FLASH NEWS
  • Loading...

बेनी अस्पतालमा स्वास्थ्यकर्मी नहुँदा डायलाईसिस सेवा प्रभावित

  • पुनहिल डट कम
  • १ साल अघि
  • २०८ पटक पढिएको
बेनी अस्पतालमा स्वास्थ्यकर्मी नहुँदा डायलाईसिस सेवा प्रभावित

बेनी अस्पतालमा दरवन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा मृगौला फेल भै नियमित डायलाइसिस गराउनु पर्ने विरामीले समयमै सेवा पाउन सकेका छैनन ।
बेनी अस्पतालमा हाल म्याग्दी, पर्वत र बाग्लुङकागरी २० जना विरामीले नियमित डायलाइसिस गराई रहेका छन । तर स्वास्थ्यकर्मी नहुँदा थप ११ जना विरामी पालो पर्खेर बसीरहेका छन । सरकारी अस्पतालमा नि:शुल्क हुने डायलाईसीस सेवा पालो पर्खेका विरामीले पोखरा, काठमाण्डौका निजी अस्पतालमा प्रत्यक पटक ७ देखी १२ हजार शुल्य तिर्न बाध्य छन ।
गण्डकी प्रदेशका तत्कालिन श्वास्थयमन्त्री नरदेवी पुनकाे पहलमा ०७७ साउन १८ गतेबाट बेनी अस्पतालले हेमोडायलाइसीस युनिट स्थापना गरी डायलाईसीस सेवा सुरु गरेको थियो । अस्पतालमा डायलाईसीस गराउने मेशिन र वेड क्षमता भएपनि खट्ने स्वास्थ्यकर्मी नभएकोले विरामीलाई होल्ड गरी राख्नु परेको जनाएको छ ।
‘पहिला आउनेको पहिला डायलाईसिस गराईने भएकोले नाम लेखाई पालो पर्खर्नु पर्छ । डायलाईसीस गर्न विरामीलाई मेसिनमा जोडेपछि अविछिन्न स्वास्थ्यकर्मीको निगरानी चाहिन्छ । तीन जना मात्र स्वास्थ्यकर्मी भएकोले दैनिक १०–१२ घन्टा खट्नु पर्ने हुन्छ’ बेनी अस्पताल हेमोडायलाइसीस युनिटकी सिनियर अनमी सुमित्रा पुनले भनिन, ‘थप तीन जना तालिम प्राप्त स्वास्थ्यकर्मी भए पालो पर्खेका सवै ११ जनाको पनि नियमित डायलाईसीस गर्न सकिन्थ्यो ।’
‘८ जना कन्सल्टेन्ट डाक्टरसमेत ५९ जनाको दरवन्दी भएको अस्पतालमा जम्मा १९ जना कार्यरत हुँदा के के सेवा प्रभावकारी बनाउन सकिन्छ ? डाक्टर छोड्नुस ५ जना हेअमा पाँचै जना रिक्त, ६ जना नर्समध्य २ र ५ जना मध्य १ जना मात्र अनमीलाई कत कत काममा लगाउनु ?’ बेनी अस्पतालका प्रमुख डा. जीतेन्द्र कंडेलले भने, ‘छात्रावृत्तिमा आएका, अस्पताल ब्यवस्थापन समितिबाट ब्यवस्थापन भएको थप केही स्वास्थ्यकर्मीको भरमा सकेसम्म सवै सेवा प्रदान गरेका छौं । कतैबाट स्वास्थ्यकर्मी थप भए डायलाईसीस सेवालाई फुल फेजमा चलाउने योजना छ ।’
जिल्लामै डायलाइसिस सेवा सुरु म्याग्दीका बाहेक पर्वत र मुस्ताङका विरामीलाई धेरै आर्थिक राहत पुग्ने भएको छ । मिर्गौला पीडितको जटिलता हेरेर हप्तामा एकदेखी चारपटकसम्म डायलाइसिस गर्नु पर्ने हुन्छ । अव विहान घरबाट हिंडेर बेनी आई डायलाइसिसगरी साँझ घर फर्कन संभव भएको छ ।
