FLASH NEWS
  • Loading...

सिंगा तातोपानीमा बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई

  • पुनहिल डट कम
  • १ साल अघि
  • १४५ पटक पढिएको
सिंगा तातोपानीमा बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई

बेनी नगरपालिकाले साेमबार बेनी नगरपालिका, ४ ताताेपानीमा आर्थिक बर्ष २०७९/०८० को पहिलो चौमासिकमा भएका विकास निर्माण र सेवाप्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाई गरेकाे छ।

जनप्रतिनिधि, कर्मचारी र ताताेपानीबजारबासीकाे उपस्थितमा नगरको विकास र सेवाप्रवाह विषयमा सार्वजनिक सुनुवाई गरिएको हो ।

सावर्जनिक सुनवाईमा सरकारी विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन, बेनी–दरवाङ सडकमा नाली सरसफाई, सडक मर्मत लगायतको काम समयमै गराउन, पर्यटन पुर्वाधार निर्माण जोड दिन, विकास निर्माणलाई प्रभावकारी रुपमा अघि बढाउन अनुगमनमा ध्यान दिन, सिपयुक्त तालिम ब्यवस्थापन गर्न, बजार क्षेत्रमा पार्किङको सुविधा विस्तार गर्न, खेलकुद पुर्वाधार निर्माण जोड गर्न, बैकिङ डिजिटल सेवालाई विस्तारमा समन्वय गर्न, नगरको सेवाप्रवाहलाई छिटोछरितो र प्रविधिमैत्री बनाउन माग राखेका थिए ।

कार्यक्रममा काँग्रेसका बेनी नगर उपसभापति हरीप्रसाद पाैडेल, माअाेवादी केन्द्रका बेनी नगरपालिका संयाेजक शेरबहादुर केसी, स्थानीय विरेन्द्रमान शाक्य, शेरबहादुर केसी, कुमार केसी, तुलप्रसाद श्रेष्ठ, दीपक बानियाँ, मना तुलाचन, हिरा कुँवर, हेमबहादुर पुन, सीता घले, गलेश बानियाँ, प्रकाश शाही समेतले विकास निर्माणका याेजना कार्यान्वयनकाे अवस्था, पारदर्शिता, विध्यालय, नदी कटान, ताताेपानी कुण्ड संरक्षणा र ब्यवस्थापन, ढल निर्माण, सडक समेत सार्वजनिक सुनुवाइ गर्दा अपनाउनु पर्ने कार्यविधी सम्बन्धमा प्रश्र र जिज्ञासा राखेका थिए ।

बेनी नगरका मेयर सुरज केसीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका विषयमा नगरप्रमुख केसी, प्रमुख प्रशासकीय अधिकृत ढाेलकराज ढकाल, ४ नम्वरका वडाध्यक्ष अर्णबहादुर खड्का, ५ का गोविन्द्र बानियाँ, ६का  कृष्णसिङ बानियाँ लगायतले वडाभित्रको विकास निर्माण सम्बन्धी जवाफ दिएका थिए ।

नगरपालिबासीले उठाएको जिज्ञासाको जवाफ दिदै मेयर केसीले संघ, प्रदेशले निर्माण गरेका अलपत्र पारेका संरचनालाई पूर्णता दिन पहल गरिरहेको उल्लेख गर्दै, करको क्षेत्र र दायरा विस्तार गरी आन्तरिक आयमा अभिवृद्धि गर्ने योजना रहेको बताए । आन्तरिक स्रोत कम हुदाँ नगरको जनताको आवश्यकता अनुसार्र विकास निर्माणमा प्रयाप्त मात्रामा बजेट विनियोजन गर्न नसकिएको केसीले भने । विकास बजेटमा संघ र प्रदेशबाट स्विकृतमा ढिलाई, चाडपर्व र निर्वाचनले सोचेजस्तो काम पहिलो चौमासिकमा हुन नसकेको मेयर केसीले दावी गरे।

बेनी नगरपालिकामा यस आर्थिक बर्षको पहिलो चौमासिकमा १ करोड ५७ लाख ८ हजार ७२१ रुपैयाँ आन्तरिक राजश्व संकलन भएको छ । यस आर्थिक वर्ष २०७९/०८० बर्षमा नगरले प्रक्षेपित रकम रु ४ करोड २३ लाख ७० हजार रहेको मध्ये पहिलो चौमासिकमा सो रकम संकलन गरेको हो ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकालले ब्यवसाय कर, जन्म, मृत्यु, विवाह, बसारसराई, सम्वन्ध विच्छेद लगायतको सेवाप्रवाहबाट राजश्व संकलन भएकाे छ । ढकालले पहिलो चौमासिकमा पुँजीगत खर्च १ करोड ७ लाख ८५ हजार खर्च (४.३२ प्रतिशत भएको छ भने चालु तर्फ ११ करोड ३२ लाख ७१ हजार रुपैया ( २३.४८ प्रतिशत) खर्च भएको जानकारी दिए । यस आर्थिक बर्षमा नगरमा कुल बजेट ७३ करोड ३१ लख ५३ हजार रुपैया रहेको छ । चालुतर्फ ४८ करोड ३७ लाख २५ हजार रुपैया र पुँजिगततर्फ २४ करोड ९४ लाख २८ हजार रुपैयाँ बजेट छ ।