- Loading...
बालबालिकामा सिटामोल दिँदा पनि ‘ज्वरो नघट्ने’ एडिनोभाइरस सङ्क्रमण बढ्दै
- पुनहिल डट कम
- २ साल अघि
- ३७६ पटक पढिएको

विद्यालय जाने धेरै बालबालिकामा रुघाखोकी र ज्वरोजस्ता लक्षण देखिएपछि परीक्षण गर्दा एडिनोभाइरस सङ्क्रमण फैलिएको देखिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
उपत्यकास्थित कान्ति बाल अस्पताल गएका केही बिरामी बालबालिकाबाट सङ्कलित नमुनामध्ये अधिकांशमा उक्त भाइरस पुष्टि भएको अस्पतालले जनाएको छ।
अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार उक्त स्वास्थ्य संस्थाबाट सङ्कलन गरी पठाइएका १३ मध्ये १२ बटा नमुनामा एडिनोभाइरस पुष्टि भएको छ।
बालरोग विशेषज्ञले बालबालिकामा लाग्ने उक्त रोगबाट जोगिन “कोरोनाभाइरसबाट बच्न अपनाएका जस्तै” सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन्।
“ज्वरोका बिरामी बढेका थिए तर सिटामोल खुवाउँदा पनि ज्वरो कम भएको थिएन। बिरामी बढेकाबढ्यै थिए। त्यसैले हामीले उक्त कुरा इपिडिमियोलोजी महाशाखालाई भन्यौँ।”
“उहाँहरूले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाउन भन्नुभयो। हामीले १३ वटा नमुना पठाएका थियौँ। मङ्गलबार साँझ १३ मध्ये १२ वटामा एडिनोभाइरस पाइएको रिपोर्ट आयो।”
के हो एडिनोभाइरस?
विज्ञहरूका अनुसार एडिनोभाइरस एउटा सङ्क्रामक विषाणु हो। त्यसले रुघाजस्तो समस्या उत्पन्न गरारउँछ। यो जुनसुकै उमेर समूहका बालबालिकामा लाग्न सक्ने उनीहरूको भनाइ छ। तर प्राय: शिशु र कम उमेरका बालबालिकालाई यसले सताउँछ।
कतिपय शोधहरूले १० वर्षमुनि प्रत्येक बालबालिकालाई कम्तीमा एक पटक यो भाइरसको सङ्क्रमण भएको हुन सक्ने देखाएका छन्। एडिनोभाइरसका विभिन्न प्रकार छन्।
त्यसैले एक पटक सङ्क्रमण हुँदा विकसित प्रतिरोध क्षमताले अर्को खालको एडिनोभाइरसले सङ्क्रमण गर्दा काम नगर्न सक्ने बताइन्छ। नेपाल पेडियाट्रिक सोसाइटीका अध्यक्ष तथा बालरोग विशेषज्ञ डा. गणेश राईका अनुसार यो “धेरै कडा” भाइरस होइन।
तर प्रतिरोध कमजोर भएका बालबालिकालाई यसको असरले निमोनिया, मुटुको समस्यालगायतका अन्य जोखिम निम्त्याउन सक्छ।
कस्ता लक्षण देखिन्छन्?
डा. राईका भनाइमा एडिनोभाइरस लागेपछि रुघाखोकी लाग्ने र ज्वरो आउने हुन्छ।
“यसका अधिकांश लक्षणहरू कोरोनाभाइरससँग मिल्दाजुल्दा छन्। तर यसमा अरूभन्दा फरक लक्षण भनेको बालबालिकाको आँखा पाक्ने हो,” उनले भने।
यस्तो सङ्क्रमण भएमा ज्वरो आएको तीनदेखि पाँच-छ दिनमा ज्वरो निको हुन्छ। त्यस्तै रुघाखोकी आठदेखि १० दिनमा र आँखा पाक्ने १० दिनजतिमा निको हुन्छ।
“यो रुघाखोकीभन्दा कडा तर इन्फ्लूएन्जाभन्दा कमजोर खालको भाइरस हो,” उनले भने। तर कतिपयमा निमोनिया हुने र नाक तथा कान पाक्ने पनि हुने गर्छ।
भाइरस सरेको दुई-तीन दिनदेखि एक सातासम्मका लक्षणहरू देखिन थाल्ने चिकित्सकहरूको भनाइ छ।
चिकित्सकहरूका भनाइमा “कोभिडबाट जोगिन” अवलम्बन गरिएका जस्तै सुरक्षात्मक उपायले एडिनोभाइरसको सङ्क्रमण हुनबाट जोगाउन सक्छ। * विविसी नेपाली अनलाइनमा समाचार प्रकाशित छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
