FLASH NEWS
  • Loading...

बेनी–गलेश्वर सडक साेमबारदेखी १५ दिन दैनिक ६ घण्टा बन्द हुने

  • पुनहिल डट कम
  • १ साल अघि
  • १४४ पटक पढिएको
बेनी–गलेश्वर सडक साेमबारदेखी १५ दिन दैनिक ६ घण्टा बन्द हुने

बेनी–जोमसोम–कोरोला सडकको प्रवेश विन्दुमा पर्ने तीन किलोमिटरको बेनी–गलेश्वर सडकखण्ड दैनिक ६ घण्टा बन्द हुने भएको छ ।

आयोजना, निर्माण व्यवसायी र सुरक्षा अधिकारीको बैठकले सडकको स्तरोन्नति गर्ने कामलाई गति दिनका लागि बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समय फागुन १ गतेदेखि १५ गतेसम्म बिहान ६–८, दिउँसो ११.३०–१.३० र राति ८.३०–११ बजेसम्म यातायातका साधन आवतजावत बन्द गरिने प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।

एम्बुलेन्स तथा साना सवारी साधनले भने बेनी नगरपालिका, ८ डल्लेपिपलबाट माथि राउवडा हुँदै सल्लेरीबाट गलेश्वर झर्न सकिने वैकल्पिक मार्ग अपनाउन सक्छन् । तर साँघुरो र अप्ठ्यारो भएकोले ठूला यात्रु बस, होचा सवारी र मालवाहक सवारीले वैकल्पिक मार्ग प्रयोग गर्न सक्ने छैनन् ।

उक्त सडकखण्डको विस्तार र कालोपत्र तहमा स्तरोन्नति गर्न जयधनञ्जय–मंगलादेवी–सुवास जेभीले १२ करोड २५ लाख ९४ हजारमा सम्झौता गरेको छ । सम्झौताअनुसार पहराको डिल काट्न, कालीगण्डकी नदी किनाराबाट फाउन्डेसन उठाइ सडक नालीसहित ११ मिटर फराकिलो र ८ मिटर चौडा कालोपत्र गरिने छ । पूर्वाधार विकास कार्यालय म्याग्दी र कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजनाबीच स्वामित्व विवाद हुँदा सडक निर्माण अलपत्र परेको थियो ।

जिल्ला सदरमुकाम मोटरबाटोले जोड्ने नीतिअनुसार ०५८ मंसिरदेखि बेनी–जोमसोम ७६ किमी सडक निर्माण सेनालाई दिइएको हो । सेनाले ०६४ फागुन २३ गते सेना दिवसको अवसरमा पाइलट ट्रयाकमा यातायात खुला गरेको थियो । सेनाले बेनी–जोमसोम ट्रयाक ०६९ वैशाख २२ गते सडक विभागलाई हस्तान्तरण गरेको थियो ।

सडक विभागले बेनी–जोमसोम–कोरोला सडकलाई राष्ट्रिय प्राथकितायुक्त योजनामा समावेश गरी छिटोछरितो काम गर्न आव ०७२ देखि कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजना स्थापना गरी काम थालेको थियो । आयोजनाले बेनी–जोमसोम ७६ किलोमिटरलाई आव ०७३/०७४ जेठमा सबै संरचना र ७ मिटर कालोपत्रसहित ११ मिटर चौडा सडक गर्न ठेक्का लगाउँदा सडक विभागले बेनी–गलेश्वरसम्मको ३ किलोमिटर सडक हस्तान्तरण गरेको थिएन ।