FLASH NEWS
  • Loading...

पालिका मुकाम नवसहर बन्दै

  • पुनहिल डट कम
  • १ साल अघि
  • ८२ पटक पढिएको
पालिका मुकाम नवसहर बन्दै

संघियताको कार्यान्वयनसँगै पुराना सहरले साख गुमाउँने र नयाँ नगर/गाउँपालिकाका मुकाममा सहरीकरण सुरु भएको छ ।
पालिका मुकाम रहेका वस्तीका परम्परागत ढुङ्गेघर भत्काएर आरसिसि भवन वनाउने, उर्वर धानखेत मासेर घडेरी बेच्ने र नयाँ–नयाँ घर बनाउने क्रम तिब्र छ । घडेरीको मुल्य आकासिएको छ । होटल तथा सवै खाले पसलहरु थपिएका छन । वैंक तथा वित्तिय संस्थाहरु गाउँ गाउँ पुगेका छन ।
‘गाउँपालिका केन्द्र तोकिएपछि घर र जग्गाको मुल्य र संख्या तीन गुना बढेको छ’ मंगला गाउँपालिका, २ बाबियाचौरका वडाध्यक्ष धनबहादुर खातीले भने, ‘पालिका मुकाम नहुँदै पुरानो घोडेटोबाटोमा एकलाईन परम्परागत घरहरु थिए, बजार सानो थियो । अहिले बाबियाचौरको पुरै धानफाँट घरहरुले भरिए । जग्गा हातकै चार–पाँच लाख बढी पुगेको छ ।’
मंगला गाउँपालिका रहेको बाबियाचौरको मात्र हाईन, रघुगंगा गाउँपालिकाको मौवाफाँट र अन्नपूर्ण गाउँपालिका केन्द्र पोखरेवगर, मालिका गापा मुकाम रहेको जिल्लाको दोस्रो ठूलो र ब्यापारिक बजार दरवाङ्गमा पछिल्ला ८–९ वर्षको अन्तरालमा घरको संख्या र स्वरुप तीन गुणा बढेको छ । जग्गाको मुल्य तिब्र बृद्धि भएको छ ।
अन्नपूर्ण गापाको पोखरे, मंगला गापाको बाबियाचौर र रघुगंगा गापाको मौवाफाँट ति क्षेत्रका सवैभन्दाबढी उर्वर खेतीयोग्य जमिन भएका अन्न भण्डार हुन । राज्य पुनसंरचना भै पालिका मुकाम भएपछि ति अन्नभण्डार आरसिरी घरले ढाकिन थालेको छ ।
‘सवैको वस्ती र वडावासीकालागी भौगोलिक तथा सडक सहजताको पाएक पर्ने तथा स्थानीय सरकार संञ्चालन गर्दा आवश्यक पर्नै पुर्वाधारहरु निर्माण गर्न ठूलो क्षेत्रफल पनि आवश्यक पर्ने भएपछि अन्नभण्डार मासेर पालिका मुकाम बनाउने निर्णय गरेका हौं’ रघुगंगा गाउँपालिका, ३ मौवाफाँटका स्थानीय बालकृष्ण सुवेदीले भने, ‘देशैभरीका खेतियोग्य फाँटहरु सहरीकरणको चपेटामा नासिएका छन । हाम्रा धानफाँट पनि जोगाउन सकेनौं । खेतियोग्य फाँट जोगाउन कम्तीमा गापा कार्यालय समेत सरकारी कार्यालय स्थापना गर्न ल्याण्ड पुलिङ्ग विधी अपनाएका छौं ।’
पालिका मुकामको चहलपहल बढेपनि गाउँगाउँमा उक्लेका मोटरबाटोको सुगमताले पालिका मुकामहरुमा पनि ब्यापार भने घट्दै गएको स्थानीयले बताएका छन । प्रतिस्पर्धा बढेपछि ब्यापारीहरुले दाल, चामल, तेल, नुन समेतका दैनिक उपभोग्य सामाग्री गाडीमा बोकेर ग्राहक खोज्दै गाउँगाउँमै पुग्न थालेपछि पहिला पहिला जस्तो ग्राहक साहु र पसल खोज्दै बजार झर्ने परम्परा हट्न थालेको छ । सरकारी तथा वित्तिय संस्थामा आउने सेवाग्राहीहरु पनि विहान झर्ने र काम सकेपछि साँझ सजिलै घरमा पुग्ने भएकोले पालिका मुकाममा आधुनिक घरले भरिएपनि ब्यापार भने घटेको ब्यवसायीले गुनासो गरेका छन ।
‘पालिका मुकाम भएपछि बजारमा घरघडेरीको संख्या र मुल्य बढेको छ । ब्यापारको विविधता आएको छ तर कारोवार र मुनाफाको मात्र घटेको छ’ मालिका गाउँपालिका मुकाम रहेको दरवाङका खाद्यान्न ब्यापारी सन्तनाथ जैसीले भने, ‘ग्राहक आउलान र सामान बेचौंला भन्ने दिन हराए । अव ग्राहक पसल खोज्न हैन, पसले नै वोलेरो जीप वा ट्याक्टरमा सामान बोकेर ग्राहक खोज्दै गाउँ चाहर्नु पछ । हार्डवयर, रेष्टुरेन्ट र कपडा पसले बाहेक प्रायः पसले अव घरबाट संभव छैन ।

