- Loading...
म्याग्दीमा ‘दर्ता विवाह’ गर्ने बढ्दै
- पुनहिल डट कम
- १ साल अघि
- २३७ पटक पढिएको
जिल्लामा वर्षेनी दर्ता विवाह गर्नेको संख्या बढ्दै गएको अदालतको अभिलेख तथ्याङ्कले देखाएको छ । हालै बेनी नगरपालिका–६ का २४ बर्षिय पुरुषले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाकी २३ वर्षीया तामाङ थरकी युवतीसँग बिहीबार जिल्ला अदालत म्याग्दीमा कोर्ट म्यारिज गरे । अस्ट्रेलियाको सिड्नीमा कम्प्युटर इन्जिनियर रहेका ती युवाले आफ्नो ५ वर्षे प्रेमलाई विवाहबाट वैधता दिएका हुन् ।
दुई फरक धर्म र जातिका युवायुवतीको प्रेमलाई परम्परागत मागी विधि अपनाउँदा लम्बेतान हुने भएपछि छिटो र भरपर्दोका लागि कानुनी विवाह रोजेको ती दम्पतीले बताए । टाढाका जिल्ला, त्यसमाथि अन्तरजातीय र अन्तरधार्मिक जोडीले विधिपूर्वक निवेदन लिएर आएपछि जिल्ला न्यायाधीश कृष्णप्रसाद नेपालले केरकार गरे ।
‘किर्ते’ विवाह भए/नभएको निश्चित गर्न विवाहका साक्षीसँग बयान लिए । विवाहका लागि सिफारिस गरेका जनप्रतिनिधि (वडाध्यक्ष) लाई समेत झिकाएर थप सोधपुछ गरे । वैदेशिक रोजगारी प्रयोजनका लागि कोर्ट म्यारिजमार्फत ‘किर्ते’ विवाह गर्ने बढेपछि बढी सचेत हुनुपर्ने अदालतले जनाएको छ ।
‘वैदेशिक रोजगारीमा जाने प्रयोजनकालागी किर्ते विवाह गर्ने चलन बढ्दो छ । विधी पुर्याएर आएपछि रोक्न मिलेन तर सावधानी त गराउनु पर्यो नि , म्याग्दीकै धवलागिरी गाउँपालिकामा वैदेशिक रोजगारीमा जान किर्ते बाबु बन्न खोज्दा अदालतले लनै संजाय गरेको छ । त्यसैले समयमै सचेत हुन जरुरी छ’ जिल्ला न्यायाधिस नेपालले भने, ‘केही बर्षपछि अहिले भएको किर्ते विवाहको नकरात्मक समस्या विकराल भएर देखिनेवाला छ । म स्थानीय सरकार मार्फत सचेतना कार्यक्रम चलाउने पक्षमा छु ।’
युवकका अनुसार दुवैको परिवारमा उनीहरूको प्रेम सम्बन्धबारे जानकारी थियो । ‘हामीसँग समय कम भएकोले कोर्ट म्यारिज रोजेका हौं,’ जिल्ला अदालत बेनीमा विवाह गरेपछि ती युवकले भने ।
अदातलमा उपस्थित भै दर्ता विवाह गर्ने बानियाँ र तामाङ पहिलो जोडि भने हैनन । २०७५ साउन १ देखि देवानी कार्यविधि संहिता सुरु भई कोर्ट म्यारिजको अधिकार अदालतलाई दिएको एक महिनापछि नै भदौ ५ मा दक्षिण कोरियन नागरिक लुङदुजिङले म्याग्दी धौलागिरि गाउँपालिका–७ की प्रेममाया मगरसँग पहिलो कोर्ट म्यारिज गरेका थिए । सोही वर्ष दोस्रो कोर्ट म्यारिज क्यानेडियन युवकले म्याग्दीको युवती र पाँचौं बेलायती युवकले म्याग्दीकी युवतीसँग कानुनी विवाह गरेको अभिलेखमा छ । स्रेस्तेदार तेजप्रसाद पौडेलका अनुसार जिल्लामा बर्सेनि कोर्ट म्यारिज गर्नेको संख्या बढ्दै गएको अदालतको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा १०, ०७६/७७ मा ८, ०७७/०७८ मा बढेर १२ दम्पतीले कोर्ट म्यारिज गरेका थिए ।
आव ०७८/७९ मा अझै बढेर विवाह संख्या २० पुगेको थियो । चालु आवको फागुन ११ सम्म ११ वटा कोर्ट म्यारिज भएका छन् । संसारभर अदालती विवाह (कोर्ट म्यारिज) को मान्यता पाइने भएकाले जिल्ला अदालत वा विदेशस्थित कूटनीतिक नियोगमा निवेदन दर्ता गराएर विवाहको प्रमाणपत्र लिने क्रम बढेको हो । अदालती विवाह गर्नेमा अधिकांश विदेश गई स्थायी बसोबास (पीआर) को प्रमाणपत्र प्राप्त केटा वा केटी, विदेशी नागरिकसँग विवाह गर्ने केटा वा केटी र पीआर नपाएका तर युरोप, अमेरिका, अस्ट्रेलिया जान तयारीमा रहेका युवायुवती बढी छन् ।
कानुनले तोकेको उमेर पुगेका युवायुवती आफैं उपस्थित भई दुई जना साक्षी, अविवाहित भएको सम्बन्धित स्थानीय तहको वडाको सिफारिस र कम्तीमा १५ दिनदेखि युवायुवतीसँगै बसेको सम्बन्धित वडाको पत्रसहित अदालतमा आवेदन दिएमा कानुनी रूपमा विवाह हुन्छ । अदालतका श्रेस्तेदार पौडेलका अनुसार जिल्लामा अभिलेख भएका कानुनी विवाहको तथ्यांक हेर्दा विदेशी पीआर वा स्थायी आवासीय सुविधा पाएकाहरूले बढी यस्तो विवाह रोज्ने गरेको देखिन्छ । उनले थपे, ‘नेपाली नागरिकबीच नै कोर्ट म्यारिज गर्नेमा अन्तरजातीय वा प्रेमका आधारमा विवाह गर्ने धेरै छन् ।’