- Loading...
ढोरपाटनमा सिकार खेल्न नेपालीलाई पनि खुल्ला
- पुनहिल डट कम
- २ साल अघि
- ४२६ पटक पढिएको
फाेटाे ः वाइल्ड लाइफ सफारिकाे पेजबाट
के सिकारको शौखिन हुनुहुन्छ ? के शिकार खेल्ने रहर छ ? तपाईको साथमा लाईसेन्स प्राप्त हतियार र गोलीगठ्ठा छन भने अव तयार हुनुहोस । मुलुकको एक मात्र सिकार खेल्ने ठाउँ ढोरपाटन शिकार आरक्षमा यस वर्षदेखी नेपालीले पनि सिकार खेल्न पाउने भएका छन ।
पर्खनुस । बँदेलको शिकार खेल्न पाईन्छ भन्दैमा फाट्टै घरको छेउको जंगलमा कालिज र रतुवा मार्न निक्ले जस्तो हतार नर्गनुस । राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यही भदौको अन्तिम साता सिकार खेल्न अनुमतिकालागी टेण्डर गर्दैछ । निर्माण क्षेत्रमा भए घटीघटाउमा टेण्डर हुन्थ्यो, बँदेल मार्न बढीबढाउमा जानु पर्छ ।
राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो सिजन (असोज–मंसिर)देखी नेपाली सिकारीलाई बँदेल सिकारमा सहभागी गराउन लागेको हो । तर नेपाली सिकारीले नाउर, झारल लगाएत अन्य वन्यजन्तुको भने सिकार गर्न पाउने छैनन । यो सिजनमा टेण्डर नपरे फागुन–चैतमा फेरी टेण्डर खुल्छ । आरक्षले मनलाग्दी सिकार गराउन पाउने छैन । एक सिजनमा ११–११ वटा मात्र बँदेल मार्न अनुमति दिने छ ।
यस ढोरपाटन सिकार आरक्षमा २०४४ सालदेखी विदेशी सिकारीले मात्र नाउर (निलभेडा) र झारल (हिमाली थार) बाहेक पुरक सिकारको रुपमा एक–एक वटा बँदेल र रतुवा तथा १० वटासम्म चराको नि:शुल्क सिकार गर्दै आएका थिए । आरक्ष भित्र पर्ने र सीमावर्ती वस्तीका बासिन्दाले बँदेलले बालीनालीमा ठूलो क्षति पुर्याउने र खेतवारीमा काम गर्न गएका कृषकलाई समेत आक्रमण गर्ने गरेको गुनासो सम्बोधन गर्ने, आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने तथा राजश्वसमेत वृद्धी गर्ने उद्देश्यले नेपाली सिकारीलाई पनि सिकार खुल्ला गरेको ढोरपाटन सिकार आरक्षको कार्यालयले जनाएको छ ।
फाेटाे ः घनश्याम खड्का
‘आन्तरिक पर्यटक बढाउन, राजश्व वृद्धी गर्न र मध्यवर्ती क्षेत्रका कृषकको कृषीवाली संरक्षण गर्न आउने सिजनदेखी नेपाली सिकारीलाई पनि बँदेलको सिकारमा सहभागी गराउने निर्णय भएको छ । एक–दुई दिनमा सिकार खेल्न टेण्डर खुल्दैछ’ ढोरपाटन सिकार आरक्षको कार्यालयका प्रमुख संरक्षण अधिकृत विरेन्द्रप्रसाद कंडेलले भने, ‘यस अघि पनि राजश्व तिरेर अनुमति प्राप्त विदेशी सिकारीले तोकिएका वन्यजन्तु बाहेक सप्लीमेन्टीको रुपमा एक बँदेल, एक रतुवा र १० वटा चरा मार्न पाउँथे । कसैले सप्लिमेन्ट सिकार गर्थे, कसैले गर्दैनथे । बँदेलको संख्या बढी देखिएकोले नेपाली सिकारीलाई पनि सहभागी गराउन लागेका हौं ।’
प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार बँदेल पाईने संख्याको आधारमा उच्च घनत्व, मध्य घनत्व र न्यून घनत्वको आधारमा छुट्टै बँदेल सिकार ब्लक बनाईउको छ । ढोरपाटन उपत्यका र म्याग्दीको गुर्जा क्षेत्र बँदेलको उच्च घनत्व क्षेत्रमा पर्छन ।
