- Loading...
हिमाली जिल्ला म्याग्दीका कृषकलाई धान थन्क्याउने चटारो
- पुनहिल डट कम
- २ साल अघि
- ५०९ पटक पढिएको
हिमाली जिल्ला म्याग्दीको तल्लो तटिय वस्तीका कृषकलाई खेतमा पाकेर पहँेलपुर भएको मुख्य धान थन्क्याउने तथा लेकका वस्तीमा कोदो काट्ने तथा गहुँ, जौ र उवा खेती गर्ने चटारो छ ।
बगरफांट, रत्नेचौर, सिमलचौर, पिपलबोट, मौवाफाँट, पोखरेबगर, ताराखेत, सहस्रधारा, हिल्वाङ्ग समेत सवै वस्तीका कृषकलाई धान काट्ने, माड्ने र थन्क्याउने हतारो छ । धौलागिरी हिमाल फेदीका बस्तीका कृषकहरु यति बेला धान थन्क्याउने चटारो छ ।
त्यसैविच मानव श्रमबाट मात्र धान काट्ने, माड्ने र थन्क्याउने गरिँदै आएको पहाडी क्षेत्रका ग्रामिण धानफाँटमा धान काट्ने उपकरण प्रयोग हुन थालेको छ । मंगला गाउँपालिका, ५ पिपलबोटका कृषकले जिल्लामा पहिलो पटक धान काट्न ‘धानकाट्ने मेशिन’ प्रयोग गरेका छन ।
‘मौषमको कुनै भर हुँदैन । क्षणभरमा वर्षभरीको मेहिनत माटोमा मिलाउँछ । गाउँमा धान काट्ने, चुट्ने खेतला नै पाईदैन । त्यसैले पहाडका कुना काप्चामा पनि बोकेर धानकाट्ने मेशिन ल्याएका हौं’ मंगला गाउँपालिकाका, ५ का वडाध्यक्ष भुपेन्द्र सापकोटाले भने, ‘पहाडका कान्ले धान खेत भएकोले बोकेर तल्लो माथिल्लो गह्रामा सार्नु पर्ने भएपनि मेशिन प्रयोगले आर्थिक तथा समय धेरै वचत भयो । यो पटक परिक्षण गरेका हौं, अर्को बर्ष गाउँपालिकाले नै अनुदानमा उपकरल ल्याउने योजना छ ।’
कृषी ज्ञान केन्द्रका अनुसार बगरफांट, रत्नेचौर, सिमलचौर, पिपलबोट, मौवाफाँट, पोखरेबगर, ताराखेत, सहस्रधारा, हिल्वाङ्ग जस्ता धानको पकेट क्षेत्रमा गौरिया, गुडुरा, पोखरेली जेठोबुढो, र लुम्ले बास्मती धानको खेती हुन्छ । नदी किनाराका फाँटभन्दा माथिल्लो अधिकांश खेतमा मार्सी, कालोमार्सी, झिनुवा, गुडुरा, दर्माली, तकमारे, जेठोबुढो आदी रैथाने जातका धान खेती हुन्छ ।
जिल्लाका अधिकांश माथिल्लो क्षेत्रका खेतमा भने रैथाने जातका गुडुरा र मार्सी धान बढी उत्पादन हुन्छ । दुई हजार मिटरसम्म उचाई भएका पश्चिम मुना र उत्तरको घार माथिल्लो धान फल्ने फाँट हुन । उपल्लो धौलागिरी र अन्नपूर्ण हिमाल मुनीका उपल्लो भेगका पहाडी फाँटमा भने माछापुच्छ्रे–३ र छोम्रोङ्ग धान खेती गरिन्छ ।
कृषी ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क अनुसार कुल खेतीयोग्य जमिनको ३ हजार ८ सय ९५ हेक्टर खेतमा धान खेतीबाट १० हजार ५ सय ६० मेट्रीक टन धानको उत्पादन हुन्छ । जिल्लाको पात्लेखेत, तोरीपानी जस्ता उच्च क्षेत्रबाट माछापुच्छ्रे–३ र छोम्रोङ्ग जातका ८ टन धानको विउ डोल्पा, बाग्लुङ्ग र पर्वत जिल्लामा निकासी हुने गरेको छ ।
धान खेती हुने क्षेत्रमा मात्र होईन धान खेती नहुने जिल्लाको उपल्लो भेगका लेकाली वस्तीमा भने कोदो काट्ने र गहुँ/जौ बाली लगाउने काम भैरहेको छ । लेकाली वस्तीमा असोज/कात्तिकमा छरेर भर्खर उम्रेको गहुँको विरुवामा पुस/माघमा हिउँ पर्दा मल हुने मानिन्छ ।
जिल्लाको लेकाली वस्तीमा कोदोको कपनी काटेपछि बाँकी नल काट्न पनि उपकरण प्रयोग गर्न लागेका छन । अन्नपूर्ण गाउँपालिका, ८ राम्चेका कृषकले कोदोको कपनी काटेपछि घाँस नल काट्न उपकरण प्रयोग गर्न थालेका हुन ।
कृषी ज्ञान केन्द्रको अभिलेख अनुसार जिल्लाको २ हजार ७ सय ४० क्षेत्रफलमा ३ हजार ५ सय ७४ मेट्रिक टन कोदो उत्पादन हुन्छ । त्यसैगरी ३ हजार ६ सय ५१ हेक्टर क्षेत्रफलमा गहुँखेतीबाट ८ हजार ५ सय ८२ मेट्रिक टन गहुँ, ९ सय १ मे.टन जौ र ९ सय १८ मे.टन उवाको खेती हुन्छ ।
कृषी कार्यालयका अनुसार जिल्लाका कुल धानखेती योग्य जमिनको २६ प्रतिशत क्षेत्रफलमा १२ महिना नै सिंचाई सुविधा रहेको छ । यस बर्ष अनुकुल मौषम भएकोले धान उत्पादन बढ्ने अनुमान कार्यालयको छ ।
रैथाने धान मध्य चोटपटक लाग्दा र सुत्केरीकालागी लोकप्रिय बढी उपयोगी अनदी तथा कालोमार्सी लोपउन्मुख छ । तिब्र बसाई सराईले उपल्लो क्षेत्रका धान हुने खेत बाँझो हुन थालेपछि अनदी, आँगा र कालोमार्सी धान लोपुन्मुख हुन पुगेको हो । बजारबाट गाउँसम्म ट्याक्टरले चामल दैलोमै पुर्याउन थालेपछि गाउँले अल्छी बन्दा दैलोको खेतबाहेक बाँकी खेत बाँझो छोड्न थालेपछि रैथाने धानको जात समस्यामा परेका हुन ।
‘पशुपालन घटेपछि मन नहुँदा उत्पादन घट्यो । खेतीमा लाग्ने लगानीले बजारको चामल किन्न सस्तो पर्ने भएकोले धान खेतीमा आकर्षण छैन’ घारका कृषक तुलबहादुर बरुवालले भने, ‘काम गर्ने उमेरका सवै युवा विदेश हिंडेपछि खेती गर्ने कृषक कै समस्या छ । परम्परातग गाईबस्तु पाल्ने, गोठबस्ने र खेती लगाउने प्रचलन पनि हट्यो ।’