- Loading...
स्थानिय तहलाइ फोहोर ब्यवस्थापन चुनौती बन्दै
- पुनहिल डट कम
- १ साल अघि
- १८२ पटक पढिएको
संघियताको कार्यान्वयनसँगै नयाँ नगर/गाउँपालिकाका मुकाममा तिब्र सहरीकरण हुन थालेसँगै फोहोर ब्यवस्थापनको पनि चुनौति थपिन थालेको छ ।
जिल्लाका ६ स्थानीय तहमध्य सदरमुकाम समेत रहेको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिका मुकाम बेनी तथा पाेखरेबगर कालीगणडकी नदी किनारामा तथा मंगला र मालिका गाउँपालिका मुकामहरू क्रमश ः बाबियाचाैर र दरवाङ बजार म्याग्दी नदी किनारामा छन ।
सहरकाे फाेहाेर ब्यवस्थापनमा सवै भन्दा कठिन बेनी नगरपालिकाकाे ७ र ८ वडा रहेकाे बेनीबजारको फोहोर ब्यवस्थापन सवैभन्दा चुनौती छ । अन्नपूर्ण गापाकाे पाेखरे बगरमा पनि सार्वजनिक जग्गा नहुँदा फाेहाेर ब्यवस्थापनमा चुनाैती छ । बेनीको फोहोर २० बर्षदेखी २ किलोमिटर उत्तर तर्फ सेतीपहिरो स्थित बेनी–जोमसोम सडकबाट कालीगण्डकी नदी किनारामा फालिदै आएकोमा सवर्त्र विरोध हुँदै आएको छ । बेनीको फोहोर विर्सजन गरिँदै आएको स्थानबाट देवशिला उत्खनन गरी भारतको अयोध्यामा हिन्दु भगवान रामको वाल अवतारको मुर्त्ति बनाउन लगिएपछि यहाँको फोहोर हटाउन बेनी नगरपालिकालाई थप दवाव परेको छ ।
‘अहिले हामी अर्को विकल्प नपाईएकोले कालीगण्डकी नदी किनारामा सदरमुकामबाट उत्सर्जन हुने फोहोर जम्मा गरी ब्यवस्थापन गर्दै आएका छौं । र हामी कालीगण्डकी किनाराको डम्पिङसाईट सकेसम्म छिटो हटाउन चाहेका छौं । वस्तीदेखी अलि टाढा ठाउँ खोजी भै समुदायसँग छलफलमै छौ’ बेनी नगरपालिकाका मेयर सुरत केसीले भने, ‘कालीगण्डकीको सभ्यता जानेर पनि फोहोरलाई घरभित्रै राख्न नमिल्ने भएकोले बाध्यताले त्यस ठाउँमा पुर्याएर ब्यवस्थापनको काम गरेका हौं । सोझै खोलामा केही फालेका छैनौं ।’
सरकारले अकस्मात घोषणा गरेपछि बनेका पालिका मुकामहरुमा सहरी विकासको योजना विनै तिब्र भवन निर्माण र वजारीकरण सुरु भएसँगै त्यहाँबाट निक्लने फोहोरमैला कहाँ कसरी ब्यवस्थापन गर्ने समस्या हुन थालेको हो । अहिले वस्ती छेउका खोल्साखोल्सीमा जथाभावि फाल्ने गरिएको छ ।
वस्ती छेउका खोल्सामा अब्यवस्थित रुपले फालिएका प्लास्टिकजन्य फोहोर यत्रतत्र छरिएको र हावाले उडाएर वस्ती र खेतवारीमा छपक्कै छाप्ने गरेको छ । सिसाजन्य फोहोर पनि उस्तै असरल्ल छरिएको छ । वाढीले बगाएर खोलामा सोझै मिसाउने गरेको छ ।
त्यसैगरी पश्चिम मंगला गाउँपालिका केन्द्र बाबियाचौर बजारबाट उत्सर्जन हुने फोहोर पछिल्ला तीन वर्षदेखी मंगला गापा, २ लाम्पाटामुनी म्याग्दीखोला किनाराको पाना बगरमा फाल्ने गरिएको छ । पालिकाले फोहोर लगेर नदी किनारामा अब्यवस्थित रुपमा फाल्दा प्रदुषण भएको भन्दै स्थानीयले अवरोध गरेपछि मंगला गापा केन्द्र बाबियाचौरको फोहोर पछिल्लो एक सातादेखी उठ्न सकेको छैन । फालिकाले बजारबाट उत्सर्जन हुने सिसाजन्य, प्लास्टिकजन्य, औषधीजन्य तथा घरायसी कुहिने फोहोर सवैलाई एकैस्थानमा लगेर फाल्ने गरेको छ ।
‘योजनाबद्ध वस्ती विकास नभएकोले निक्लेको फोहोर ट्याक्टरमा उठाएरु केही पर खाली स्थानमा लगेर फाल्ने गरिएको थियो । जनघनत्व बढेसँगै फोहोरको मात्रा पनि बढ्यो, ब्यवस्थित नहुँदा स्थानीयको अवरोध स्वभाविक हो । अहिले सोही पाने बगरमा ब्यवस्थित रुपले फोहोर ब्यवस्थापन गर्न सहमति भएको छ’ मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले भने, ‘पानेबगरमा अस्थाई फोहोर ब्यवस्थापन केन्द्र संचालन गर्न छुट्टै पहुँचमार्ग, म्याग्दी नदीले नबगाउन संरक्षण र फोहोर छुट्याउने योजना बनाईरहेका छौं । आउँदो बजेटमा रकम नै विनियोजन गरी ब्यवस्थापन गराउँछौं ।’
