FLASH NEWS
  • Loading...

कालीगण्डकी किनारमा तटवन्ध निर्माण सुस्त

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५३ पटक पढिएको
कालीगण्डकी किनारमा तटवन्ध निर्माण सुस्त

बाढीको उच्च जोखिमयुक्त जिल्ला सदरमुकाम बेनी बचावटकालागी सुरु गरिएको आरसिसि तटवन्ध लगाउने काम सुस्त भएको छ ।
पोखरा स्थित रुपाताल संरक्षण एकिकृत परियोजनाले बेनीबजारको पूर्वी किनारामा कालीगण्डकी नदी कटान रोक्न निर्माण थालिएको ७० मिटर लामो काउण्टर फोर्ड प्रविधीको आरसिसि वाल निर्माण गति सुस्त भएपछि स्थानीयले विरोध गरेका छन । ठेक्का लागेको कुल १ सय ३४ मिटर लामो आरसिसि वालमध्य ७० मिटर मात्र काउण्टर फोर्ड प्रविधीको वाल हो ।
‘कालीगण्डकी नदी नियन्त्रण तटवन्ध निर्माण कार्य तिन महिनादेखी जारी भएपनि ३० प्रतिशतको हाराहारीमा मात्र काम देखिन्छ । कालीगण्डकीमा पानीको सतह बढ्न थालेकोले जेठसम्म तीन महिनामा बाँकी ७० प्रतिशत काम मेट्न चुनौति देखिएको छ’ काँग्रेस नेता तथा पूर्व सभासद रेशमबहादुर बानियाँले भने, ‘कामको गुणस्तरमा गुनासो छैन तर ढिला हुँदा जोखिम बढेकोले नियामक निकाय र निर्माणकर्ताले समयमै सचेत बन्न आवश्यक छ । बेनीबासीले पनि निरन्तर चासो राखिनु पर्छ ।’
पोखरा स्थित रुपाताल संरक्षण एकिकृत परियोजनाले काउण्टर फोर्ड प्रविधीको आरसिसि वालको फाउण्डेसनसमेतको काम गाहृो भएपनि कन्ट्याक्टर पक्षले अपेक्षित काममा गति दिन नसकेको स्वीकार गरेको छ । निर्माण ब्यवसायीले परम्परागत ढर्रामा थोरै मेनपावर राखेर काम गर्न खोज्दा योजनाको प्रगति न्युन देखिएको आयोजनाको दावी छ ।
‘भैरहेको कामको गुणस्तर राम्रो छ । तर कामले अपेक्षित गति लिन सकेको छैन । काउण्टर फोर्ड प्रविधीको आरसिसि वालको ७० मिटरलाई मात्र हेर्दा ३५ प्रतिशतको हाराहारीमा भौतिक प्रगति छ । ठेक्का लागेको सवै काम हेर्दा ६० प्रतिशत भौतिक प्रगति छ’ रुपाताल संरक्षण एकिकृत परियोजनाका इन्जिनियर रामबहाुदर रानाभाटले भने, ‘कन्ट्याक्टरलाई कामको गति बढाउन ताकेता गरेका छौं । सव कन्ट्याक्टरको यो प्रविधीको काममा अनुभवको कमिले गर्दा गति लिन नसकेको देखिन्छ ।’
परियोजनाबाट रौताह–विएवी कन्ट्रक्सन जेभिले ९ करोड ४५ लाख रुपैयाँमा लिएर स्थानीय सहायक कम्पनी माउण्ट धवलागिरी कन्ट्रक्सनलाई काम जिम्मा दिएको छ । कम्पनीले काम गर्दागर्दै गत वर्ष कालीगण्डकीमा पानीको सतह छिटो बढेपछि रोक्का भएको काम अहिले निरन्तरता दिएको हो ।
‘सदरमुकाम संरक्षण कार्यक्रम अर्न्तगत बेनीबजारको पूर्वी कालीगण्डकी र दक्षिण–पश्चिम म्याग्दी खोलाको कटानबाट जोगाउन ८ मिटर अग्लो आरसिसि वाल निर्माण गरिरहेका छौं’ सहायक ठेकदार कम्पनी माउण्ट धवलागिरी कन्ट्रक्सनका राजु श्रेष्ठले भने, ‘जुनप्रविधीको काम नदीको सतह भन्दा धेरै तलदेखी काम भैरहेको छ, अति कठिन छ । सतहमुनीको काम सकिएकोले अव बाहिरको कामले गति लिन्छ । जेठसम्म सक्ने लक्ष्य छ ।’
नदी कटानबाट उच्च जोखिमयुक्त सहर बेनी बचाउन पछिल्लो एक दशकदेखी साविका जलउत्पन्न प्रकोप कार्यालय पोखरा, पछि डिभिजन कार्यालय बाग्लुङ र अहिले पोखरा स्थित रुपाताल संरक्षण एकिकृत परियोजनाले क्रमागत योजनामा राखी संरक्षणको काम गरिरहेका छन ।
साविकका जलउत्पन्न प्रकोप कार्यालय पोखरा, पछि सोही कार्यालयको डिभिजन कार्यालय बाग्लुङले करोडौं खर्चेर लगाएको आरसीसि तटवन्ध बाढीले बगाएपछि सोही क्षेत्रमा पुनः रुपाताल संरक्षण एकिकृत परियोजनाले क्रमागत योजनामा राखी संरक्षणको काम थालेको हो ।
दोभानदेखी तीन किलोमिटर उत्तर ग्याभिन जालीको तटवन्ध बनाई त्यसमाथी मोटरबाटो बनाउन समुदायले ०५५ सालदेखी सुरु भएको हो । ०७० सालदेखी जलउत्पन्न प्रकोप कार्यालयले पक्की तटवन्ध क्रमागत योजनामा सुरु गरेपनि पुरा नहुँदै बाढीले बगाएको हो ।