- Loading...
राजु राम्जालीकाे लाेभलाग्दाे कौसीखेती
- पुनहिल डट कम
- १ साल अघि
- ५३८ पटक पढिएको
सहरमा घर हुने सवैको करेसावारी र खाली जग्जा हुँदैन । खाली जग्गा र करेसावारी नभएपछि तरकारी खेती गर्न चाहे पनि कहाँ गर्ने ? तर जहाँ इच्छा त्यहाँ उपाय भने झै अव घरको छतमै मज्जाले कौसी खेती गरी तरकारी फलाउन सकिन्छ । त्यसैका उदाहरण मध्य हुन, बेनी नगरपालिका, ७ हुलाकचोकका राजु राम्जाली ।
मध्य माघसम्म आकासबाट पानी नपर्दा कृषकका बारीमा लगाएको अन्नवाली, फलफुल तथा तरकारी खेती सक्न थालेको छ । तर राम्जालीको कौसीवारीमा भने लटरम्म स्टेवेरी फलेका/पाकेका छन । छतभरी फलामका र्याक बनाएर राखिएका प्लाष्टिकका बाल्टी, माछा राख्ने क्यारेट, प्लास्टिक ब्याग र गमलाभरी छतभरी काउली, गोलभेडा, हरीयो खुर्सानी, लसुन, प्याज, रायो साग, सिमी लगाएत हिउँदे तरकारीले हराभरा छ ।
रासायनीक मलको प्रयोग बिना छतमै तरकारी फलाउन थालेपछि पछिल्लो वर्षदेखी राम्जाली परिवारलाई बाहिर बजारमा गएर हरियो तकारी, स्टेवरी, काँक्रासमेत फलपुल किन्नु परेको छैन । आफ्नो परिवारलाई मात्र हाईन, घरमा आएका पाहुनालाई पनि कासीबारीको केही न केही तरकारी, सागसब्जी उपहार दिएरै पठाउँछन ।
‘सुरुमा फर्सदको समय उपयोग गर्न कौसी खेती सुरु गरेको हुँ । विस्तारै कौसी खेतीमा तल लागे झै भएको छ । विहान–बेलुका कौसीका तरकारी, फुलहरुमा मलजल र स्याहार गर्न नपाए के के गुमाए झै लाग्छ’ बेनीका कौसीखेती अगुवा राजु राम्जाली मगर भन्छन, ‘मेरो सानो घरको छतमा लगाएको तरकारीले मेरो, घरमा बस्ने परिवार र आफन्तहरुलाई सिजन अनुसारको तरकारी पुगेको छ ।’ राम्जालीले थपे, ‘ब्यवस्थित र नियमित हेरचाह गरे कौसीखेतीले घरको छत विग्रने हुन्न । खेती गर्दा छतको भुईमा भने गर्नु हुँदैन ।’
कृषी ज्ञान केन्द्र म्याग्दीले हालै गरेको कृषी मेला प्रर्दशनीमा राम्जालीको कौसी खेतीलाई ५ हजार नगदसहित उत्कृष्ट पुरस्कार जित्यो पनि । राम्जालीले कृषी मेलामा स्टेवरी, लसुन, ब्रोकाउली, टमाटर समेतका खेती प्रर्दशनीमा राखेका थिए ।
राम्जालीले सिजन अनुसारका तरकारी रोप्छन, फलाउँछन । उनको कौशीवारीमा तरकारी मात्र होईन विभिन्न जातका फुलहरु पनि रोपेका छन । ति फुलहरु सिजन अनुसार ढकमक्क फुल्छन । फलामका अग्ला क्यारी बनाई त्यसमाथी राखेर तरकारी खेती गरिने भएकोले माटो र पानीले सोझै घरमा छतमा छुँदैन । माटो र पानी छतमा नजम्ने भएकोले घरको छत विग्रने समस्या पनि हुँदैन ।
