FLASH NEWS
  • Loading...

जहिल्यै खानेपानी सपना अधुरै

  • पुनहिल डट कम
  • १ साल अघि
  • ९४ पटक पढिएको
जहिल्यै खानेपानी सपना अधुरै

बेनी नगरपालिका, ५ पुलाचौर, ६ अथुङ्गे र ९ घतानका जनतालाई धितमरुन्जेल पानी पिउने सपना दुई दशक पुग्दापनि पुरा हुन सकेको छैन ।
रघुगंगा गाउँपालिका, ६ (साविक पाखापानी गाविस)को कालीवराह, नर्वाङ, भाराटार मुहान जोडेर पाखापानी, झिं, पात्लेखेत तथा घतानका केही वस्ती समेट्दै मुख्य पुलाचौर र अथुङ्गेवासीलाई खानेपानी वितरण गर्न बाजेको पालामा सुरु गरिएको बृहत घोप्टेखोला खानेपानी आयोजना नेता र दलकालाागी भोट माग्ने माध्यम बन्दै आएको छ ।
‘घोप्टेखोलाको पानी पहिलो चरणमा पुलाचौर, अथुङ्गेसम्म पानी झरेको हो । तर योजना पुरा नहुँदै, राज्य पुनःसंरचनाहुँदा नियामक निकाय छिन्नभिन्न भए । घोप्टेखोला योजना पनि भताभुङग बन्यो’ बृहत घोप्टेखोला खानेपानी उपभोक्ता समितिका अध्यक्ष बलबहादुर खत्रीले भने, ‘पुरानो अलपत्र योजनालाई समेत सुधारगरी संघियतापछि बनेको संघिय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना मार्फत बृहत घोप्टेखोला खानेपानी आयोजनाको प्रकृया सुरु भएको हो ।’
पाखापानी स्थित मुहानबाट ७७ किलोमिटर लामो मुख्य पाईपबाट पानी ल्याई ८८ किलोमिटर लामो वितरण पाईपबाट २ हजार ५ सय ५३ घरधुरीमा खानेपानी पुर्‍याउन घोप्टेखोला खानेपानी योजना प्रस्ताव भएको पनि १० वर्ष पुगेको छ ।
साविक जिल्ला विकास समिति म्याग्दीले आव ०५८/०५९ सालमा तयार पारेको पञ्चवर्षिय आवधिक योजनाबाट घोप्टेखोला खानेपानी आयोजनाको चर्चा सुरु भएको हो । लामो समयदेखी कुरा धेरै काम नहुने भएको यो योजना कार्यान्वयन चरणमा पुगेको संघिय खानेपानी तथा ढल ब्यवस्था आयोजना म्याग्दी कार्यालयले जनाएको छ ।
३८ करोड १० लाख १४ हजार लागत अनुमान गरिएको वृहत घोप्टेखोला खानेपानी आयोजनाको १५ प्रतिशत लगानी उपभोक्ताले ब्यहोर्नु पर्ने सर्त अनुसार उपभोक्ताले भागमा परेको ८ करोड खर्च जुटाउन नसक्ने बताएपछि ठेक्का प्रकृया रोकिएको आयोजनाले जनाएको छ । योजना सम्पन्न हुँदा ११ हजार ९ सय १५ जनसंख्या लाभान्वीत हुने प्रस्ताव छ ।
त्यस्तै, जनतालाई जहिल्यै आसा देखाउने अर्को योजना हो, चिमखोला–भगवती–पिप्ले वृहत खानेपानी योजना । रघुगंगा गाउँपालिका, ७ चिमखोलाको सिरानमा करिव २ हजार ५ सय मिटर उचाईमा रहेका कालीखोला, घुस्कुनामुहानको पानी जोडेर ३७ किलोमिटर लामो मुख्य पाईपमा पानी ल्याई रघुगंगा गापा, २ भगवती र ३ पिप्लेका २ हजार ३ सय ७ घरधुरीका १५ हजार जनसंख्यालाई सफा खानेपानी खुवाउने लक्ष्य छ ।
चिमखोला–भगवती–पिप्ले वृहत खानेपानी योजनाले पनि ०६२/०६३ को जनआन्दोलनपछि राजनैतिक दल र तिनका नेतालाई भोट माग्ने माध्यम बन्दै आएको छ । तर योजना कार्यान्वयन गर्ने क्रममा भने स्थानीवासीले सर्त अनुसार १५ प्रतिशत रकम ब्यहोर्न नसक्ने भने पछि ठेक्का लाग्न सकेको छैन ।
चिमखोला–भगवती–पिप्ले वृहत खानेपानी योजनामा एक दशकदेखी साविसक गाविस, जिल्ला विकास समितिहुँदै स्थानीय तहमा विभिन्न चरणमा छलफल र अर्न्तक्रिया भएपनि ०७७ मा संघिय खानेपानी तथा ढल निकास कार्यलय स्थापना भएपछि मात्र योजनाले पुनः कार्यान्वयन प्रकृयामा गएको हो ।
‘समुदाय स्तरमा वर्षौदेखी चर्चा र छलफलमा रहेका जिल्लाका दुई वटा वृहत योजना कार्यान्वयन अव चरणमा छन । योजनामा समुदायको लागत सहभागिता जुट्न नसकेपछि योजनाहरु टेण्डर प्रकृयामा जान सकेका छैनन’ संघिय खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाका इन्जिनियर नविन सुवेदीले भने, ‘आयोजनामा समुदायले ब्यहोर्नु पर्ने १५ प्रतिशत लागत सहभागितामा संशोधन भै १० प्रतिशतमा झारिएको र स्थानीय तहहरु स्थानीय लागत सहभागितामा सुनिश्चितता गरेकोले यस आव भित्रै दुवै योजना टेण्डर गर्ने तयारीमा छौं ।’ इन्जिनियर सुवेदीले थपे, ‘योजनाको डिपिआर बनेकै धेरै वर्ष भएकोले अहिले आयोजनाको पुनः झिल्ड भेरिफिकेसन गरिरहेका छौं ।’