- Loading...
बाटो बिराएको कांग्रेस र विश्वासको मत
- पुनहिल डट कम
- २ साल अघि
- २७६ पटक पढिएको

पवन अाचार्य –
प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले रोष्टममा उभिएर १० मिनेट खर्चे र पुष्पकमल दाहाल नेतृत्वको सरकालाई विश्वासको मत दिने उद्घोष गरे । त्यसपछि उनी प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हात मिलाउँदै सरासर प्रतिपक्षी दलका लागि छुट्याइएको स्थानमा गएर बसे ।
सरकारलाई समर्थन दिएको दलका नेता प्रतिपक्षी बेञ्चमा गएर बसेको दृश्य मंगलबार संसद भवनमा हेर्न लायक थियो । संसदीय अभ्यासको मान्यता के हो भने सरकार सत्तारुढ दलको र संसद प्रतिपक्षीको हो । यो मूल्य र मान्यतालाई नेपाली कांग्रेसको कदमले ठाडै उल्लंघन गरेको छ ।
संसदमा प्रमुख प्रतिपक्षी दलको नेतालाई संविधानले समेत चिन्छ । संवैधानिक परिषदको सदस्य हुने भएकाले पनि प्रतिपक्षी दलको नेताको भूमिका विभिन्न संवैधानिक नियुक्तिहरुमा हुने गर्छ । तर, सरकारको पक्षमा मतदान गरेपनि प्रतिपक्षी बेञ्चमा बस्न कांग्रेसलाई कुनै कानूनी बाधा पर्दैन । किनभने सरकारलाई मत दिने र फेरि प्रतिपक्षी कित्तामा उभिने भनेको मुलतः नैतिक प्रश्न हो । यसमा कांग्रेस पूरै चुकेको छ । हुन त सरकारकै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कार्यभार सम्हाल्ने बेलामा नै मन्त्रिपरिषदमा प्रतिपक्षीको भूमिका निर्बाह गर्ने अभिव्यक्ति दिएर यसअघि नै संसदीय र प्रधानमन्त्री पद्दतिको धज्जी उडाइसकेका छन् ।
संसदीय अभ्यासमा भर्खरै आएको नागरिक उन्मुक्ति पार्टीले पनि सरकारलाई विश्वासको मत दिने तर आफ्ना माग पूरा नभएसम्म प्रतिपक्षमा बस्ने घुर्की लगाएर आफूलाई संसदीय अभ्यासको सिकारु भएको जनाउ दिएको छ ।
सरकार जनप्रतिनिधिहरुको थलो संसदप्रति सदैव जवाफदेही हुनुपर्छ । त्यसैले संसद सरकारलाई खबरदारी गर्ने थलो पनि हो । सांसदहरुले दलविशेष होइन, जनताप्रति जवाफदेह भएर सरकारी कामको निगरानी गर्नुपर्ने हुन्छ । यस्तो बलियो प्रतिपक्षीको भूमिका कत्तिको महत्वपूर्ण हुन्छ भनिरहन पर्दैन । अब यो भूमिकाबाट पनि काँग्रेस नैतिक रुपमा च्यूत हुनेछ ।
संविधानले परिकल्पना गरेको शासकीय स्वरुप र बहुदलीय प्रतिस्पर्धात्मक संसदीय शासन प्रणालीले विपक्षी रहित संसदको परिकल्पना गर्दैन । सरकारले बाटो बिराए र संसदको गरिमा जोगाउन नसके त्यसको रक्षाको जिम्मा प्रतिपक्षीको हुने हो । तर, यहाँ त आफ्नै भूमिकाको रक्षामा पनि खरो रुपमा कांग्रेस उत्रिन नसकेको देखियो ।
गठबन्धन गरेर चुनावमा गएको र माओवादी केन्द्रका सांसदलाई कांग्रेसको मत समेत परेकाले अहिले सरकारको नेतृत्व गर्ने दाहाललाई उनकै पार्टीको मतबाट सांसद बनेका कांग्रेसीले विश्वासको मत दिनु स्वभाविक भन्ने टिप्पणी गर्नेहरु पनि छन् । तर, चुनावअघि गठबन्धन गर्नेहरुले चुनावी परिणामपछि किन गठबन्धन टिकाउन सकेनन् भन्ने उत्तर पनि दिनसक्नुपर्छ । नभए गठबन्धन ठीक थिएन भन्ने कांग्रेसभित्रको झिनो मतलाई पुट मिल्छ ।
कसै गरी सत्ताको च्याँखे दाउ लागिहाल्छ कि भनेर विश्वासको मत दिने निर्णयमा कांग्रेस पुगेको भए त्यो उसको राजनीतिक, संवैधानिक र नैतिक अवसानको प्रस्थान बिन्दु बन्नेमा कुनै सन्देह छैन । आवश्यक परेको बेला संसदबाटै वैकल्पिक सरकार दिने सामर्थ्य राख्ने प्रतिपक्षीमा नरहेर विश्वासको मतको सत्तारुढ लाइनमा लाग्नु कांग्रेसको आफ्नै बहुलवादी सैद्धान्तिक धर्मभित्र पर्दैन ।
बेलायती प्रधानमन्त्री विन्सटन चर्चिलले भनेका थिए, ‘कतिपयले आफ्नो सिद्धान्तका खातिर दल परिवर्तन गर्छन् । केहीले दलका खातिर आफ्ना सिद्धान्तहरु ।’ दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिनपर्छ भन्ने कांग्रेसीहरु दोस्रो कोटीमा पर्छन् । किनभने जतिसुकै निरंकुश सरकार हुँदा पनि लोकतन्त्रको आशा जगाउने काम सबल प्रतिपक्षीले गर्छ । कांग्रेसले नेपालीजनको त्यही एउटा आशामा समेत तुषारापात गरेको छ । *टिप्पणीकार रेडियाे कान्तिपुरका समाचार प्रमुख हुन । रेडियाे कान्तिपुरकाे अनलाइनबाट लिएका हाैं ।-सम्पादक

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
