- Loading...
पुनहिलमा ‘गुराँस पार्क’ बन्दै
- पुनहिल डट कम
- २ साल अघि
- २९८ पटक पढिएको

पदयात्राका लागि उत्कृष्ट गन्तव्य गुराँसे बस्ती घोरेपानी पुनहिल क्षेत्रमा ‘गुराँस पार्क’ बन्ने भएको छ । अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित गुराँसे जंगलबीचको सुन्दर पर्यटकीय बस्ती घोरेपानी नजिकै कालीसारमा ५० रोपनी खाली चौरलाई पार्क बनाउन लागिएको हो ।
डिभिजन वन कार्यालय म्याग्दीले चरा अवलोकन केन्द्र, वन्यजन्तुका लागि सानो प्राकृतिक स्वरूपको पोखरीसहित पार्क बनाउन लागेको हो । त्यसनिम्ति गण्डकी प्रदेश पर्यटन मन्त्रालयको २० लाख बजेटमा विनियोजन गरेको छ । घना गुराँसे जंगलविचको चौरमा वरपर थप गुराँसका बेर्ना रोप्ने तथा गुराँसका नयाँ जाति र अनुकूल हावापानीमा हुर्कने फूल रोप्ने योजना छ । ‘गुराँस पार्क निर्माण भइरहेको छ,’ कालीसार गुराँस पार्क निर्माण समितिका अध्यक्ष देवेन्द्र (सुशील) गर्वुजा पुनले भने, ‘गुराँस र हिमालको दृश्यावलोकन गर्न डेस्क राख्ने, सूचना केन्द्रसहितको गोलघर निर्माण गर्ने, शौचालय र पार्कको छेउमा खोल्सा परेको भाग थुनेर वन्यजन्तुका लागि पानीपोखरी बनाउने काम भइरहेको छ ।’
अघिल्लो वर्ष यही क्षेत्रमा हर्स राइडिङ ट्रेल, साइकलिङ ट्रेल र वर्ड वाचिङ पोइन्ट बनाइएको अध्यक्ष गर्वुजाले जनाए । चालु बजेटबाटै ठूलाठूला अक्षरको ब्लकबाट पोखरा–जोमसोम उडान भर्ने पर्यटकले जहाजबाटै हेर्न सक्ने गरी गुराँस पार्क लेखेको सेल्फी बोर्ड बनाउने योजना छ ।
घान्द्रुकदेखि घोरेपानी–नागीसम्म सबैभन्दा ठूलो लालीगुराँसको जंगल छ । एक्यापको अभिलेख अनुसार नेपालमा ३२ प्रजातिका गुराँस पाइन्छ । त्यसमध्ये घोरेपानी क्षेत्रको जंगलमा ८ प्रजातिका पाइन्छन् । घोरेपानी बस्तीको सिरानबाट पश्चिमोत्तर आधा घण्टा गुराँसे जंगलभित्र हिँडेपछि कालीसारस्थित गुराँस पार्क पुगिन्छ । पार्कबाट थप १५ मिनेट अगाडि बढेपछि गुराँसकै जंगलभित्र रहेको सुन्दर प्यारीवराह ताल पुगिन्छ । फर्कंदा प्यारीवराहबाट भलखराचौर हुँदै ४० मिनेटमा घोरेपानी बस्तीको पुछारमा आइपुगिन्छ । घोरेपानीको सिरानबाट कालीसार गुराँस पार्क हुँदै प्यारीवराह ताल पुगेर भल्खराकोबाट तल्लो बाटो हुँदै घोरेपानी साइक्लिङ गर्न सक्छन् । प्यारीवराहदेखि घोरेपानीसम्मको घोडाचढी (पोनी ट्रेल) मा जान सकिन्छ ।
प्रदेश सरकारले अघिल्लो वर्ष २५ लाख खर्चेर घोरेपानीदेखि कालीसार (गुराँस पार्क) हुँदै प्यारीवराह ताल पुगेर भल्खरा हुँदै घोरेपानी फर्कन करिब ७ किमि साइकल लेन, हर्स राइडिङ ट्रेल र प्यारीवराह ताल फन्को लगाउने पैदल मार्ग बनाएको थियो । ‘पर्यटकीय क्षेत्र घोरेपानीमा गुराँस पार्क बनाउन प्रदेश सरकारबाट पाएको बजेट उपभोक्ता समितिमार्फत काम भइरहेको छ । पार्कले पर्यापर्यटनमा योगदान पुर्याउने र घोरेपानीमा पर्यटकको बसाइ अवधि लम्बिने विश्वास छ,’ डिभिजन वन अधिकृत मनोज रानाभाटले भने । सामाजिक अभियन्ता महावीरले १६ वर्षअघि नै अन्नपूर्ण–८ नागी क्षेत्रमा संसारभर पाइने प्रजातिका गुराँस रोपेर ‘गुराँस पार्क’ बनाउने र पार्कसहितको गुराँसे जंगलभित्र साइकल लेन बनाई खेल पर्यटन प्रवर्द्धन योजना बनाएका थिए । डिभिजन वन कार्यालयले ३ वर्षअघि पनि अन्नपूर्ण–७ रिमा गाउँको सिरानमा रहेको नेसरानी सामुदायिक वनको ४० रोपनी घेराबन्दी गरी गुराँस पार्क बनाएको थियो ।
डिभिजन वन कार्यालयका अनुसार फूलबारीमा १० लाख ७० हजार बजेटमा पार्क क्षेत्रलाई तारबार गरी छुट्याउने, गुराँस पार्क क्षेत्रमा एउटा गोलघर बनाई नेपालमा पाइने विभिन्न प्रजातिका गुराँस फूलका फोटा टाँसेर छोडिएको छ । *कान्तिपुरमा समाचार छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