त्यस्तै उत्तरी अन्नपूर्ण गाउँपालिका केन्द्र रहेको पोखरेबगर र पर्यटकीय वस्ती तातोपानी तथा घोरेपानीको फोहोर ब्यवस्थापनमा पनि समस्या छ । पोखरे र तातोपानीको फोहोर कालीगण्डकी नदीमा फाल्ने गरिएको छ । घारेपानीमा भने वस्त छेउमा लालीगुराँसको जंगलभित्र खाल्डो खनेर राख्ने गरिएको छ ।
‘पोखरेबगर विस्तारै बजार भएको छ । अहिले यहाँको फोहोर कालीगण्डकी नदीमा फाल्ने गरेका छौं । यसरी कहिलेसम्म नदी प्रदुषित बनाउने, पालिकाले तत्काल डम्पिङ साईट खोजेर फोहोर ब्यवस्थापन गरोस’ हालै अन्पूर्ण गाउँपालिकाले पोखरे बगरमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय राजराम बरुवालले भने, ‘दैनिक घरायसी प्रयोगका मात्र होईन होटल, रेष्टुरेन्टबाट उत्सर्जन हुने सिसाजन्य फोहोर पनि हाम्रालागी चुनौति बनेका छन ।’
त्यसैगरी जिल्लाको दोस्रो सदरमुकामले चिनिने मालिका गाउँपालिका केन्द्र रहेको दरवाङ बजारमा पनि फोहोर ब्यवस्थापन चुनौति बनेको छ । दरवाङ बजारबाट उत्सर्जन गर्ने फोहोरमैला नछुट्याई म्याग्दी नदी किनाराको छ्यारछ्यारेमा फाल्दै आएको छ ।
पालिका केन्द्र रहेको दरवाङबाट उर्त्सजन हुने फोहोरको मात्र र प्रकारपनि धेरै हुन थालेपछि मालिका गाउँपालिकाले छुट्टै फोहोर मैला ब्यवस्थापन कार्यविधी बनाई लागु गर्ने भएको छ । पालिकाले निजी क्षेत्रसँग साझेदारी गरी संकलित फोहोरबाट पुनःप्रयोग गर्न मिल्ने, सड्ने र नसड्ने वस्तु छुट्याई फोहोरमैला ब्यवस्थापन गर्ने योजनामा छ ।
त्यस्तै, संकलित फोहोरमैलाबाट सिसाजन्य फोहोरलाई छुट्याएर ग्लास क्रसरमा राखेर पेल्ने गरी लागत अध्ययन थालेको जनाएको छ । मालिका गापाले चालु आवमा फोहोर ब्यवस्थापन गर्न १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
‘दरवाङमा सिसाजन्य फोहोर ब्यवस्थापन ठुलो चुनौति बनेको छ । त्यसैले पालिकाले ग्लास क्रसर ल्याई सिसालाई पेल्ने योजनामा छौं । ग्लास क्रसर प्रति घन्टा कति सिसा पेल्ने भन्ने आधारमा मुल्य पर्ने रहेछ । सिसाको धुलो घरको ढलान र ल्बक बनाउन सकिने देखिएकोले निजी क्षेत्रसँग साझेदारी गरी ग्लास क्रसर ल्याउने योजनामा छौ’ मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजाले भने, ‘पालिकाले प्रविधी ल्याउन सहयोग गर्छ । फोहोरको उचित ब्यवस्थापन गरे आम्दानी पनि हुने भएपछि निजी क्षेत्रसँग छलफल गरिरहेका छौं ।’ अध्यक्ष गर्वुजाले थपे, ‘ सिसाका वोटलहरु मानव श्वास्थ्य र प्रदुषणका मुख्य जोखिम बढाएकोले ब्यवस्थापनमा चुनौति बनेका छन ।’
सिसाजन्य बोटलहरु पुनःप्रयोगकालागी फिर्ता लैजाने ब्यवस्था नहुँदा गाउँसहरमा समस्या भएको हो । वियरसमेत विभिन्न मदिराका सिसाजन्य बोटलहरुले वस्तीको सौन्दर्य घटेको, प्रदुषण बढेको मात्र होईन दुर्घटना समेत बढाएको छ । वस्ती वरपर यत्रतत्र थुप्रो लागेका वोटलहरुले प्रदुषणमात्र गरेको छैन, फुटेका सिसाका टुक्राहरु खेतवारी तथा वाटोमा पुगेकोले स्थानियको खुट्टामा गाडिने समेतका दुर्घटना भैरहेका छन ।
फोहरमैला ब्यवस्थापन ऐन ०६८ ले हानीकारक, स्वास्थ्य संस्थाजन्य फोहरमैला, रसायनिक फोहरमैला, औधोगिक फोहरमैलाको ब्यवस्थापन भने संवन्धित ब्यक्ति वा संस्थालाई नै तोकेको भएपनि अनुगमन नहुँदा कार्यान्वयन भएको छैन । नसड्ने र जोखिमयुक्त यस्ता सिसाजन्य फोहोर उत्पादक कम्पनीहरुले नै फिर्ता लैजानु पर्ने हो तर वास्ता गरिएको छैन ।