त्यस्तै, नयाँ सहरको उदयसँग पुराना र एतिहाँसिक सहरलाई विरासत जोगाउन धौ धौ भएको छ । सदरमुकाममा ठूलो चहलपहल ल्याउने शिक्षा, जिल्ला विकास समिति र बैंकका सेवा पालिका मुकामबाटै पाईन थालेपछि स्थानीयलाई सदरमुकाम झर्नु पर्ने बाध्यता हटेको हो । सदरमुकाममा सिमित संघिय र प्रदेश मातहतका प्रशासन, प्रहरी, सेना, अदालत, खानेपानी समेत थोरै मात्र कार्यालयले चहलपहल कायम गर्न नसकेका हुन ।
‘राज्य शक्तिको विकेन्द्रीकरण भएपछि स्वाभाविक रुपमा पुरानो विरासत भत्किएको छ’ म्याग्दी उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेश शाक्यले भने, ‘बेनीले आफ्नो विरासत गुमाउन थालेको संघियता लागु भएपछि मात्र होईन, करिव तीन सय वर्ष अघी पर्वत राज्यको राजधानी गुमाएसँगै सुरु भएको हो । अव बेनीले नयाँ योजना, शैली र मोडेल अपनाएर नयाँ स्वरुपमा विरासत फर्काउन सक्नु पर्छ ।’
समृद्ध चौविसे राज्य पर्वतको राजधानी रहँदा भारत–भोट व्यापारको केन्द्रको रुपमा बेनी बजारका स्वर्णकाल मानिन्छ । म्याग्दीको इतिहाँसका अध्यता चन्द्र प्रकाश बानियाँका अनुसार तिव्बतबाट मुस्ताङ्गी नाकाहुँदै सामान र पाल्पाहुँदै भारतिय सामान ल्याई विनिमय गर्ने केन्द्र भएकोले राजमल्लले बेनीलाई पर्वतको राजधानी बनाएका र गोर्खाली सेनाले वि.सं १८४३ असोज १४ गते बेनी कब्जा गरेपछि ‘राजधानी’ गुमेको हो ।
‘कालीगण्डकी करिडोरको सडक एलाईमेन्टले नै एतिहाँसिक सहर बेनीको भविश्य निर्धारण गर्ने छ । बेनी–जोमसोम–कोरला सडकबाट हुने ब्यापार र त्यहाँ आउने पर्यटकलाई आकर्षित नगरी बेनीको साख जोगिदैन’ बेनी नगरपालिकाका मेयर सुरत केसीले भने, ‘कालीगण्डकी करिडोर अर्न्तगत बेनी–जोमसोम–कोरला सडक र बेनीबाट ढोरपाटनहुँदै पश्चिम रुकुम, रोल्पाहुँदै नेपालगंञ्ज जोड्ने सडक बनाउन सके हाम्रो भविश्य हो ।’