- Loading...
पढाइ रोकेर विद्यालयमा मेलाजात्रा
- पुनहिल डट कम
- २ साल अघि
- ३९० पटक पढिएको
अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा साउने संक्रान्ति ढोठामेला लगाउन स्थानीय देउराली आधारभूत विद्यालयको पठनपाठन ९ दिनसम्म बन्द गरिएको थियो । त्यसैगरी सोही गाउँपालिका–५ शिखमा जनैपूर्णिमाको अवसरमा आयोजित ‘जनैपूर्णिमा मेला’ सञ्चालन गर्न शिख माध्यमिक विद्यालय ७ दिनसम्म बन्द गरियो । स्थानीय युवा क्लबको आयोजनामा विद्यालय परिसरमा संञ्चालित मेलाको कारण विद्यालयको त्रैमासिक परिक्षा स्थगित गर्नु परेको थियो ।
‘विद्यालयको कक्षा कोठामा भट्टीपसल राखेर जाँडरक्सी व्यापार कहिलेसम्म गर्ने ? मेलाजात्राको समय घटाऔं । मेला गर्ने नै भए पनि विद्यालय बाहिर स्थान खोजौं,’ मेलाजात्रा भर्न गएका विद्यार्थी कक्षाकोठामा नफर्केपछि आजित टकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रदीप पुनले फेसबुकमा स्टाटस नै लेखे, ‘गापाको शैक्षिक क्यालेन्डर अनुसार त्रैमासिक परीक्षासमेत प्रभावित हुने गरी विद्यालयमा मेला लाग्दा शिक्षक/विद्यार्थीको पीडा, मेलाजात्रा लाग्ने स्थानको विकल्प खोजौं । मदिरा व्यापारीले मेलाजात्रा लम्ब्याउन प्रेरित गर्ने गरेका छन् । अब मेलाजात्राको शैलीमा परिवर्तन आवश्यक छ ।’
साउन महिनामा दुईवटा लामो मेला सकिएपछि अहिले हरितालिका तीज पर्व सँघारमा छ । अन्नपूर्ण गाउँपालिका–६ घारमा भुवानी आधारभूत विद्यालयको पठनपाठन बन्द गरी शुक्रबारदेखि वडा तहस्तरीय तीज मेला सुरु भएको छ । ‘पालिकाका बस्तीपिच्छे लाग्ने मेलाजात्राको परम्परालाई व्यवस्थित गर्ने प्रयासमा छौं । वर्षमा एक वडामा एउटा मात्र मेला लगाउन पाउने नियम राखेका छौं,’ अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुनले भने, ‘मेला स्वीकृत गर्दा ५ दिनभन्दा बढी लगाउन नपाउने । प्रतिदिन १५ हजार जरिवाना तिरेर २ दिन थप्न सकिने तर ९ दिन बढी मेला लागेका आयोजक संस्थाको दर्ता खारेज गरी उप्रान्त मेला लगाउन नपाउने गरी कालोसूचीमा राख्नेसम्मका नियम बनाएका छौं ।’ अध्यक्ष पुनले भने, ‘विद्यालयको पठनपाठन बन्द गरी मेलाजात्रा लागेको जानकारीमा छ । हामीले विस्तारै छुट्टै खेल मैदान नभएका समुदायमा खेल मैदान निर्माण गर्न बजेट विनियोजन गर्न बजेट व्यवस्था गरेका पनि छौं ।’
धार्मिक, सांस्कृतिक तथा खेल क्षेत्रलाई प्रोत्साहन गर्ने भन्दै आयोजना गरिने मेला/जात्रा बालविवाहको अखडा, मदिरामय र लम्मेतान हुँदा गाउँको सुरक्षा, अर्थतन्त्र र शैक्षिक वातावरण खलबलिएको भन्दै तीन वर्षअघि जिल्ला प्रशासन कार्यालयले मेला तथा महोत्सवसम्बन्धी २२ बुँदे मापदण्ड निर्माण गरी स्थानीय पालिका, प्रहरी, राजनीतिक दल, व्यवसायीसमेत सर्वपक्षीय भेलाबाट अनुमोदन गरेको थियो ।
‘मेलाजात्रा नियमन गर्ने र व्यवस्थित गर्ने प्रयास भइरहेको छ । मापदण्ड पूर्ण कार्यान्वयनमा लैजान सबै क्षेत्रको दायित्व हुने भएकाले स्थानीय सरकारसँग सहकार्य गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी रानाले भने, ‘मेला लगाउनुपूर्व आयोजक कानुनी प्रक्रिया अनुसार दर्ता, नवीकरण भएको, मेला लगाउनुपूर्व स्वीकृति लिने क्रम बढेको छ । सुरक्षा व्यवस्थापनसमेत अन्य बुँदामा पनि कडाइ गरेका छौं ।’ *कान्तिपुरमा समाचार छ ।