FLASH NEWS
  • Loading...

बाग्लुङ कांग्रेसकाे कार्यालय बनाउन नगरपालिकाकाे २५ लाख बजेट

  • पुनहिल डट कम
  • १ साल अघि
  • २८५ पटक पढिएको
बाग्लुङ कांग्रेसकाे कार्यालय बनाउन नगरपालिकाकाे २५ लाख बजेट

बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा नेपाली कांग्रेसको पार्टी कार्यालय बनाउनका लागि रु २५ लाख बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले सार्वजनिक गरेको रातो किताबमा बिपि स्मृति भवन निर्माण बागलुङ नगरपालिका–३ का लागि रु २० लाख र बिपि स्मृति भवन निर्माण बागलुङ नगरपालिका–८ सिगानाका लागि रु पाँच लाख बिनियोजन गरेको छ । रातो किताबमा दुबै स्थानमा बिपि स्मृति भवन भनेर योजना समावेश गरेपनि दुबै भवन नेपाली कांग्रेशको पार्टी कार्यालय हुन् ।

नेपाली कांग्रेसले पार्टी कार्यालय बनाउनका लागि भन्दै बागलुङ नगरपालिका–३ नारायणचोकमा जग्गा समेत खरिद गरिसकेको छ । सहयोग संकलन अभियानमा समेत विपि स्मृति भनिएको छैन । तर सोही जग्गामा भवन बनाउनका लागि बागलुङ नगरपालिकाले रु २० लाख बजेट व्यवस्थापन गरेको छ । सिगानामा नेपाली कांग्रेसको पार्टी कार्यालय निर्माण भनेर सहयोग संकलन अभियान चलायर भवन निर्माण गरिरहेको छ । उक्त तीन तले भवन अहिले निर्माणको अन्तिम चरणमा पुगेको छ ।

नगरपालिकाले पार्टी कार्यालय बनाउन भनेर खरिद गरेको जग्गामा खर्च शिर्षक परिवर्तन गरेर विपि स्मृति भवन नामाकरण गरेर बजेट विनियोजन गरेको पाइएको छ । नगरपालिकाको नगरस्तरीय पूर्वाधार निर्माण शिर्षकमा नगरस्तरीय योजनाको २८ नम्बर बुदाँमा नेपाल सरकारको नगद अनुदानको रकमले विपि स्मृति भवन निर्माण बानपा–३ भनेर रु। २० लाख बजेट विनियोजन गरेको छ । यस्तै नगरस्तरीय योजना अन्र्तगत नै योजना नम्बर ४५ मा विपि स्मृति भवन रङ्गरोगन भनेर रु। पाँच लाख बजेट विनियोजन गरेको छ ।

जनताको करबाट निर्माण भएको बागलुङ नगरपालिकाको बजेटले कुनै पार्टीको भवन बनाउने कार्य सान्र्दभिक नभएको भन्दै नेकपा एमाले बागलुङ नगर कमिटि अध्यक्ष धन बहादुर परियार सहितको समूहले नगरप्रमुखलाई ध्यानाकर्षण समेत गराएका छन् । नगरपालिकाको बजेटले पार्टी कार्यालय बनाउने कार्य गलत भएको नगर अध्यक्ष परियारले बताए ।

“उहाँहरुले भन्दा पहिला नेकपा एमालेले पार्टी कार्यालय बनाउन जग्गा व्यवस्थापन गरेको हो, खै हाम्रो पार्टीबाट निर्वाचित नगरप्रमुखले पाँच वर्षमा एमालेको पार्टी कार्यालय बनाउन कुनै बजेट विनियोजन गर्नु भएन, अहिलेका नगरप्रमुखले पहिलो नगरसभाबाटै पार्टी कार्यालय बनाउन बजेट व्यवस्थापन गर्नु भएछ” परियारले भने “विपि स्मृति भवन बनाउन छुट्टै जग्गा व्यवस्थापन गरेको भए मिल्थ्यो, पार्टी कार्यालय बनाउन भन्दै खरिद गरेको जग्गामा पार्टी कार्यालय बन्छ वा विपि स्मृति भवन बन्छ हेर्न बाँकी नै छ ।”

नगरप्रमुख बसन्त कुमार श्रेष्ठले विपिको सम्मान र स्मृतिमा भवन बनाउने कुरामा बजेट व्यवस्थापन गरेको बताए । “विपिको सम्मानमा बनाउने भवनमा बजेट परेको हो, विपि मात्रै हैन बागलुङ नगरपालिकाले पूर्व नगर प्रमुखको सम्झनामा प्रवेशद्वानै बनाएको छ, विभिन्न व्यक्तिका नाममा पार्क र प्रवेशद्वारा बनेकै छन्”श्रेष्ठले सुनाए ।