धौलागिरी हिमश्रृखला भित्र रुकुम, म्याग्दी र बाग्लुङ तीन जिल्लामा १ हजार तीन सय २५ बर्ग किमी क्षेत्रफलमा फैलिएको क्षेत्रलाई विसं २०४० सालमा स्थापना भएको ढोरपाटन सिकार आरक्षको एक तिहाई भाग हिमाली चरन क्षेत्र/खर्कले ओगटेको छ । एक तिहाई बन तथा पहाडले र बाँकी क्षेत्र मध्यवर्ती क्षेत्र हो ।
मुलुकको एक मात्र वैधानिक सिकार क्षेत्र ढोरपाटनमा नाउर, झारल सिकार खेल्न विश्वभरका नामुद सिकारी ढोरपाटनमा ओईरिने गर्छन् । ढोरपाटन शिकार आरक्षको मुख्य आकर्षण नाउर अर्थात नीलभेडा (द्यगिभ कजभभउ) हो । राष्ट्रिय निकञ्ज तथा वन्यजन्तु संरक्षण विभागले भदौ चौंथो हप्ता ढोरपाटन सिकार आरक्षमा सिकार खेल्न इच्छुक सिकारीलाई टेण्डर गराउने गर्छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमति लिएरु सेङ, घुस्तुङ, दोगाडी, बार्से, फागुने, सुनदह र सूर्तिवाङ्ग ब्लकमा नाउर, झारल र बँदेलको सिकार खेल्न पाईन्छ । तर सिकारीलाई एकै स्थानमा सिकार गर्न भने निषेध छ ।
हतियार वा पासोको सहायताद्धारा जनावर वा पंछिको प्राकृतिक वासस्थानको सेरोफेरोमा मार्ने प्रकृया लाई सिकार खेल्ने र जंगली जनावरको माशुलाई सिकार भनिन्छ । सभ्यताको प्रारम्भकालमा मान्छेले भोक मेट्न शुरु गरेको जंगली जनावरको सिकार गर्ने संस्कृति आजको आधुनिक विश्वमा महंगो सोखको माध्यम बनेको छ । सिकार खेल्नु निक्कै संघर्षपूर्ण र जोखिमपूर्ण छ तर सिकारीकालागी उत्तिकै आनन्ददायी सौख पनि । सिकार खेल्नु आर्थिक रुपमा महंगो समेत छ, कहलिएका विदेशी सिकारी मात्र हेलिकोप्टर चार्टर गरी ढोरपाटनमा सिकार खेल्न आउँछन ।
फाेटाे ः घनश्याम खड्का
ढाेरपाटन क्षेत्रमा ३२ थरीका स्तनधारी वन्यजन्तु र एक सय ३० प्रजातिका चराचुरुङ्गी पाईन्छन । ८ सय ५२ नाउर, दुई सय झारल रहेको ढोरपाटन सिकार आरक्षले जनाएको छ । ढोरपाटनमा हिउँ चितुवा, चित्तल, थारल, घोरल, भालु, बँदेल, हिमाली कालो भालु, झुक्ने मृग, रातो पाण्डा लगाएतका लोपुन्मुख बन्यजन्तुको भने सिकार गर्न निषेध छ ।
ढोरपाटन पुग्न बाग्लुङ्ग सदरमुकामबाट बुर्तिवाङ्गसम्म गाडीमा पुग्न सकिन्छ । बुर्तिबाङ्गबाट एक दिनको उकालो उक्लेपछि सुन्दर ढोरपाटन बुकी पुग्न सकिन्छ । सिकार आरक्षले नजिकै क्याम्पिङ्ग ग्राउण्डको समेत ब्यवस्था गरेको छ ।
ढोरपाटन सिकार आरक्षमा असोज–कात्तिक र चैत–बैशाख गरी दुई सिजनमा सिकार गर्न सकिन्छ । राष्ट्रिय निकुञ्जबाट सिकार अनुमति लिएका सिकारीले ढोरपाटन स्थित सिकार आरक्षको कार्यालयबाट जंगल प्रवेश अनुमति र तोकिएका सम्पर्क अधिकारीका साथमा मात्र सिकार गन्तब्यमा जान पाउँछन । अनुमति प्राप्त सिकारीले राती सिकार खेल्न, बच्चा र पोथी प्रजातीका वन्यजन्तुको सिकार गर्न पनि निषेध छ । राष्ट्रिय निकुञ्ज तथा बन्य जन्तु संरक्षण नियमावली २०३० को दपाm ७ को (क), (ख) र (ग)मा उल्लेख भए अनुसारका हतियार खजनाको मात्र प्रयोग गर्न पाईन्छ । *दि काठमाण्डु पाेष्टमा प्रकाशित छ ।