घरका छत र वरण्डाको उपयोग गरी शहरी क्षेत्रमा कौसी खेती गर्ने चलन बढेको छ । राजु राम्जालीले मात्र होईन, सदरमुकाम बेनीमा करेसावारी नभएका कम्तीमा ८० जनाले कौसीमा खेती गर्ने गरेका छन । साँघुरो र घना वस्ती भएको बेनीका प्रायः घरधनीको करेसावारी छैन । कौसी खेती गर्न बेनी नगरपालिकाले पछिल्ला तीन वर्षदेखी सीप (तालिम(, विउविजन र कम्पोष्ट विन, हजारी, ग्रो ब्याग समेतका लजेष्टिक सहयोग गर्दै आएको छ । बेनी नपा, ७ वडा कार्यालयले आव ०७७/७८ मा १ लाख ७५ हजार खर्चेर ४० जनालाई कौसीखेती तालिम र ०७८/०७९ मा २ लाख ५० हजार खर्चेर थप ४० जनालाई कौसीखेती तालिम दिएको थियो ।
‘घरको खाली ठाउँको सदुपयोग गरी सवैका घरमा संभव भएसम्म अर्गानिक, ताजा तरकाी उत्पादन गर्ने, विषादी मिश्रित तरकारी उपयोग घटाई आर्थिक बचत गर्न सकयोग पुर्याउने लक्ष्य राखेका छौं’ बेनी नगरपालिका, ७ का वडाध्यक्ष रमेश श्रेष्ठले भने, ‘पछिल्ला केही वर्षदेखी वडा कार्यालयले कौषी खेती गर्ने सीप र लजेष्टिक सपोर्ट गर्दै आएको छ । कौसीखेतीले घरबाट निक्लने कुहिनेवस्तुको घरमै उपयोग गरी फोहोर ब्यवसस्थापनमा सहयोग पनि पुगेको छ ।’
वडाध्यक्ष श्रेष्ठले थपे, ‘ कौसीखेतीको प्रभावकारी भएको सुनेको छु । र तालिम र अनुदान सामाग्री लिएका कौसीकृषकको घर–घर अनुगमनमा जाँदैछु । प्रभावकारीता हेरेर नगरपालिकाले नगरको कुहिने फोहोर उठाउन बन्द गर्छ, सवै फोहोर अव घरमै कम्पोष्ट मल बनाउनु पर्छ ।’
कौसी खेती घरको छतमा तरकारी खेती गर्ने मात्र होईन साँस्कृती संरक्षणमा पनि उपयोगी हुन थालेको छ । हालै बेनी नगरपालिका, ८ हस्पिटलचोकका हिमबहादुरकी आमा दुर्गी भण्डारीको स्वर्गारोहण भयो । हिन्दु परम्परा अनुसार १३ औं दिन १० दानमा मट्टीदान (माटो दान) गर्नु पर्ने भयो । मट्टी दान गर्दा आफ्नै जग्गाको माटो हुनु पर्ने तर भण्डारीले जग्गाको सवै क्षेत्रफलमा घर बनाएका थिए । दशदानको समयमा आफन्त प्रेमबहादुर भण्डारी माटो खोज्न घरको छतमा दौडिए । घरको छतमा गरिएको कौसीखेतीबाट माटो ल्याएर, दशदानमा मट्टीदान पनि थपे ।
‘गाउँमा काजकिरियामा दशदान गर्दै मट्टीदानकालागी खेतबारीबाट माटो ल्याउँथ्यौं, अहिले सहरमा घरबाहेक जग्गा छैन धन्न छतमा कौसीखेती गरेको थिएँ र आज आमाको किरियामा दशदानमा माटो पनि मिसाउन पाउँ’ किरिया उठ्दै गरेका हिम भण्डारीले भने, ‘सहरी क्षेत्रमा कौसीखेती घरायसी कुहिने फोहोर ब्यवस्थापन गर्ने र धेरथोर तरकारी उत्पादन गर्ने थलो मात्र होईन रहेछ, हाम्रो हिन्दु धार्मिक संस्कार संरक्षण गर्ने माध्यम पनि रहेछ ।’