दुर्गमका विरामी पोखरा/काठमाण्डौमा अर्काको घर र भरमा छोडेर डायलाईसीस गर्नु पथ्र्यो अहिले बेनीमै भएपछि घरबाटै आउजाउ गर्न सजिलो भएको छ । डायलाईसीस नि:शुल्क भएपनि विरामीको पोखरा पुगी डायलाइसिस गरी फर्कदा प्रत्यक हप्तामा कम्तीमा १० देखी १५ हजारसम्म खर्च हुन्थ्यो ।
‘हप्ताको २ पटक सहयोगी सहित पोखरा पुगेर डायलाईसीस गराउन सजिलो थिएन । उतै आफन्तको घरमा वा डेरा खोजेर बस्नु पथ्र्यो । अहिले बेनीमै डायलाईसीस सेवा सुरु भएपछि परिवारसँगै बसेर घरबाट आउजाउ गर्न सकेको छु’ मंगाला गाउँपालिका, २ बरंजाकी संगीता छन्त्यालले भनिन, ‘उसैत रोगले ग्रसीत । पहिला काठमाण्डौमा बसें, पछि पोखरा आएर एक वर्ष उपचार गराएँ, वल्न पालो आएपछि बेनीमा आएको छु ।’
डाक्टरका अनुसार दुवै मृगौला फेल भएपछिपनि चौंथो तहसम्म नियमित औषधीले सेवन गरी मृगौलाले काम गर्छ । पाचौं तहमा पुगेपछि भने मृगौला फेर्ने वा नियमित डायलाईसीस गर्ने मात्र हो ।
त्यसै, डायलाइसीस सेवमा जनशक्तिको अभाव मात्र होईन, नियमित विधुत आपुर्तिमा पनि समस्या हुने गरेको छ । कहिले काहीं अकस्मात विधुत जाने र समयमै जेनेरेटर समेत चलाउन नसक्ने अवस्थामा डायलाईसीस गरिरहेको विरामीको स्वास्थ्य जोखिममा पर्छ । शरिरबाट झिकेको रगत मेशिनले सफा गर्नु पर्नेमा सिस्टम बन्द हुँदा रगत बाहिरै जम्ने हुँदा त्यस्तै शरिरमा पठाउनु पर्ने हुन्छ । थोरै त्रुटीले विरामीको ज्यान जान सक्छ ।
डायलाइसिस सेवामा विधुत नियमित गर्न ६२ केभिए र २० केभिए क्षमताका दुई वटा ब्याकअप राखिएको भएपनि त्यो ब्याकअप पानी प्युरीफाई गर्न मै खपत हुने गरेको छ । विधुत आपुर्ती बन्द हुँदा छुट्टै जेनेरेटर भएपनि त्यो अस्पतालभरीकालागी जोडिएको छ ।
‘डायलाईसीस भैरहेको वेला विधुत आपुर्ति बन्द हुँदा जेनेरेटर चलाउने मान्छे खोज्नै हैरान हुन्छ । डायलाईसीस भनेको विरामीको शरिरबाट रगत झिकेर हेमोडायलाइसीस मेशिनमा पठाई पानीले सफागरी पुन: विरामीको शरीरमा पठाउने हो । त्यो सवै विधुतले गर्ने हो, विचमा विधुत आपुर्ती रोकिएपछि के हुन्छ ? विरामीको ज्यान खतरामा पर्छ’ डायलाइसिस गराइरहेकी सुमित्रा पुनले भनिन, ‘हेमोडायलाइसीस युनिटलाई छुट्टै ब्याकअप भए हुन्थ्यो । उसैले मृगौला फेल भएका विरामी त्यसमाथी पनि डायलाइसीस गराउँदा पनि सास्ती हुने गरेको छ ।’
बेनी अस्पताललाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले ४ वटा र अष्ट्रेलियामा बस्ने जिल्लाबासीको पहलमा २ वटा समेत ६ वटा हेमोडायलाइसिस मेसिनबाट सेवा सुरु गरिएको हो । विरामीको चाप अनुसार विहान, दिउँसो र साँझ गरी तीन सिफ्टमा दैनिक १२ जनालाई सेवा पुर्‍याउन सकिन्छ ।