FLASH NEWS
  • Loading...

धवलागिरीको १८ औँ गाउँसभाबाट थप बजेट पारित

  • पुनहिल डट कम
  • १ साल अघि
  • ८२ पटक पढिएको
धवलागिरीको १८ औँ गाउँसभाबाट थप बजेट पारित

धवलागिरी गाउँपालिकाको सोमबार मुनामा सम्पन्न १८ औँ गाउँसभाबाट चालु आर्थिक वर्ष २०७९÷०८० का लागि थप बजेट पारित भएको छ ।

गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत गर्नुभएको रु. तीन करोड ३४ लाख ११ हजार ६२० बजेट विभिन्न योजना तथा कार्यक्रमलाई बिनियोजन गर्ने प्रस्ताव सर्वसहमतिमा पारित भएको हो ।

“गत आर्थिक बर्षमा खर्च हुन नसकेको मौज्दात बजेट १७ वटा शिर्षकमा विनियोजन गरिएको छ,” गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले भने “निर्माणाधिन अधुरा आयोजनालाई पुर्णता दिन प्राथमिकता दिएर बजेट विनियोजन गरेका हौ ।”

निर्माणाधीन प्रशासकीय भवनलाई रु. एक करोड, विपद् कोषमा रु. पचास लाख, मराङ खानेपानी योजनालाई रु. ७३ लाख ३० हजार, गुर्जा स्वास्थ्य चौकीलाई रु. २३ लाख, लुलाङ वडा कार्यालयलाई रु. १२ लाख, ताकम वडा कार्यालयलाई रु. सात लाख पचास हजार विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले सुनाए ।

यी आयोजनाहरु यसअघिका आर्थिक वर्षमा ठेक्का सम्झौता भएर निर्माणाधिन थिए । चालु आर्थिक वर्षमै सम्पन्न गराउनका लागि थप बजेट बिनियोजन गरिएको हो । गत बर्खाको बाढीले क्षति पुगेका ४ वटा लघुजलविद्युत परियोजना संरक्षणका लागि रु. १५ लाख, सडक मर्मतका लागि रु. १५ लाख, ह्युमपाइप खरिदलाई रु. १० लाख, खिबाङ–खाम्ला सडकलाई रु. १० लाख ३१ हजार ६२० बिनियोजन भएको छ ।

लुलाङ आधारभुत विद्यालयलाई रु. सात लाख, गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगितालाई रु. तीन लाख, खानेपानी पाइप खरिदलाई रु. तीन लाख, बाँसबोट मोटरबाटोलाई रु. एक लाख ५० हजार, शैक्षिक प्रोफाइलको लागि रु. एक लाख पचास हजार, म्याग्दी महोत्सवलाई रु. एक लाख र महोत्सवमा खेलाडी सहभागिताका लागि रु. एक लाख विनियोजन भएको छ ।

लेखा समितिका संयोजक देउप्रसाद छन्त्यालले प्रस्तुत गर्नुभएको बेरुजु फस्र्यौट सम्बन्धी प्रतिवेदन पारित गरेको सभाले वडा समितिबाट सिफारिस भएका केही योजनाहरुको शिर्षकान्तर गरिएको छ ।