- Loading...
अन्धगल्छीमा तातोपानी जोड्न झोलुङ्गे वन्दै
- पुनहिल डट कम
- २ साल अघि
- २६० पटक पढिएको
जिल्लाको अन्नपूर्ण गाउँपालिका २ भुरुङ र ५ नम्बर पाउद्धार वेंशीमा पर्ने दुई प्राकृतिक तातोपानीको मुहान र पोखरी जोड्न झोलुङ्गे पुल बनाईने भएको छ ।
उक्त पुल बनाउन १५ लाख बजेट विनियोजन भै पुलको डिजाईन र लईइष्टिमेटको काम भैरहेको निर्माण जिम्मा पाएको पूर्वाधार कार्यालय म्याग्दीले जनाएको छ । प्रारम्भीक अनुमानमा पुल ५०–६० मिटर लामो हुने छ ।
सदरमुकामदेखी २१ किलोमिटर उत्तर बेनी–जोमसोम सडक छेउको कालीगण्डकी नदी किनारामा रहेका भुरुङतातोपानी र पाउद्धार तातोपानीका पोखरीलाईं झोलुङ्गेपुलले जोड्ने ओझेलमा रहेको तातोपानीलाई ब्यवसायीक उपयोगमा ल्याउन लागिएको हो ।
दुई वटा तातोपानीका मुहान र पोखरीलाई झोलुङ्गेपुलले जोडेपछि दुवै प्राकृतिक तातोपानीका पोखरीबाट स्थानीयले ब्यवसायीक लाभ बृद्धी र स्थानीय सरकारको राजश्व संकलनमा बृद्धी हुने भएकोले झोलुङ्गे पुल बनाउन थालिएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ ।
‘बेनी–जोमसोम सडक किनारमा वारीपट्टीको तातोपानीको मुहान वर्षैंदेखी ब्यवसायीक रुपमा उपयोग भैरहेको छ । तर ठिक पारीको कालीगण्डकी नदी किनारामा रहेको अर्को तातोपानीको मुहानको सहज पहुँचमार्ग नहुँदा ओझेल थियो । अव आर्थिक, सामाजिक तथा श्वास्थ्यलाभको हिसावले अधिक उपयोग हुन्छ’ अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष दीवा तिलिजाले भनिन, ‘सिमित स्थानीयले परम्परागत रुपमा प्रयोग गरेको पाउद्धार तातोपानी अव वृहत र ब्यवसायीक रुपमा विकास हुने छ । पर्यटकको चहलपहल बढ्ने र स्थानीय र पालिकाले समेत लाभ लिने छन ।’
मुस्ताङ भ्रमण र अन्नपूर्ण चक्रिय पदमार्गको संगमस्थलको रुपमा रहेको भुरुङ तातोपानी पर्यटकले रिल्याक्स गर्ने थलोको रुपमा विश्वभर प्रख्यात छ । सोही तातोपानीको मुहानदेखी कालीगण्डकी नदीपारी अर्को किनारामा पाउद्धार तातोपानी अवस्थित भएपनि सहज बाटो नहुँदा ओझेलमा थियो ।
अहिले अन्नपूर्ण गाउँपालिकाले वडा नं २ मा रहेको भुरुङतातोपानी कुण्डलाई ४० लाख ५ सय ५५ र वडा नं ५ पाउद्वारपट्टी रहेको तातोपानी पोखरीलाई १० लाख ५५ हजार ५ सय १५ रुपैयाँमा ब्यववस्थापन ठेक्का दिएको छ ।
सडक छेउमा रहेको भुरुङ तातोपानीको पोखरीबाट स्थानीयले परम्परादेखी नै आर्थिक लाभ लिँदै आएपछि सहज बाटो नहुँदा ब्यवस्थित हुन नपाएकोले पाउद्वार तर्फको तातोपानीको मुहान ठूलो र प्रशस्त तातोपानी भएपनि ब्यवसायीक प्रयोग हुन सकेको छैन ।
‘ओझेलमा रहेका दुई वटा महत्वपूर्ण आर्थिक क्षेत्र तथा प्राकृतिक सम्पदालाई जोड्न गाउँपालिकाको माग अनुसार तातोपानीमा झोलुङ्गे बन्न लागेको हो’ पूर्वाधार कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले भने, ‘भुरुङतातोपानीमा बन्न लागेको झोलुङ्गे पुलले स्थानीय मानिसकालागी नदी वारपार गर्न सहज हुने मात्र होईन स्थानीयको आर्थिक जीवन स्तर सुधार गर्न र स्थानीय सरकारको दीगो आयस्ता बढाउन पनि महत्वपूर्ण रहेको छ ।’
ग्रामिण जनजीवनको प्रमुख आधार मानिएको झोलुङ्गे पुलले मानिसको जीवन सहज मात्र हाईन आर्थिक क्षेत्रलाई जोड्न , सामाजिक विकासमा उल्लेख्य सहयोग पुर्याएको छ । धेरैभन्दा धेरै जनतालाई आर्थिक रुपमा लाभान्वित बनाउन सहयोगी बन्ने गरेका छन ।
हिंडेर तर्न नसक्ने नदी वा खोला पार गर्न, छिटोछरितो यात्राकालागी रैथाने प्रविधीमा आधारित काठे पुल वा हिउँदे पुल फड्के वा साँघुको स्थाई विकल्पको रुपमा म्याग्दी र बाग्लुङ्गको पश्चिमी भेगका रुम, तमान क्षेत्रका लोहार (कामी जाती)ले स्थानीय खानीबाट झिकेका फलामका साङ्लो बनाई झोलुङ्गे पुलको विकास गरेको मानिन्छ । खोलाको वल्लो र पल्लो किनारामा साङ्लो झुण्डाएर (झोलुङ्गो ) बनाईएकोले झोलुङ्गे पुल भनिएको हो ।
झोलुङ्गे पुलको क्षेत्रमा १८ बर्षदेखी काम काम गरिरहेको गैहृसरकारी संस्था मिलनको झोलुङ्गे पुलको डिटेल अभिलेख अनुसार जिल्लामा विभिन्न नदी तथा खोलामा २ सय १२ वटा झोलुङ्गे पुल रहेका छन । बृहत मर्मत गर्नु पर्ने अवस्थाका २१ वटा झोपु छन । अति जोखिमपूर्ण अवस्थाका झोपुको संख्या ४७ वटा छन । सडक विस्तार तथा मोटरपुल निर्माणपछि प्रयोगहीन अवस्थामा २४ वटा झोलुङ्गे पुल छन ।
जिल्लामा झोलुङ्गे पुल निर्माणको लामो अनुभव संगालेको मिलन संस्थाका अनुसार एक सय मिटर छोटो एउटा झोलुङ्गे पुल निर्माण गर्न सरदर ४ सय श्रम दिन लाग्छ । कुल श्रमदिनमध्य २२ प्रतिशत दक्ष कामदार, १६ प्रतिशत अर्धदक्ष कामदार, अदक्ष कामदार ५० प्रतिशत र ढुवानी/भरिया १२ प्रतिशत लाग्छ । स्थानीय मजदुर प्रयोग गरिने भएकोले झोपु निर्माणदेखी नै प्रत्यक्ष आर्थिक लाभ लिन सक्छन ।*कान्तिपुरमा समाचार छ ।