामना साटासाट र हर्षोल्लासकासाथ मनाइँदै
- पुनहिल डट कम
- १ साल अघि
- १६५ पटक पढिएको
आज विक्रम सम्वत् .२०८० सालको नयाँ दिन (नयाँ वर्ष) हर्षोल्लासकासाथ देशभर मनाइँदैछ।
विदेशमा रहेका नेपालीले पनि आज नयाँ वर्ष मनाउँदै छन्। एक आपसमा शुभकामना साटासाट गरेर नयाँ वर्ष मनाउने प्रचलन छ।
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको मानिन्छ। सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वनहरुको भनाइ छ। सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ। कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो।
हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्दछन्। आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगाती तथा इष्टमित्रसँग भेटघाट गरी एकआपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन्।
नयाँ वर्षको अवसरमा देशभरका सरकारी कार्यालयहरु बन्द रहेका छन्। नयाँ वर्षको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेता समेत सवै उच्च पदासिन पदाधिकारी, नेता तथा सर्वसाधारणले प्रत्यक्ष तथा सामाजिक संञ्जालबाट नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन्।
चान्द्रमानअनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै सुरु हुने नयाँ संवत्सर भने चैत ८ गतेदेखि नै सुरु भइसकेको समितिले जनाएको छ। वैदिक सनातन हिन्दू धर्मअनुसार ६० संवत्सर छन्। यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका छन्। षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभाव हो। अहिले चलिरहेको पिंगल ५१औँ संवत्सर हो। यसअघि नल नामको संवत्सर रहेको थियो।